गूर्जाका कर्ण बहादुर छन्त्यालले दैनिकजसो बराह मन्दिरको रेखदेख गर्दछन् ।उमेरले ७० बर्ष नाघेका छन्त्यालले धेरै दिन मन्दिरको सरसफाई तथा पूजाआजामा एक्लै सहभागी भएका छन् ।बुढेशकालमा आफ्नो मनोकामना पुरा भएको विश्वासमा उनले बराह मन्दिर ब्यवस्थापन समितिको जिम्मेबारी समेत सम्हालेका छन् । ४९ बर्षको उमेरमा आफ्नो मनोकामन पुरा भएको विश्वासमा उनले बराह मन्दिरको रेखदेख, संरक्षण तथा पूजाआजामा समय खर्च गर्ने गरेको बताउँछन् । सन्तान प्राप्तीका लागि उनले ठुला अस्पतालमा पुगेर धेरै खर्च गरेपनि पूरा नभएको अवस्थामा बराह मन्दिरमा गरेको भाकलले ५० बर्ष टेक्ने उमेरमै छोरा जन्मिएपछि उनले नियमित मन्दिरको सेवामा खटिएका छन् ।

छन्त्यालका छोरा स्नातक तहमा अध्ययरत छन् ।उनी, एक प्रतिनिधिमुलक पात्र मात्रै हुन् ।गाउँमा बसोबास गर्ने छन्त्यालर दलित समुदायले दुखकष्टलाई अन्त्य गरी सुख,शान्ति र समृद्धीको कामना गर्न मन्दिरमा पूजा गर्ने गरेका छन् । जिल्लाको सबैभन्दा विकट मानिने गूर्जालीले गाउँकै रक्षकको रुपमा मन्दिरलाई लिने गर्दछन् ।अक्करे भिर, चारैतर्फ पहाडै पहाडले घेरिएको गाउँको छेउमै रहेको मन्दिर नजिक रहेको आर्कषक ताललाई स्थानीयले बराह देवताको जल पोखरीको रुपमा समेत पूजा गर्ने गरेका छन्।

धवलागिरी गाउँपालिका–१ मा अवस्थित मन्दिरमा स्थानीयले आफ्नो मनोकामना पुरा गर्ने गरी देउता ‘खुसी पार्न’ हरेक बर्ष भदौ महिनामा भब्य पूजा गर्छन् ।मन्दिरमा पूजाआजा गर्न छेउमै रहेको बराह तालमा पानी जम्मा हुनुपर्छ ।असारे झरीमा समेत पानी सङ्कलन हुने तालमा बराह आउनु पूर्व संकेतस्वरुप आफ्नो बहान भेडाको बथान निश्चित बार तथा दिनमा थानको माथिको पाखोमा विहानको समयमा १० वा ११ बजे भित्र मात्रै देखिनु अनौठो र आश्चर्यजनक भएको स्थानीयको भनाई छ ।

असार–साउन महिनामा समेत सुक्का हुने तालममा खडेरी परेको बेलामा पनि मूल फुट्ने गरेकाले पनि स्थानीयले बराह मन्दिरमा विधि पूरा गरी पूजाआजा गर्ने गरेको वडा अध्यक्ष एवम् गाउँपालिका प्रबक्ता झकप्रसाद छन्त्यालको भनाई छ ।उनका अनुसार गूर्जामा रहेको देवताहरुमा बराहलाई शक्तीपिठको रुपमा पूजा गर्ने गरिन्छ। जिल्लाको सदरमुकम बेनीदेखी २६ कोष पश्चिममा पर्ने गुर्जामा परापुर्वकालमा काली बराहले स्थानीयको ज्यान लिन थालेपछि सामुहिक पूजाबाट कालिबराहको शक्ती नष्ट गदैं अपाङ्ग गराउन स्थानीयले पानी समेत नखाई गरेको भाकल पुरा भएपछि भेडाको बलीले पूजा गर्ने गरिन्छ।

मन्दिरमा पूजाआजा गर्न बालक समेत पूजारी हुने परम्परा छ । एउटै बस्तीमा अवस्थित वडामा बसोबास गर्ने छन्त्याल र दलितले पूजा गर्ने मन्दिरमा अहिलेसम्म धेरैले भाकल गरी सन्तान प्राप्ती, बिदेश यात्रा, दुखकष्टको अन्त्य, नोकरीमा राम्रो लगाएतका गाउँका समस्यालाई समाधान गर्ने गरी दिनभरी पूजाआजा गर्ने गरेका छन् ।स्वदेश तथा विदेशमा दुख पाएमा मन्दिरमा पुगेर सकुशल फर्किउन् भन्दै गाउँलेले पूजा गर्ने गरेको दिप छन्त्यालले बताउँछन् ।

तत्कालिन समयमा जिल्लाकै विकट गाउँ भएकाले पनि सरकारी सेवासुविधा,विकास निर्माण,शिक्षा, स्वास्थ्य लगाएतका आधाभुत आवश्यकता समेत नपुगेपछि स्थानीयले बराह मन्दिरलाई गुर्हाने गरेका थिए ।पूजाको समयमा मन्दिरको माथिल्लो भागबाट आवतजावत गर्न मिल्दैन्। अटेर गरी आवतजावत गरेमा क्षती भएका विगतका घटनाले समेत स्थानीयले पूजाआजाको समयमा नियमित आवतजावत गर्ने बाटो नै बन्द गर्ने गरेका छन् । पूजाआजाको समयमा अनौठो दृष्य समेत देख्न सकिन्छ । भेडाको बली दिएका भक्तजनले भेडाका महत्वपूर्ण अंगलाई पात्रोको रुपमा हेर्ने गर्दछन् । पूजारी र स्थानीय बुढापाकाले पात्रोमा रहेका सम्पूर्ण पढेर सुनाउँछन् ।

आफ्नो मनोकामना पूरा भएको विश्वास गर्न बाली दिएकालाई समेत पात्रो अनुसार अगाडी बढ्ने गरेका छन् । पात्रोलाई देवताको आदेशका रुपमा समेत लिन्छन् । केही भक्तजनले पुनः पुजाआजा समेत गर्ने गरेका छन् । बराह मन्दिरले गुर्जाबासीको एकता, सहकार्यलाई समेत झल्काउने गरेको छ । विभिन्न राजनीतिक दलमा लागेर चुनावमा तिब्र प्रतिस्पर्धा गर्ने स्थानीयले पूजाको दिनमा सहकार्य, एकता र सद्भावको सन्देशलाई प्रवाह गर्ने गरेका छन् । बराह देवताले समाजको दुस्मनको अन्त्य गरेकाले पनि छन्त्याल र दलित समुदायले समुदायको हितमा हुने गरी पूजा गर्छन् । जीर्ण मन्दिर समेत स्थानीयकै प्रयासमा पूननिर्माण गरिएको छ ।

बराह मन्दिरका रोचक तथ्य
अग्ला पहाडमा रहेका तामाखानीको खोजीमा पुगेका छन्त्यालबासीले करिव ३ सयबर्ष अगाडी बस्ती विस्तार गरेसंगै गूर्जाबासीले बराह मन्दिरमा पूजाआजा गर्ने गरेका थिए । मानवबस्ती विस्तार भएको यकिन अभिलेख नभेटिएपनि जिल्लाकै पुरानो बस्तीको रुपमा चिनिन्छ । बहुमुल्य जडिबुटी, तामा, कार्ज नामक पत्थरको खानी समेत रहेको गूर्जाबासीले आफ्नो रक्षाका लागी बराहको पूजा गर्न सुरू गरेका थिए । मन्दिरमा गूर्जाबाट स्वदेश तथा विदेशमा रहेकाले भाकल गर्ने गरेका छन्। मन्दिरलाई स्थानीयले आफ्नो इच्छा पुरा गर्ने घरको रुपमा पूजा गर्छन् ।

मन्दिरका बारेका धेरै रोचक तथ्यहरू मध्ये बराह आएकोमा स्वागत तथा विदाई स्वरुप गरिने पूजा पछि छोटो समय भित्र बराहको दह हराउने गरेको छ । बराहलाई हेपेर वा अटेर गरेर कुनै पनि बर्जित बस्तु वा सामान माथिबाट लगेमा वा बर्जित हुने कुनै पनि कार्य गर्नेलाई एकबर्षमै हानिनोक्सानी हुन्छ । बराह देवताले बेला बेलामा आफनो बहान हाँस लाई दलमाथि र भेडाहरुलाई पाखोमा देखाउने र स्थानीयलाई सजक बनाउने । आफुलाई बर्जित कार्य गरेमा हुरीबतास लगायत प्राकृतिक विपत्ती देखाईदिने, त्यस्तो विपत्ती भएमा बराहको नाममा नाम जुरेको व्यक्तिले धुपधजा गरी शरण परेमा सोको रोकथाम गर्ने गरिन्छ ।

बराहको बहान भेडा देखा परेदेखि पुजा नगर्दासम्म थान माथिको बाटोमा हिडने मानिसले पकाएका कुनै पनि परिकार,जाँडरक्सी जस्ता पेय पदार्थ लिएर हिड्न पाइदैन । सुत्केरी परेको कुनै घर परिवारका सदस्यले २२ दिन नपुग्दा सम्म थान माथिको बाटो प्रयोग गर्न मिल्दैन त्यसैले सो परिवारले थान मुनीको घुमाउरो बाटो प्रयोग गर्न अनिवार्य छ । पुजाको दिनमा सुत्केरी परिवारले सहभागि हुन पाउदैन र सो परिवारको दाजुभाइले समेत थानमा गएर धुपधजा गर्न पाइदैन ।बराहको पूजामा भेडाको साँढ बाहेक कुनै पनि पशुपन्छीको बली दिईदैन । फुलपाती र वडादशैको दिन दमाह र भोकरी फुकेर सम्मान दिने । साथै दशैटीका चढाउने ।

महिला मन्दिरमा प्रवेश गदैनन्

हिमाली आमा समुहकी अध्यक्ष ज्ञान कुमारी छन्त्यालले बराह मन्दिरमा अहिलेसम्म पाइला टेकेकी छैनन् । उनले मन्दिरको बाहिरी भागबाट अवलोकन गर्छिन् ।छन्त्याललाई मन्दिरमा प्रवेश गर्न रोकिएको छैन् ।मन्दिरको इतिहासमा एकजना पनि महिलाले पाइला नटेक्नुको कारण फरक छ । परापूर्वकालदेखी मन्दिरमा भेडाको बली दिन सुरु गरिएपछि महिला हिंसा विरोधी हुन्छन भन्ने मान्यताका आधारमा महिलालाई मन्दिरभित्र प्रवेशमा रोक लगाइएको हो ।गूर्जाकी वडा सदस्य सिता छन्त्यालले बराह मन्दिरमा दिइने बलीको महिलाले विरोध गर्न नमिल्ने भएकाले पनि शक्तीस्वरुप बराह मन्दिरमा दिइने बलीलाई महिलाले हेर्न नसक्ने भएकाले पनि प्रवेश नगरिएको बताईन् ।

‘अहिले देशैभरी महिलामाथि हिंसा भइरहेको छ,‘महिला हिंसा विरोधी हुन्छन भन्ने सत्ययूगबाटै सुरु भएको हो’ छन्त्यालले भनिन् ।उनले कलिला बालबालिका देखी बृद्धसम्म बलात्कार तथा हिंसाजन्य गतिविधिको सिकार भइरहेको अवस्थामा बराह देवतालाई हिंसा रोख्न प्रार्थना गरिएको बताईन् । मन्दिरभित्र दिईने बली नदेख्ने गरी बाहिरबाट पर्खाल लगाइएको छ । महिलाले मन्दिरको बाहिरबाटै दर्शन गर्ने गरेका छन् । महिलाले मन्दिरमा प्रवेशलाई विभेदको रुपमा स्वीकार गदैनन् । गाउँभरका सबै महिला मन्दिर बाहिर आएर दर्शन गरी फर्कछन् । महिलाले दर्शन गरेपछि मात्रै बली दिने गरिन्छ । बालबालिका देखी बृद्धासम्म मन्दिरमा पुग्छन् ।

ग्रामिण पर्यटनमा जिल्लाकै हिरा

जिल्लाभित्र धेरै पर्यटक भित्रिने पर्यटकीय गन्तब्यमा पुग्ने पदमार्गहरु सडकले छियाछिया बनाएपछि अलमलमा परेका पर्यटकलाई गूर्जा सुन्दर र आर्कषक गन्तब्य बन्न थालेको छ । गाउँबाट करिव एकदिनको पैदलयात्रापछि मात्रै यातायातका साधन गुड्ने सडक भेटिन्छन् । धेरै जनताले सवारीसाधन समेत देखेका छैनन् । गाउँबाट जोडिएका गोरेटो बाटोमा सवारीसाधनको ध्वनी भन्दा पनि लोपउन्मुख थार, घोरल, झारल, नाउर जस्ता जंगली जनावर, चराचुरुङीको आवाज सुनिन्छ । गाउँको प्राकृतिक सून्दरताको जति बख्यान गरेपनि सकिदैन् । नजिकै देखिने चाँदी जस्तै टल्कने हिमाल, बिहान उदाउने सूर्य गुर्जा हिमालमा पर्दा सुन जस्तै टल्किने दृष्यले त्यहाँ पुग्ने सबैलाई रोमाञ्चित बनाउँछ । समुन्द्री सतह देखी ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित गाउँमा छन्त्याल जातिको इतिहास,विभिन्न सांस्कृतिक चालचलनलाई पनि नजिकबाट अध्ययन गर्न सकिन्छ।

जिल्लाको दुर्गम बस्ती भएकै दशकौंसम्म सरकारी सुविधाबाट बन्चित भएपनि स्थानीयको सक्रियतामा गरिएका विकास निर्माण सहित सामाजिक अभियानले गाउँका शिक्षा, स्वास्थ्य, गोरेटो बाटो लगाएतका महत्वपूर्ण योजनाहरूले अझै पनि देख्न सकिन्छ। गुर्जा पहाड भित्र लुकेको बस्ती पनि हो । नेपालकै एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षको दुईवटा ब्लक पर्ने गाउँ आसपासमै थार, झारल, नाउर, मृग जस्ता सुन्दर र चञ्चल बन्यजन्तु पाखाहरुमा चर्ने गर्दछन् । गाउँको पुछार भएर बग्ने धौलागिरी हिमालबाट म्याग्दी खोलाको सहायक खण्ड, गुर्जा खोला लगाएतका सहायक नदीले समेत गुर्जाको सुन्दरतामा थप गरेको छ ।

बराह मन्दिरलाई पर्यटकीय गन्तब्य बनाउँछौ ।

बराह मन्दिरको पूर्वाधार विस्तारका के कस्तो योजना बनाउनुभएको छ त ?
सर्वप्रथम धन्यवाद । गूर्जाबासीको रक्षक बराह मन्दिर धार्मिक तथा पर्यटकीय गन्तब्य हो ।गुर्जा,चुरेन,पुथा हिमालको फेदमा अवस्थित गाउँमा २ सय ३० घरधुरीमा अल्पसंख्यक छन्त्याल र दलित जातिको रक्षकको रुपमा रहेका बराह मन्दिरमा आवश्यक पर्ने पूर्वाधार विस्तारमा हामीले सक्रियता देखाएका छौ ।मन्दिरको पूननिर्माण, गाउँबाट मन्दिरसम्म पुग्ने पदमार्ग, नजिकै रहेको बराह दहलाई संरक्षण तथा महत्वका बारेमा जानकारी सहितको सूचनामुलक बोर्ड राख्ने योजना छ ।

मानवबस्तीको विस्तार भएसंगै सुरु भएको बराह मन्दिरका महत्वका बारेमा प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकलाई गूर्जासम्म ल्याउने सोच बनाएका छौ । मन्दिरको दर्शन गरी मनोकामना पूरा गरेका स्थानीयल मन्दिरको पूननिर्माणमा सहयोगको प्रतिबद्धता जनाउनुभएको छ । प्रवासबाटै मन्दिरलाई आवश्यक पर्ने भौतिक संरचना सहित तारबार गर्ने सोच बनाएर काम गरिएको छ ।

बराह मन्दिरलाई पर्यटकीय गन्तब्य बनाउन सकिने आधार के के छन त ?
गूर्जा जिल्लाकै नयाँ र सुन्दर पर्यटकीय गन्तब्य हो ।पछिल्लो समय विदेशी पर्यटकले ग्रामिण पदयात्राका लागि गूर्जालाई रोज्ने गरेका छन् । गूर्जासम्म पुगेका पर्यटकले प्रचारप्रसार गरेकाले पछिल्लो समय त्यहाँ आन्तरिक पर्यटक समेत पुग्छन् । गाउँ आसपासमा देखिने हिमालको अवलोकन मात्रै नभई पर्यटकले स्थानीयको दैनिकी, अग्ला पहाडभित्र लुकेका सुन्दर दृष्यका साथै धार्मिक तथा खानीहरुको समेत अवलोकन गर्ने गरेको पाइएको छ । त्यसै क्रममा मन्दिर नजिक रहेको बराह दहले समेत पर्यटकलाई आर्कषित गर्ने गरेको छ ।

पैदलयात्रा गरी गाउँसम्म पुग्ने पर्यटकलाई मन्दिर र दहको महत्वका बारेमा जानकारी गराउन सकिएमा मात्रै पनि मन जित्न सक्छ । अहिलेसम्म गाउँमा पुगेका पर्यटकलाई स्थानीयले त्यहाँ निर्मित पुराना सम्पदाका बारेमा जानकारी गराउने गरेका छन् । अहिले निर्मित पूर्वाधारले आर्कषित गर्न नसकेपनि आवश्यकता अनुसार मन्दिर आसपासमा अनुकुल हुने पूर्वाधारले धेरैलाई आर्कषित गर्न सक्छ । हामीले योजना बनाएका छौ। गाउँमा पुग्ने पर्यटकलाई मन्दिर आसपासको दर्शनमा जाने तथा आगामी बर्ष देशकै प्रतिष्ठित ब्यक्तिलाई समेत मन्दिरसम्म पुग्ने वातावरण बनाउँदैछौ ।

गूर्जालाई जिल्लाकै ग्रामिण पर्यटनका सुन्दर गन्तब्य मानिन्छ, यहाँको महत्वलाई कसरी प्रचारप्रसार गर्नुहुन्छ त ?
निकै महत्वपूर्ण प्रश्न गर्नुभयो । गुजमुज्ज गाउँ,समुदायको हार्दिकता, सरल र सहकार्य, पुराना कला, संस्कृति, प्राकृतिक सौन्दर्यताको खानी गुर्जाका अनेक परिचय छन् । प्राचिनकालमा मानवबस्तीको विस्तार संगै गुर्जामा रहेका तामाखानी, कार्ज ढुङ्गाको खानी,बहुमुल्य जडिबुटीको खोजीमा पुगेकाहरुको बसोबास संगै जिल्लाकै नक्साको टुप्पोमा मानब बस्ती बसेको थियो । नयाँ पदमार्गको खोजीमा रहेका पर्यटकलाई गाउँसम्म पुग्न छिमेकी जिल्ला बागलुङ र रुकुमबाट समेत पदमार्ग जोडिएको छ ।त्यसकारण पनि पदयात्रामा निस्कन चाहने पर्यटकलाई गूर्जा सुन्दर गन्तब्य बनेको छ । हामीले प्रवासमा बसेर पनि त्यहाँको प्रचारप्रसार तथा पूर्वाधारमा भूमिका खेलेका छौ ।

 स्थानीयले होमस्टेबाट समेत लाभ लिइरहेका छन् । म्याग्दी भ्रमण बर्षको अवसरमा गूर्जाबासीलाई थप सहकार्यका लागी वातावरण बनाउने गरी प्रचारप्रसारमा जोड दिइएको छ । दलित र छन्त्याल जाति बिचको एकता र सहकार्यले समेत गुर्जाको परिचयलाई स्थापित गरेको जसले आन्तरिक पर्यटकले सन्देश फैलाउन सफल भएका छन् । हामीले गूर्जाको सुन्दरतालाई प्रचारप्रसार गरी पर्यटक भित्राउने प्रयासमा छौ । त्यहाँका जनताले पर्यटकलाई गरेको स्वागतले नै प्रचारप्रसार गरेको छ । प्रकृतिले अनुपम सुन्दरता र सम्पदा खन्याईदिएको भएपनि गूर्जाका बसोबास गर्नेले धेरै किसिमका दुख, कष्टको सामना गर्नु परेको अवस्थामा पनि मन्द मुस्कानले पर्यटकलाई स्वागत गर्ने गरेका छन् ।
अम्मर छन्त्याल/ अध्यक्ष. म्याग्दी समाज अमेरिका