सस्तिमा विक उमेरले ७० बर्ष पुगिन् ।उनीसंग आफ्नो परिचयन दिने नेपाली नागरिकता छैन् ।घर छेउमा आफ्नै उमेरका छिमेकीले सामाजिक सुरक्षा भत्ता खनखन्ती नगद गन्दा विकले नागरिकता नहुदाँ भत्ताबाटै बन्चित छिन् । सरकारले उपलब्ध गराउने बृद्धभत्तालाई हातमा राख्ने धोको रहेको बताईन् । विकजस्तै ६० बर्षकी पितिसरा विक,६५ बर्षका जेउरे विक जस्ता सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने १५ जनासंग नागरिकता छैन् ।

सदरमुकाम बेनीबाट करिव २६ कोष टाढा रहेकोे धवलागिरी गाउँपालिका–१ गूर्जाबाट नागरिकता लिन सदरमुकाम बेनी पुग्नै दुईदिन लाग्ने भएकाले पनि बृद्धबृद्धाले नागरिकता लिनबाट बन्चित भएका हुन् ।‘बृद्धभत्ता पाएको छैन्,‘जीवनकै अन्तिम समयमा आफ्नो साथमै नागरिकता राखेर मर्ने धोको छ’ सस्तिमाले भनिन् । उनले औषधी उपचार, घरमा चुल्होमा आवश्यक पर्ने खाना, लत्ताकपडाका लागि बृद्धभत्ताका लागि पहल गरिदिन अनुरोध गरिन् ।चरम गरिबीका कारण गूर्जाका दलित महिलाले नागरिकता बनाउने प्रयास गरेपनि सदरमुकाम बेनीसम्म आउन सक्ने अवस्था नभएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए । 

‘करिव पाँचदिन छुट्टाउनुपर्छ,‘एकल महिलालाई धेरै सास्ती छ’ छन्त्यालले भने ।उनका अनुसार नागरिकता लिन योग्य करिव ८० जना रहेको बताए ।नागरिकताका लागि वडा कार्यालयले सिफारिस गराइदिएपछि बेनीसम्म पुग्न सक्ने अवस्था नभएकाले बृद्धभत्ता सहित सरकारी सेवासुविधाबाटै बन्चित हुनुपरेको गाउँपालिकाका प्रबक्ता समेत रहेका छन्त्यालको भनाई छ । २ सय ३० घरधुरी रहेको छ। खेतीपाती, गोठमा बस्ने यूवाहरूले समेत नागरिकता बनाएका छैनन् । अपाङ्ता, एकल महिलाले समेत सहज सेवासुविधा प्राप्त गर्न नागरिकताको अभावले बन्चित भएका छन् ।

स्थानीयले गाउँपालिकामा जोडिएको सडक सञ्जाल प्रयोग गर्न समेत करिव १ दिन पैदलयात्रा गर्नुपर्छ । गाउँपालिकाको लुलाङ, मुदी लगाएत विकट बस्तीमा बसोबास गर्ने बृद्धबृद्धाले स्वास्थ्य लगाएतका आधारभुत सुविधाबाट समेत बन्चित छन् । यता म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले गूर्जाका जनताको समस्यालाई मध्यनजर गरी आगामी कात्तिक महिनामा जिल्लामा उपलब्ध सम्पूर्ण सरकारी सेवासुविधा सहितको घुम्ती शिविर सञ्चालन गरिने बताए ।

‘नागरिकता नहुदाँ बृद्धबृद्धाले सेवासुविधाबाटै बन्चित हुनुभएको छ,‘घरमै पुगेर नागरिकता दिने तयारीमा छौ’ उनले भने । जिल्ला प्रशासन कार्यालयले चालु आर्थिक बर्षमा पाँचवटै गाउँपालिकाको दुर्गममा पुगेर घुम्ती शिविर मार्फत नागरिकता दिने तयारी गरेको छ । जिल्लाको विकट बस्तीमा सडक सञ्जाल पुगेपनि पारिवारिक तथा विभिन्न कारणले बृद्धबृद्धाले समेत नागरिकता प्राप्त गरेका छैनन् ।

गूर्जाकी एक बृद्धा । तस्वीर हरिकृष्ण गौतम