कोरला नाका सञ्चालन गर्न चीन सकारात्मक

चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको मुस्ताङमा पर्ने कोरला नाका सञ्चालनमा ल्याउन चिनियाँ अधिकारी सकरात्मक भएका छन्। दुई देशका सरकारी अधिकारीबीच मुस्ताङमा आइतबार सम्पन्न द्विपक्षीय बैठकमा कोरला नाका खोल्ने नेपाली पक्षको प्रस्तावलाई चिनियाँ पक्षले सकरात्मक रुपमा लिँदै प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको हो। व्यापारिक दृष्टिकोणले यो नाका महत्वपूर्ण छ।

चिनियाँ अधिकारीले बन्द रहेको नाका खोल्न गरेको आग्रहलाई सकारात्मक रुपमा लिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताए । ‘नाका खोल्ने हाम्रो प्रस्तावमा उहाँहरु सकारात्मक देखिनुभएको छ,’ पौडेलले भने, ‘नाका खोल्नकै लागि पूर्वाधार निर्माण गरिरहेको चिनियाँ अधिकारीहरुले जानकारी दिनुभयो।’

चीनले नाकाबाट तिब्बततर्फको भूमिमा भन्सार, क्वारेन्टाइन, ड्राइपोर्टको लागि दुई ठूला अन्डर ग्राउन्ड भवन निर्माण गरिरहेको पौडेलले बताए। ‘एकीकृत भन्सारका लागि आवश्यक पूर्वाधार चिनियाँ पक्षले निर्माण गरिरहेको छ,’ प्रजिअ पौडेलले भने।दुई–तीन महिनापछि चीनतर्फ हुने वार्तामा यो विषयमा थप छलफल हुने उनले बताए । बैठकमा चीनको तर्फबाट तिब्बत सिगात्से बोर्डर चिफ अफ कर्नेल गैरीले नेतृत्व गरेका थिए।

कोरला नाकामा नेपालले पनि एकीकृत भन्सार चौकी निर्माण गर्न हजार रोपनी जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको प्रजिअ पौडेलले बताए । ‘हामीले पनि पूर्वाधार निर्माणका लागि जग्गा व्यवस्थापन सुरु गरेका छौं,’ पौडेलले भने, ‘प्रहरी चौकी, भन्सार, क्वारेन्टाइन, ड्राइपोर्टलगायत पूर्वाधार निर्माण गर्ने योजना छ।’बैठकमा मुस्ताङका प्रमुख जिल्ला अधिकारी र तिब्बतको ढोङ्वासेन र साँगासेनका अधिकारी सहभागी थिए । केही महिनापछि तिब्बतमा सम्पन्न हुने बैठकमा समझदारीपत्रमा हस्ताक्षर हुने पौडेलले बताए।

सीमा क्षेत्रसम्म चीनले पक्की सडक ल्याएको छ । बेनीदेखि जोमसोम हुँदै कोरलासम्म ग्राभेल सडक निर्माण भइसकेको छ । सडक स्तरोन्नति गर्ने तयारी छ । यो नाका सञ्चालनमा आए प्रदेश नम्बर ४ मा सामान आयात गर्न सजिलो हुन्छ।

सुरक्षा संवेदनशीलता देखाउँदै यो नाका सन् २००३ मा बन्द भएको थियो । मुस्ताङसँग जोडिएको यो नाका व्यापारिक दृष्टिकोणले महत्वपूर्ण रहेकोले सञ्चालनमा ल्याउन संसदको विकास समितिले यसअघिनै सरकारलाई निर्देशन दिएको थियो । सीमासम्मै यातायात सुविधा पुगेको र भू–बनोट हेर्दा कोरला तत्काल खोल्न उपयुक्त ठहर गर्दै संसदको विकास समितिले प्रधानमन्त्रीलाई यसअघिनै प्रतिवेदन बुझाएको थियो । भूकम्पपछि चीनसँग जोडिएको तातोपानी–खासा नाका बन्द छ । केरुङ–रसुवागढी नाका सञ्चालनमा छ।

भारतको नाकाबन्दीपछि कोरला सञ्चालनमा ल्याउनुपर्ने बहस हुँदै आएको छ । प्रारम्भिक रुपमा तल्लो तहमा सहमति भएपछि नाका पूर्ण रुपमा सञ्चालनमा ल्याएर उच्चतहबाटै कुटनीतिक पहल हुनुपर्ने सरोकारवाला बताउँछन् । नाका सञ्चालनमा आए विशेष गरी प्रदेश ४ का मुस्ताङ, म्याग्दी, बागलुङ, पोखरा लगायत क्षेत्रका लागि सहज हुनेछ।

नाका सञ्चालनमा ल्याए चीनबाट सामान आयात गर्न सकिने चेम्बर अफ कमर्स बागलुङका अध्यक्ष दोर्ण कुँवरले बताए। ‘कोरला नाका सञ्चालनमा ल्याउन उच्च तहबाटै पहल गर्नुपर्छ,’ कुँवरले भने, ‘चीन र भारत जोड्ने कालीगण्डकी करिडोर निर्माण भएकाले नाका सञ्चालनमा ल्याउन आवश्यक छ।’

नाका खोले कालीगण्डकी करिडोरबाट चीन र भारतबीच व्यापार हुन सक्छ । भारत र चीनलाई जोड्ने चार सय ३५ किलोमिटर करिडोर निर्माणाधीन छ । भारतदेखि चीन पुग्ने छोटो सडक (कालीगण्डकी करिडोर) पनि निर्माणाधीन रहेकोले व्यापारिक दृष्टिकोणले कोरला उपयुक्त मानिन्छ। चीन–भारत जोड्न कोरला–जोमसोम–बेनी–बागलुङ–गुल्मी–पाल्पा हुँदै जाने कालीगण्डकी करिडोरको ट्र्याक स्तरोन्नति भइरहेको छ।

द्विपक्षीय वार्तामा नाका सञ्चालनसँगै सीमा क्षेत्रमा वार्षिक रुपमा लाग्ने व्यापार मेला दुवैतर्फ सञ्चालन गर्न पनि नेपाली पक्षले आग्रह गरेको थियो । वर्षको दुईपटक सीमा क्षेत्रबाट तीन किलोमिटरको दुरीमा तिब्बततर्फ मेला लाग्दै आएकोमा सो मेला लोमान्थाङमा पनि सञ्चालन गर्न आग्रह गरेको पौडेलले बताए।

मेला असार र असोजमा लाग्छ । त्यही मेलामा उपल्लो मुस्ताङका स्थानीयले वर्षभरीलाई पुग्ने सामान खरिद गर्छन् । मेलामा निर्माण सामग्री, लत्ताकपडा, दैनिक उपभोग्य वस्तु, पशु दाना, पस्मिना, ऊन, भेडा र च्यांग्राको सुकुटीलगायत सामान किनबेच हुन्छन् । अरु बेला नाका बन्द रहे पनि व्यापार मेला स्थलसम्म चिनियाँ सुरक्षाकर्मीले सहज आवतजावतको व्यवस्था मिलाउँछन् । उपल्लो मुस्ताङको छोसेर, छोन्हुप, लोमान्थाङ, चराङलगायतका बासिन्दाले तिब्बती सामान प्रयोग गर्छन् । नेपाली उत्पादनको तुलनामा चिनियाँ सामग्री सस्तो हुन्छ । बैठकमा सीमावर्ती क्षेत्रमा हुन सक्ने अवैध गतिविधि, लागूऔषध ओसारपोसार, तस्करी नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका थिए।कोरला नाका समुद्र सतहदेखि चार हजार ६ सय ५० मिटरको उचाइ छ । सीमाक्षेत्रमा सोलार प्यानलजडित सिसी क्यामेराबाट चिनियाँ सेनाले नेपाली भूमिको निगरानी गर्ने गरेको छ।