शिक्षकको माग गदैं आन्दोलित विद्यार्थीलाई निष्काशन

0

जिल्लाको एक विद्यालयमा नियमित पठनपाठन र शिक्षकको माग गरेको दाबी गदैं आएका विद्यार्थीलाई एक महिना निष्कासन गरिएको छ । रघुगंगा गाउँपालिका–७ चिमखोलामा अवस्थित अमर माविमा कक्षा १० का २२ जना विद्यार्थीले विषयगत शिक्षकको ब्यवस्था गरी नियमित पठनपाठन गराउन माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरुलाई पठनपाठनमाअसहयोग गरेको भन्दै विद्यालय व्यवस्थापन समितिले निष्कासन गरिएको हो ।

लामो समयदेखि विज्ञान र कम्प्युटर शिक्षक नहुदाँ पठनपाठन नै प्रभावित बनेपछि गत असोज १० गते तालाबन्दी गरेका थिए। विद्यार्थीले विद्यालयमा तालाबन्दी सहित आन्दोलनका कार्यक्रम घोषणा गदैं समान्य तोडफोड गदैं अभद्र व्यवहार प्रदर्शन गरेकाले कक्षा १० मा अध्ययनरत २५ जनामध्ये ३ जनालाई मात्रै नियमित अध्ययन गर्न सक्ने गरि अन्य २२ जनालाई एक महिनासम्म निष्कासन गर्ने निर्णय भएको विद्यालयका प्रअ पृथबहादुर थापाले बताए ।

‘विद्यार्थीलाई गलत ब्यक्तिले उचालेका छन्,‘विद्यालयको नियम भन्दा बाहिर गएर मनपरी सुविधा माग्ने शिक्षककै उस्कावटमा यो काम भइरहेको छ’ थापाले भने । उनले शिक्षकको ब्यवस्थापनमा आफुँले निरन्तर प्रयास गरिरहेको बताउँदै विद्यार्थीलाई तालाबन्दी सहितका गतिविधिमा संलग्न गराइएको दावी समेत गरे । उनले विद्यालयका बारेमा वडा कार्यालय सहित सरोकारवाला निकायलाई जानकारी गराएको बताए ।

उनले विद्यालयको पठनपाठन नियमितभन्दा पनि अराजक गतिविधिमा संलग्नहरुले विद्यार्थीलाई प्रयोग गरेको बताए । यता विद्यार्थीले एसईई परिक्षाको तयारीमा विज्ञान र कम्प्यूटर शिक्षक नहुदाँ समस्या भएको बारेमा जानकारी गराएको बताएका छन् ।‘जटिल विषयका शिक्षक नै नहुदाँ समस्या भएको छ,‘हामीलाई सहज पठनपाठनको ब्यवस्था गरिदिनुपर्छ’ एक विद्यार्थीले भने ।

विद्यार्थीले विद्यालयमा कार्यरत शिक्षकलाई हटाएर नयाँ शिक्षक ल्याउन ब्यवस्थापन समितिले चासो नदेखाएको बताए । विद्यार्थीले लगाएको तालाले सम्रग विद्यालयको पठनपाठनमै असर गरेको भन्दै वडा अध्यक्ष देउप्रसाद पुनको उपस्थितीमा तोडिएको थियो । विद्यालय ब्यवस्थापन समितिले पूर्व कम्प्यूटर शिक्षकले नियमित विपरित सुविधा माग गर्ने, विद्यालयको नियमित विपरितका गतिविधि गर्ने गरेकाले हटाइएको र उनकै सक्रियतामा विद्यार्थीले आन्दोलन गरेको दावी गरेको छ ।

यता अभिभावकले विद्यार्थीको समस्यालाई समाधानको पहल गर्नुपर्नेमा जोड दिएका छन् । गत जेठ महिनादेखी नै विज्ञान शिक्षकको अभावले पठनपाठन हुन सकेको छैन भने कम्प्यूटर विषयको शिक्षक रिम पाईजालाई ब्यवस्थापन समिितले हटाएको थियो । यता गाउँपालिका अध्यक्ष भब बहादुर भण्डारीले स्रोतब्यक्ति बालकृष्ण पौडेललाई विद्यालयको समस्या समाधानका लागी पहल गर्न खटाइएको बताए । उनले विद्यालयलाई विद्यार्थीमैत्री, भयरहित शिक्षाको वातावरण बनाउन प्रतिबद्ध रहेको बताए ।

‘विद्यार्थी निष्काशनको प्रक्रिया गलत हो,‘विद्यालयभित्रको समस्यालाई समाधान गर्नुपर्छ’ भण्डारीले भने । उनले गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयमा शिक्षकको समस्या जटिल भएको बताउँदै अनुभवी शिक्षकको खोजी भइरहेको बताए । आफ्नो शैक्षिक भविस्यका लागि विद्यार्थीले योग्य शिक्षक माग गर्नु गलत नभएको बताउँदै गाउँपालिकाले समेत आवश्यकता अनुसार सहयोग गर्ने बताए । सामुदायिक विद्यालयमा गणित, विज्ञानको शिक्षकको अभाव ब्यवस्थापन जटिल रहेको जनाएको छ । कक्षा १० सम्मको पठनपाठन हुने सो विद्यालयमा २०० जना विद्यार्थी अध्ययनरत छन् ।