धवलागिरीका सडक दशै अगाडी मर्मत गरिने

0
284

धवलागिरी गाउँपालिकाले अविरल बर्षासंगै पहिरोका कारण अवरुद्ध भएका मोटरबाटोलाई दशैं अगाडी नै मर्मत तथा सरसफाई गर्ने भएको छ । बिहिबार गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न भएको कार्यपालिकाको बैठकमा गाउँपालिका भित्र सञ्चालनमा रहेका सडकलाई मर्मत तथा जोखिमपूर्ण ठाउँमा स्तरउन्नती गरिने निर्णय भएको हो ।

बैठकमा गाउँपालिका भित्र बाढीपहिरोले क्षती पुगेका ११ घरधुरीलाई राहत, मराङ र मुदीमा विस्तार भइरहेको सडका बाढीपहिरोले पु¥याएको क्षतीको विवरण सङ्कलन गर्न प्राविधिकको टोली खटाउने निर्णय भएको गाउँपालिकाका प्रबक्ता झकबहादुर छन्त्यालले बताए ।उनका अनुसार गाउँपालिकालाई सूचना र प्रविधियुक्त बनाउन मुदीको नाउरा भीर, गूर्जा र मराङको वानताङ भीरमा जिएसएम मोबाइल टावर जडानको प्रस्ताव गरिएको छ ।

टेलिफोनको पहुँचसंगै दुर्गम बस्तीमा समेत थ्रि जी सेवालाई प्राथमिकता दिइएको प्रबक्ता छन्त्यालले जानकारी दिए ।‘सडक र सूचना प्रविधिको विस्तारलाई प्राथमिकता दिइएको छ,‘सञ्चारको पहुँचको अभावमा अझै पनि सास्ती खेप्नुपरेको छ’ अध्यक्ष थमसरा पुनको भनाई उद्धित गदैं गूर्जाका वडा अध्यक्ष समेत रहेका छन्त्यालले भने । बैठकले गाउँपालिका अध्यक्ष पुनकी आमा र कार्यपालिका सदस्य देउप्रसाद छन्त्यालका पिताको निधन प्रति शोक प्रस्ताव समेत पारित गरेको छ । बैठकमा उपाध्यक्ष रेशम छन्त्याल, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा सहित १२ जना कार्यपालिका सदस्यको उपस्थिती रहेको थियो ।