जिल्लाको पर्यटकीयस्थल पुनहिलमा पर्यटकको चहलपहल ह्वात्तै बढेको छ। अन्नपूर्ण गाँउपालिका–६ मा पर्ने घोरेपानीमा विभिन्न नाकाबाट पर्यटकहरुको आगमन बढ्न थालेको छ । म्याग्दीको प्रमुख पर्यटकीय स्थल समेत रहेको पुनहिलमा कास्कीको पोखरा–नयाँपुल–घान्दु्रक हुदै साढे दुई सयको हाराहारीमा विदेशी पर्यटक भित्रिएको पर्यटन प्रहरी कार्यालयका दिपक क्षत्रीले बताए । ‘दैनिक विदेशी पर्यटकको आगमन बढेको छ,‘अधिकांस कास्की क्षेत्रबाट आउने गरेका छन्’ क्षत्रीले भने ।

उनका अनुसार असोजको पहिलो सातादेखी दैनिक २ सयको हाराहारीमा पर्यटकको आगमन संगै इलाका प्रहरी कार्यालय र पर्यटक प्रहरीले पदमार्ग तथा घारेपानी आसपासमा क्षेत्रमा पर्यटकको सुरक्षाका लागि नियमित तथा छड्के गस्ती सुरु गरेको बताए ।  गतबर्षको तुलनामा असोज महिनामा धेरै पर्यटकको आगमन हुने अनुमान गरिएको छ । पुनहिलमा कास्कीका साथै म्याग्दीको सदरमुकाम बेनी हुदै पोखरेबगर–घारा–शिख, नागी–महरेडाँडा हुदै समेत पर्यटक जाने गरेका छन् । ग्रामिण सडकले पदमार्ग विस्थापित गरेपछि विदेशी पर्यटकको बसाई समेत छोटिदै गएको छ ।

घोरेपानी–पुनहिल भित्रिनेमा अधिकांस चिनियाँ, मलेसिया,वेल्जियम,इटली, जर्मन, ईजरायल, फं्रान्स, अमेरिका, कोरिया, जापान लगाएतका देशका छन् । यूरोपेली मुलुकबाट आउने पर्यटकले घोरेपानी हुदै मुस्ताङ तर्फ समेत जाने गरेको पर्यटन ब्यवसायीको भनाई छ । पर्यटकको आगामन कात्तिक महिनको अन्तिम सम्म हुन्छ । दशैंतिहारको विदामा आन्तरिक पर्यटक समेत घुम्न जाने भएकाले पनि होटल खचाखच भरिन्छ ।

समुन्दी सतहदेखी ३ हजार २ सय १० मिटरको उचाईमा अवस्थित पुनहिलमा मनोरम हिमश्रृखला, मगर जातीको संस्कृती र रहनसहन,विविध प्रजातीका पशुपंक्षी,वनस्पतीको साथै सुर्योदयको अवलोकन,स्थानिय कला तथा मगर नृत्य लगायत प्रस्तुतबाट समेत पर्यटक आर्कषित हुने गरेका छन्। पर्यटकीयस्थलमा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकलाई कुनैपनि समस्या नभएको गाउँपालिका अध्यक्ष डम बहादुर गर्बुजाले बताए । ‘पर्यटकको सुविधाप्रति सचेत छौ,‘बसाई लम्बाउन पदमार्गलाई ब्यवस्थित गर्ने प्रयास भइरहेको छ’ गर्बुजाले भने ।

गाउँपालिकाले पुनहिलमा सञ्चालित चिया पसललाई करको दायरामा ल्याएकाले पनि आगामी दिनमा बजेटलाई सदुपयोग गर्न सहज हुने बताइएको छ । पछिल्लो समय पुनहिलमा पुगेका पर्यटकको रोजाईमा अन्नपूर्ण गाउँपालिकाकै वडा नम्बर ८ मा अवस्थित महरेडाँडा समेत नयाँ गन्तब्य बनेको छ ।  करिव पाँच दशकअघि अन्नपुर्ण पदयात्रा मार्ग सुरु भएपछि बाटो हिड्ने पर्यटकका लागि चिया, नास्ता खुवाउन खुलेका साना होटल तथा भट्टी पर्यटकको बाक्लो आगमनसँगै दुईदर्जनको हाराहारीमा सुविधासम्पन्न होटलहरु छन् ।

विश्वको प्रख्यात पर्यटक गाईड लोन्ली प्लानेटले नेपालमा घुम्नै पर्ने १० वटा पर्यटकीय गन्तब्यमा पहिलोपटक अन्न्पुर्ण गाँउपालिकाको घोरेपानी र पुनहिललाई समावेश गरेपछि विदेशी पर्यटकको आगमन बढेको पर्यटन ब्यवसायीको भनाई छ । पुनहिलमा आएका पर्यटक कास्की, भुरुङ तातोपानी हुदै मुस्ताङ जाने गरेका छन् । विश्वको उत्कृष्ट १० गन्तब्य भित्र पर्ने अन्नपुर्ण परिक्रमा पदयात्रामार्ग अन्तर्गत पुनहिल एक सुन्दर गन्तब्य हो । म्याग्दीमा भित्रिने कुल पर्यटकमध्ये करिब ६० प्रतिशतको हाराहारीमा अन्नपूर्ण गाउँपालिकामा पुग्ने गरेको तथ्याङ्कक छ ।