दुवै मृगौला खरावी भएपछि उपचारमा गराइरहेका म्याग्दीका एक यूवालाई यूरोपेली मुलुक आयरल्याण्डबाट १ लाख ५६ हजारभन्दा बढी आर्थिक सहयोग गरिएको छ ।

आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका जिल्लाको मंगला गाउँपालिका–५ नेटाका मृगौला पीडित १९ वर्षीय सुरेश छन्त्यालको उपचारमा सहयोग जुटाउन सञ्चालित अभियानमा एनआएनए आयरल्याण्डका कोषाध्यक्ष जंग अधिकारी र सदस्य बल क्षत्रीको पहलमा सङ्कलन भएको १ लाख ५६ हजार ४४४ रुपैयाँ एक कार्यक्रमका बीच एनआरएनए आयरल्याण्डका पूर्व अध्यक्ष गणेश प्रसाद र पूर्व पर्यटन मन्त्री कृपा सुर शेर्पामार्फत हस्तान्तरण गरिएको थियो ।

कलिलै उमेरमा मृगौलाले काम नगरेपछि आर्थिक अभावमा उपचारमा समस्या भएको जानकारी पाएलगत्तै म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको पहलमा सुरु भएको अभियानमा स्वदेश तथा विदेशबाट आर्थिक संकलन भइरहको छ ।

कोषका अध्यक्ष राजेश शाक्यले सुरेशलाई नयाँ जीवन दिन विश्वभरबाट प्राप्त भइरहेको सहयोगले उपचारमा सहज भएको बताए । ‘आर्थिक अभावकै कारण उपचारमा हुनुपर्ने अवस्थाको अन्त्य गर्ने अभियानमा छौ,‘मृगौला प्रत्यारोपणपछिको नियमित औषधी सेवनमा समेत खर्च हुन्छ’ उनले भने । छन्त्यालको उपचारमा करिव २१ लाख खर्च हुने अनुमान चिकित्सकले गरेका छन् । परोपकारी संस्था शान्ति कोषले हालसम्म करिव ६९ जनाको उपचारमा सहयोग जुटाएको छ ।