शिक्षक नपाउँदा ‘टेली टिचिङ’

0

घनश्याम खडका अन्नपूर्ण गाउँपालिका ५ को पाद्वार माविले विज्ञान शिक्षक चाहियो भनेर तीनपटक विज्ञापन निकाल्यो । कोही आएनन् । चौथो पटकमा बल्ल एक जना शिक्षक आए । तेस्रो पटकको विज्ञापनपछि टिकोट माविले असोज पहिलो साता विज्ञान विषयको शिक्षक फेला पार्दा व्यवस्थापन समितिलाई ठूलो युद्ध जिते बराबरको हर्ष थियो ।

रिमाको आदर्श मावि र चिमखोलाको अमर मावि लगायत दुर्गम भेगका एक दर्जन विद्यालय लामो समयदेखि विज्ञान विषयको शिक्षक अभावमै छन् । केही विद्यालयले योग्य शिक्षक नपाएपछि कम योग्यताका शिक्षकबाट काम चलाएका छन् । ‘हामी दुर्गमका विद्यालयमा विज्ञान विषयका शिक्षक नपाउन श्राप नै पाएका रहेछौं । बल्लतल्ल शिक्षक खोज्यो, ६ महिना वर्षदिनमै छाडेर जान्छन् ।हैरान छौं,’ पाउद्वार माविकी प्रधानाध्यापक थममाया शेरपुजा मगरले भनिन्, ‘एउटा शिक्षकको वर्षभरको तलब बराबर शिक्षक खोज्दै खर्च हुन्छ । दरबन्दी भएको विद्यालयलाई त यो हालत छ, दरबन्दीरहित विद्यालयको अवस्था कस्तो होला ?’

पाउद्वार मावि, टिकोट मावि वा अमरमावि चिमखोलाले भोगेका समस्या प्रतिनिधि मात्र हुन् । सदरमुकाम बेनी सेरोफेरोबाहेक जिल्लाका सबैजसो माध्यमिक तहका विद्यालयले वर्षमा कुनै न कुनै महिना विज्ञान वा गणित विषयका शिक्षक अभावको समस्या झेल्दै आएका छन् । हरेक वर्षको एसईई परीक्षामा कुनै न कुनै विद्यालयका विद्यार्थीले विज्ञान विषय अध्ययन/अध्यापनबिनै सामेल हुन बाध्य हुने गरेका छन् । शिक्षक उपलब्ध भएका विद्यालयमा पनि कुनै न कुनै महिना शिक्षकको ‘ग्याप’ हुने गरेको छ ।

‘जिल्लामा विज्ञान र गणित विषयका शिक्षक नपाउने वा नटिक्ने विकराल समस्या छ,’ शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दलबहादुर थापाले भने, ‘शिक्षक लाइसेन्स परीक्षा विषय नमिल्दो र अव्यावहारिक हुँदा पनि शिक्षक समस्या भएको हो ।’ दरबन्दीमा त विज्ञान शिक्षक अभाव छ, शून्य दरबन्दीका जिल्लाका १९ माविको अवस्था झन् नाजुक छ । अधिकांश दरबन्दीरहित माविमा तल्लो तहको शिक्षकले माथिल्लो तहमा अध्यापन गराउने मात्र होइन, विज्ञान र गणित जस्ता विषयमा तल्लो तहको योग्यता भएको शिक्षकले माथिल्लो तहमा ‘काम चलाउ’ अध्यापन गराउँदै आएका छन् ।

नपाइनुभन्दा त्यै पनि राम्रो ठानेर बसेको छ समुदाय । दुर्गमका विद्यालयमा मात्र होइन, सदरमुकाम रहेको बेनी नगरपालिका भित्रका विद्यालयमा पनि इन्जिनियरिङ र गणित विषयमा शिक्षक समस्या छ । प्राविधिक धारमा पढाइ हुने बेनी नगरपालिका ९ तोरीपानीस्थित गलेश्वर माविलाई बीई तर्फका शिक्षक नपाएर हत्ते छ । शिक्षकको जहिल्यै पिरलो भएपछि यहाँको अन्नपूर्ण गाउँपालिकाले सबै १० वटा माविका ९ र १० कक्षामा विज्ञान, गणित, अंग्रेजी र कम्प्युटर विषयमा टेलिटिचिङ सुरु गर्ने भएको छ ।

शिक्षक नपाए पनि पढाउन सकिने विधिका साथै विद्यालयलाई डिजिटल प्रविधियुक्त बनाउन गाउँपालिकाले बजेट समेत छुट्याएको छ । ‘स्मार्ट कक्षा र टेलिटिचिङको प्रविधिले विद्यालयमा विज्ञान, गणित र अंग्रेजी विषयका दक्ष शिक्षकको अभावका कारण अध्यापनमा बाधा हुँदैन,’ अन्नपूर्ण गापाका स्रोतव्यक्ति जयराम सुवेदीले भने, ‘इन्टरनेट र स्मार्ट प्रविधिबाट पढाउन पाठ्यक्रमलाई डिजिटल विधिबाट तयार पारेर इन्स्टल गर्न सुरु गरिएको छ । copyright: ’www.kantipurdaily.com