मंगला गाउँपालिका–२ हिदीको छपालीमा सिचाई सुबिधाका लागि पानी संकलन गर्ने पोखरी निर्माण गरिएको छ । हिउँदो समयमा पानी नपरेपछि समस्या भोग्दै आएका स्थानीयले खेतीपातीका साथै गाईबस्तुलाई समेत प्रयोग गर्ने गरी गाउँपालिकाको आर्थिक र स्थानीयको जनश्रमदानमा पोखरी बनाइएको पोखरी पुननिर्माण उपभोक्ता समितिका अध्यक्ष राजकुमार पाण्डेले बताए ।

‘पोखरी बनेपछि खेतीपातीमा सहज भएको छ,‘पुराना मुहान सुक्दा समस्या भोग्दै आएका थियौ’ पाण्डेले भने । उनले गाउँको समस्यालाई वडा कार्यालय मार्फत गाउँपालिकाले समाधान गरेको बताए ।हिउँदको समयमा गाउँ आसपासमा रहेका पानीका मुहान सुक्ने भएकाले पनि पोखरीको आवश्यकता रहेको बताए । लम्बाई २४ र चौडाई १२ र गहिराई १.५ मिटर रहेको पोखरीलाई गाउँपालिकाले ४ लाख ५० हजार, स्थानीयले २ लाख ५० हजार बराबरको श्रमदान गरेको वडा सदस्य चक्रलाल पाण्डे ‘राजु‘ ले बताए ।

उनका अनुसार सानो आकारको पोखरीलाई संरक्षण गदै ब्यवस्थित बनाइएको बताउँदै वडा कार्यालय भित्र रहेका पुराना पोखरीको संरक्षण गरिने बताए । ‘सडक विस्तारकै क्रममा विस्थापित भर्एका पोखरीको संरक्षणमा ध्यान दिएका छौ,‘स्थानीयको जनश्रमनाले समेत थोरै लगानीमा धेरै काम गर्न सकिएको छ’ पाण्डेले भने ।

गाउँपालिकाकै विकट मानिने हिँदीमा बर्षातको समयमा पोखरीभन्दा माथिबाट झर्ने पानीलाई पोखरीमा जम्मा गर्ने गरिएको छ । पोखरीबाट २८ घरधुरीले लगाएको धान, तरकारी बालीमा सिचाई सुबिधा पुगेको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बेनीअनलाइनलाई बताए । ‘पानीको स्रोत कम भएकाले पोखरीमा संकलन गरेर आवश्यकता परेको समयमा सिचाई गरिनेछ,‘पशुचौपायाँ बस्ने मिल्ने गरी बनाइएको छ’ रोकाले भने । हिँदी आलु र मुला खेतीमा समेत प्रसिद्ध भएकाले प्रयाप्त सिचाईको सुविधाले स्थानीयलाई सहज हुने अध्यक्ष रोकाको भनाई छ ।

उनले गाउँपालिका भित्र भिलारो जग्गामा भलका रुपमा बग्ने र माटो कटान गर्ने पानीलाई पोखरीमा जम्मा गरी रिचार्ज पोखरी निर्माणमा समेत प्राथमिकता दिएको बताए । गाउँपालिका भित्र रहेका पुराना पोखरी ग्रामिण सडक विस्तार, पहिरोले पुरिएका छन् । जलवायु परिवर्तनको असरका कारण पानीको मुहना सुक्दै जान थालेपछि स्थानीयले समेत संरक्षणमा चासो देखाएका छन् ।

विज्ञापन