घनश्याम खड्का बाटो उकालो, ओरालो । गाउँ समाजको भेला समारोह । ७९ वर्षीय दिलीप शेरचनको सक्रियता युवा जनप्रतिनिधिको तुलनामा कम छैन । मालिका गाउँपालिका ४, ओखरबोटका वडाध्यक्ष उनी अहिलेका जनप्रतिनिधि मात्रै होइनन्, अनुभवी राजनीतिज्ञ र सामाजिक कार्यकर्ता पनि हुन् । लामो समय गाउँ पञ्चायतको प्रधानपञ्च रहेका उनी गत वर्ष माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिएर वडाध्यक्ष निर्वाचित भएका हुन् । उनको बसाइँ पुर्ख्यौली थलो ओखरबोटबाट ३ घण्टा तल दरबाङमा सरेको छ ।

दरबाङ बजार मालिका गाउँपालिकाको केन्द्र हो । जनप्रतिनिधि भएपछि शेरचन प्राय: गाउँमै बस्छन् । मुकाममा पनि काम परिरहन्छ, त्यसैले सातामा एक दिन गाउँपालिका कार्यालय झर्छन् । उकालो–ओरालो बाटोमा हतार परे आउजाउ गर्न उनको आफ्नै गाडी पनि छ ।

दसैं संघारमा छ । बर्खाको झरीबादल र बाढीपहिरोले भत्केका सबै ग्रामीण सडक मर्मत गर्नुपर्नेछ । योजना प्राथमिकीकरण गर्ने, डोजर खोज्ने, लागत इस्टिमेट गराउने र सडक सफा गर्ने कामको चटारो छ । लट्ठी टेक्दै उनी छरिएका बस्ती पुगेर बैठक बस्ने र योजना अनुगमन गर्नै व्यस्त छन् । ‘आफ्नो थलो नै यस्तै वल्लो र पल्लो पहाडको टुप्पोमा छरिएका छन् । जनताको सेवा गर्छु भनेर कस्सिएपछि बुढो भएँ भन्न कहाँ पाइन्छ ?’ उनले भने, ‘उमेर पनि वातानुकूलित भयो कि बाध्यताले हिँडायो कुन्नि । मनमा जमेर रहेको तन्नेरी जोसले काममा सक्रिय गराउँछ मलाई ।’ मालिका ४, ओखरबोट तामाको खानी भएको थलो हो ।

२०१८ देखि २०४६ सम्म ओखरबोटका २२ खानीबाट तामा निकाल्ने काम भएका थिए । खानी सञ्चालन गरेका शेरचन तामा उत्खनन गर्ने रैथाने सुरुङ प्रविधिका जानकार पनि हुन् । ‘मर्नुअघि यहाँको तामाखानी पुन: सञ्चालन गरी खानी खन्न पोख्त खनेल र धाउ पगालेर तामा बनाउने तोम्टा सीप नयाँ पुस्तामा हस्तान्तरण गर्ने धोको छ,’ उनले भने, ‘म आफैं अध्यक्ष भएर खानीसम्म मोटरबाटो र बिजुली पुर्‍याएँ । बन्द तामाखानी पुन: सञ्चालन गर्न निर्वाचित भएको हो । जनप्रतिनिधि भएपछि खानी तथा भूगर्भ विभागसँग यही विषयमा लडिरहेको छु ।’

शेरचन राजनीतिमा जस्तै सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् । माओवादीको सशस्त्र विद्रोह समयकाल ०६०/६१ ताका उनले नागरिक अगुवाका रूपमा जनताबाट चन्दा संकलन गरी बाबियाचौर–दरबाङ १४ किमि सडक खन्ने कामको नेतृत्व गरेका थिए । दरबाङबाट ओखरबोटसम्म १० किमि सडक निर्माण गर्न लगाएँ । गाउँमा लघु जलविद्युत् निर्माण मात्र गरेनन्, उद्योग चलाउन आवश्यक छ भनी विद्युत्को राष्ट्रिय प्रसारण पुर्‍याउन पनि अगुवाइ गरे । शेरचन स्थानीय ओखरबोट माविका संस्थापक पनि हुन् । copyrigh:ekantipur.com