रातो माटो लिन जाँदा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । घर नजिक रहेको माटो लिन गएकी बेनी नगरपालिका–२ ज्यामरुककोट फाँपरखेतकी ३५ बर्षिया कल्पना बोहोराको उपचारको क्रममा अञ्चल अस्पताल बागलुङमा ज्यान गएको हो । माटाको ढिस्कोले पुरिएर तीनजना घाईते भएका छन् । घाईते हुनेमा बेनपा–२ की ५० बर्षिया टेक कुमारी घिमिरे, २३ बर्षिया सृजना थापा र छिमेकी जिल्ला बागलुङ नगरपालिका–५ मालिकाकी निशा सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक गोपिन्द्र बहादुर घिमिरेले बताए ।

उनका अनुसार घाईत मध्ये बानपा–५ मालिकाकी सापकोटालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ भने दुईजनाको अञ्चल अस्पतालमै उपचार भइरहेको छ । गाउँ नजिक रहेको सिँचाईको कुलो आसपासमा माटो निकाल्ने क्रममा शुक्रबार दिउँसो एक्कासी ढिस्को खसेपछि स्थानीयले उद्धार गरेको स्थानीय भिम बहादुर पौडेलले बताए । ढिस्कोमा पुरिएको खवर पाएलगत्तै गाउँलेले उद्धार गरेका थिए ।

बिहिबार स्थानीयले माटो निकाल्न रोक लगाउँदै पुरेका थिए । ग्रामिण सडक र नजिकै सिचाँई भएकाले माटो खन्दा पहिरो जान सक्ने भएकाले पनि बन्द गरिएको थियो । घाइतेको शरीरका विभिन्न भागमा चोट लागेको छ । यसैबीच जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोली घटनास्थलमा पुगेको छ ।

यसैबीच स्थानीयले थप दुर्घटनाको सम्भावना भएका ठाउँमा माटो निकाल्न रोक लगाएपनि लुकिछिपी निकाल्ने गरेका छन् । चाडपर्वमा ज्यामरुककोट र रत्नेचौरमा रातो माटाको खोजीमा जिल्लाका विभिन्न ठाउँबाट समेत जान गर्दछन् । पछिल्लो समय गाउँघरमै पक्की घर बन्न थालेपछि संख्या ह्वात्तै घटेपनि स्थानीयले कच्ची र पुराना घर भएकाले अझैपनि जोखिम मोलेर माटो निकाल्ने गरेका छन् ।