म्याग्दीको गाउँघरमा पाइने एउटा बोकाको मूल्य कति पर्ला? तपाईको अनुमान भन्दा धेरै मूल्यको बोका बेनी नगरपालिका–३ भकिम्लीका धन श्रीषको फर्ममा छ । बाख्रापालनमा जिल्लाकै नमुना कृषकको रुपमा आफ्नो परिचय स्थापित गरेका श्रीषले साढे २ लाख मुल्य पर्ने एउटा बोकालाई हुकाई रहेका छन् । बैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा पुगेका फर्किएका श्रीषले दक्षिण अफ्रिकाबाट खरिद गरी ल्याएको बोकाको तौल करिव १ सय केजीको रहेको बताए ।

‘बोकालाई बिक्रीमा राखेको छु‘हेर्न आउनेको पनि भीड लाग्छ’ श्रीषले बेनीअनलाइनलाई भने। जिल्लामै बोयरको केन्द्र बनाउन लोकल बाखा्रलाई विस्थापित गरेका श्रीषको फर्म हाउसमा बोयर बाख्राको मुल्य ५० हजारभन्दा धेरै पर्छ । ‘डेढ लाख मूल्यका धेरै बोका विक्री गरे,‘प्योर बोयर बोकाको बजार समस्या छैन’ उनले भने ।जिल्लाका साथै देशका विभिन्न जिल्लाबाट फर्ममै खरिद गर्न आउने खदिरकर्ताले बैना लगाउने गरेको बताए ।

एउटै बोकाको मूल्य यति धेरै भन्दै फर्किनेहरुलाई बोयरको जातका बोका बाख्राका बारेमा जानकारी गराउने गरेको श्रीषको भनाई छ । फर्ममा रहेका ५० वटा बोयर जातका बाख्रा मध्ये अफ्रिका र अष्ट्रेलियाबाट खरिद गरेर ल्याएका ५ वटा बाख्रा र बोका समेत छन् । आफ्नै खेतबारीमा उन्नतजातका घाँस लगाएका श्रीषले दुईबर्षमा बार्षिक २० लाख आम्दानी गर्ने योजना बनाएका छन् । ब्यवस्थित खोरमा पालिएका बोका बाख्रालाई अवलोकन गर्न जिल्ला भित्रका साथै बाहिरी जिल्लाबाट पशुसेवा कार्यालयकै सिफारिसमा आउने गरेका छन् ।

गतबर्ष ९ लाख आम्दानी गरेका श्रीषले यसबर्ष १४ लाख कमाउने योजना बनाएका छन् । ‘धेरै बर्ष विदेशमा बेकार खर्च गरियो,‘गाउँमा फर्किएर लोकल बाख्राबाट ब्यवसाय सुरु गरेपछि कमाई राम्रो हुन थाल्यो’ उनले भने । स्थानीय जातका बाख्रालाई दिने समय र दानापानीले बोयरलाई पुग्ने भएपछि बोयर बाख्रा र बोका मात्रै पाल्न थालेको बताए । उनका अनुसार प्योर बोयर १५० देखी ३ सय ग्रामसम्म बढ्ने भएकाले पनि बोयरमै लगानी गरेका छन् ।