रातो माटाको ढिस्काले पुरिएर तीन महिला घाईते

0

म्याग्दीमा रातो माटो लिन जाँदा ढिस्कोले पुरिएर तीन महिला घाईते भएका छन् । बेनी नगरपालिका–२ ज्यामरुककोटको फाँपरखेतमा माटाको ढिस्कोले पुरिएर बागलुङ नगरपालिका मालिकाकी निशा सापकोटा, बेनपा–२ ज्यामरुककोटकी कल्पना बोहोरा र चन्द्रकला घिमिरे घाईते भएको बाबुराम नेपालीले बताए । सिँचाईको कुलो नजिक ढिस्कोले पुरिएर घाईते भएका मध्ये दुईजनाको अवस्था गम्भीर छ ।

घाईतेको स्थानीयले उद्धार गरी थप उपचारका लागि अञ्चल अस्पताल बागलुङ्ग लगिएको स्थानीय भिम बहादुर पौडेलले बताए । ‘ढिस्कोमा पुरिएको खवर पाएलगत्तै गाउँलेले उद्धार गरेका थिए,‘जोखिमपूर्ण ठाउँ भएकाले हिजोमात्रै माटो निकाल्न रोक लगाइएको थियो’ पौडेलले बेनीअनलाइनलाई भने ।

उनका अनुसार सडक र नजिकै सिचाँई भएकाले माटो खन्दा पहिरो जान सक्ने भएकाले पनि बन्द गरिएको थियो । स्थानीयले थप दुर्घटनाको सम्भावना भएका ठाउँमा माटो निकाल्न रोक लगाउने बताएका छन् । चाडपर्वमा ज्यामरुककोट र रत्नेचौरमा रातो माटाको खोजीमा जिल्लाका विभिन्न ठाउँबाट समेत जान गर्दछन् । पछिल्लो समय गाउँघरमै पक्की घर बन्न थालेपछि संख्या ह्वात्तै घटेपनि स्थानीयले कच्ची र पुराना घर भएकाले अझैपनि जोखिम मोलेर माटो निकाल्ने गरेका छन् ।