आन्दोलित विद्यार्थीको निलम्बन फुकुवा, तीनबुँदे सहमति (भिडियो)

0

नियमित पठनपाठन र शिक्षकको माग गदैं आन्दोलित विद्यार्थीले तोडफोड गरेको आरोपमा निलम्वित विद्यार्थीलाई नियमित पठनपाठनमा सहभागि गराउने सहमति भएको छ । जिल्लाको रघुगंगा गाउँपालिका–७ चिमखोलामा अवस्थित अमर माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययरत २२ जना विद्यार्थीले विषयगत शिक्षकको ब्यवस्था गरी नियमित पठनपाठन गराउन माग गदैं आन्दोलित विद्यार्थीले विद्यालयमा तालाबन्दी गरी आन्दोलनमा उत्रिएपछि ब्यवस्थापन समितिले असहज परिस्थीतिको सृजना भएको भन्दै एक महिने निलम्बनको कठोर निर्णयको सर्वत्र विरोध भएको थियो ।

मङ्गलबार गाउँपालिकाका अध्यक्ष भब बहादुर भण्डारीको अध्यक्षतामा आयोजित छलफलमा दुवैपक्षका कमजोरीलाई औल्याउँदै निलम्बनको कठोर निर्णय प्रति ब्यवस्थापन समितिले गल्ती स्वीकार गदैं विद्यालयलाई विद्यार्थीमैत्री, भयरहित शिक्षाको वातावरण बनाउन प्रतिबद्ध सहित बुधबार देखी नियमित कक्षा सञ्चालन गरिने सहमति भएको थियो । छलफलमा निलम्बन गर्ने निर्णयलाई फिर्ता, विद्यार्थीको माग अनुसार तलब कम भएको भन्दै विद्यालयबाट राजीनामा दिएका कम्प्यूटर शिक्षकलाई पुर्नवाहली गरिने, विज्ञान शिक्षक छनौटका लागि प्रक्रिया अगाडी बढाउने निर्णय भएको स्रोतब्यक्ति बालकृष्ण पौडेलले बताए ।

‘विद्यार्थीलाई गरिएको कारवाहीको प्रक्रिया गलत थियो,‘सबै आरोप–प्रत्यारोप फिर्ता लिइएको छ’ पौडेलले भने ।उनका अनुसार विज्ञान शिक्षकका लागि शिक्षा विकास तथा समन्वय इकाईमा अनुमति लिएर छनौट गर्ने तथा विदाको समयमा समेत अतिरिक्त कक्षा सञ्चालन गर्ने निर्णय भएको बताए ।लामो समयदेखि नहुदाँ पठनपाठन नै प्रभावित बनेपछि गत असोज १० गते तालाबन्दीपछि ब्यवस्थापन र विद्यार्थी बीच देखिएको समस्यालाई समाधान गदैं नियमित पठनपाठनमा सहभागि हुन विद्यार्थीले समेत सहमति जनाएको श्रोतब्यक्ति पौडेलले बताए ।

जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर कटुवाल, गाउँपालिका उपाध्यक्ष कमला तिलिजा,शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दल बहादुर थापा, वडा अध्यक्ष देउप्रसाद पुन,नेपाल शिक्षक संघ म्याग्दीका अध्यक्ष दुर्गाराम सुबेदी, नेपाल शिक्षक संगठनका अध्यक्ष जयराम सुबेदी लगाएत सरोकारवाला निकायको उपस्थितीमा भएको छलफलमा निर्णयको पक्षविपक्षमा चर्काचर्की समेत भएको थियो ।

तलब सुविधामा असन्तुष्ट जनाएर राजिनामा दिएका कम्प्यूटर शिक्षकलाई सुविधा थप गरी पुर्नवाली गर्नुपर्ने माग आन्दोलित विद्यार्थीले गरेपछि सहज वातावरणका लागि सहमति भएको जनाइएको छ । गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले भविस्यमा विद्यालय ब्यवस्थापन समितिले गर्ने निर्णयमा आवश्यक राय लिन निर्देशन दिएका छन् ।‘गुणस्तरीय शिक्षाका लागी शिक्षकको माग गर्नु जायज हो,‘निर्णय प्रक्रियमा त्रुटी भएको थियो’ भण्डारीले भने ।

उनले गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा विषयगत शिक्षक नभएमा तत्काल गाउँपालिकालाई जानकारी गराउन समेत निर्देशन दिएका थिए । आन्दोलित विद्यार्थी सहमति पछि घर फर्किएका छन् ।छलफलमा विद्यालयका प्रअ पृथबहादुर थापा, विब्यस अध्यक्ष इन्द्र बहादुर बुढा, शिक्षक अभिभावक संघका अध्यक्ष लक्ष्मण पुनले सम्रग विद्यालय भित्रका समस्यालाई समेत समाधान गर्नुपर्ने बताएका थिए । विद्यालयमा २०० जना विद्यार्थी अध्ययनरत छन् ।