म्याग्दीका कृषक स्वादिलो र गुणकारी मानिने किवी फलको ब्यवसायीक खेती तर्फ आर्कषित भएका छन् । बैदशिक रोजगारबाट घर फर्किएका र गाउँमै कृषि पेशामा आवद्ध भएकाले अत्याधिक माग रहेको किवी खेतीको विस्तारमा जुटेका हुन् । सानो लगानीमा मनग्य आम्दानी गर्न सकिने र बजारमा बसोबास गर्नेहरुको रोजाईमा परेकाले परिक्षण उत्पादनका लागि गरिएको खेती सफल भएपछि किवी खेतीमा जुटेका हुन् ।

मंगला गाउँपालिका–१ कुहुँ मौलाथरका रणबहादुर खत्रीले परिक्षणको रुपमा लगाएको लहरा प्रजातिको ’किवी’ फलको खेती सफल भएपछि थप विस्तार गरेका छन् । मैले इन्टरनेटमा हेरेर खेती गरेको थिए । अहिले लटरमै फलेको छ । दुई चरणमा ३५ वटा विरुवा खरिद गरी घर आसपासको बारीमा लगाएका खत्रीले त्यसबाट १५ वटाले फल दिएको छ । बजार मूल्य र माग अत्याधिक भएकाले विक्रीको समस्या छैन । सुनेको र हेरेको भरमा गरेको खेती सफल भएपछि तीन हेक्टर जमिनमा थप विरुवा विस्तारको योजना बनाएका छन् ।

चिसो हावापानीमा हुने लहरा प्रजातीको फल किवीको परिक्षण उत्पादन सफल भएपछि बेनी नगरपालिका ९ घतान तोरिपानीका यूवा बामदेव रिजालले सुरु गरेको खेतीको सिको गदैं गाउँमा समेत विरुवा विस्तार गरी किवी खेती गरेका छन् । पहिलो उत्पादनलाई कोसेलीको रुपमा वितरण गरेपनि दोस्रो पटकको उत्पादनले फल दिएको तोरिपानीका अगुवा कृषक सागर बानियाँले बताए ।

घर आगनमा फलफुल, टिम्बुर, खेतबारीमा अलैची खेती गरेका कृषकले समेत किवी फलको विस्तारमा जुटेका छन् । बजारमा अत्याधिक माग हुने स्टेवरी लगाएतका स्वादिलो र गुणकारी फललाई प्राथमिकता दिएका कृषकले रहरलाग्दो आम्दनी गरेका छन्। बर्षदिन अगावै फल दिने भएकाले पनि आम्दानीका लागि सहज भएको कृषकको भनाई छ । जिल्लाको अन्नपूर्ण गाउँपालिकाको राम्चे लगाएतका क्षेत्रमा अन्य अन्नबाली छोडेर किवी खेती विस्तार भइरहेको छ ।राम्चेमा एक जापानी नागरिकले रोपेको विरुवाले ब्यवसायीक आकार लिएको छ ।

सुन्तला हुने क्षेत्रबाट उत्तरी तथा स्याउ उत्पादन हुने क्षेत्रबाट दक्षिण भेगमा पर्ने हावापानीमा किवीका लागि उपयुक्त भूगोल मानिन्छ ।जिल्लाका करिव २ हेक्टर जमिनमा किवी खेती भइरहेको छ । एक हेक्टर जमिनमा करिव ४ सय विरुवा रोप्न मिल्छ । समुन्द्री सतहदेखी १ हजार देखी २ हजार ५ सय मिटरसम्मको उचाईमा केवि खेती विस्तार गर्न सकिन्छ । किबी फल बेनीबजारका डिपान्टमेन्ट स्टोरले पोखरा, काठमाण्डौबाट ल्याएर विक्री गर्ने गरेका छन् ।