म्याग्दीको सदरमुकाम बेनीस्थित कालिपुलमा सञ्चालित सूचना केन्द्रलाई हकङकङमा रहेका एक म्याग्देलीले २५ हजार सहयोग गरेका छन् । बेनी नगरपालिका १ अर्जम स्थायी घर भई हाल हङकङमा रहेका इन्द्र एलजी थापामगरले सुचना केन्द्रलाई सहयोग गरेका हुन् । मोना हङकङका निर्वतमान अध्यक्ष समेत रहेका थापामगरको सहयोग कमलकुमारी थापाले पर्यटन सुचना केन्द्रका संयोजक एवम् म्याग्दी उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गरेकी थिईन् ।

जिल्लामा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकलाई जिल्लाका चर्चित तथा ओझेलमा परेका धार्मिक तथा पर्यटकीयस्थल, उत्पादन सहित जिल्लाका महत्वपूर्ण जानकारी सहित पर्यटकीय रुट सहित छिमेकी जिल्ला मुस्ताङ जाने धार्मिक पर्यटकलाई समेत लक्षित गरीे स्थापना गरिएको केन्द्रमा आवश्यक पर्ने साम्रागी ब्यवस्थापनमा सहयोग पुग्ने संयोजक शाक्यले बताए । उनका अनुसार केन्द्रमा प्रवासमा रहेका म्याग्देलीको सहयोग प्राप्त भएको बताए ।

बेनी नगरपालिका, नेपाल पर्यटन बोर्ड र म्याग्दी उद्योग वाणिज्य संघद्धारा सञ्चालित केन्द्रले जिल्लामा प्रवेश गर्ने पर्यटकलाई सूचना आदानप्रदानमा सहज पुगेको छ । सुचना केन्द्र म्याग्दीको पर्यटनको क्षेत्रमा कोशेढुंगा सावित हुने विश्वासले आफुँले ब्यक्तिगत रुपमै सहयोग गरेको सहयोगदाता इन्द्र एलजी मगरले बताए । उनका अनुसार म्याग्दी भ्रमण वर्ष २०७५ लाई भब्य रुपमा सफल बनाउन हङकङमा समेत प्रचारप्रसार गरिएको बताए ।