म्याग्दीको रघुगंगा गाउँपालिका–३ गायत्री मन्दिर परिसरमा विहिवार आयोजित निःशुल्क मुटुरोग परिक्षण शिविरबाट छ सय जना बढी सर्वसाधारण लाभान्वित भएका छन् । राखु समाज काठमाण्डौले गाउँपालिकाले आयोजना गरेको शिविरमा ६ सय २ जना सर्वसाधारणले मुटुरोगको परिक्षण गराएका हुन् ।

गाउँपालिकाले संयोजन र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको प्राविधिक सहयोगमा आयोजना गरेको शिविरमा म्याग्दीका साथै छिमेकी जिल्ला पर्वतका विभिन्न गाउँबाट सर्वसाधारण मुटुको परिक्षणका लागि आएको समाजका प्रवक्ता प्रविन कुमार मल्लले जानकारी दिए । उनका अनुसार शिविरबाट १४ जनालाई रिफर गरिएको बताए ।

एक दिने शिविरमा शहीद गंगालालका मुटुरोग विशेषज्ञ प्रा.डा. रबी मल्ल, डा. राकेश बहादुर अधिकारी लगायतका चिकित्सकहरुको टोलीले जिल्लाका ६ वटै स्थानीय तहका साथै छिमेकी जिल्लाबाट आएका विरामीको मुटु परिक्षण,परामर्श सेवा दिएका थिए । शिविरमा स्वास्थ्य परिक्षणबाट पहिचान भएका मुटुरोगीहरुलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क उपचार गरिने डा.मल्लले बताए । ‘निशुल्क उपचारका बारेमा धेरैलाई जानकारी छैन,‘गाउँगाउँसम्म सरकारले उपलब्ध गराएको सुविधाका बारेमा जानकारी गराउनुपर्छ’ डा. मल्लले भने ।

उनका अनुसार आर्थिक अभाव तथा जनचेतनाको कमीले उपचारबाट बन्चित भएकालाई शिविरले राहत मिलेको बताए । शिविरमा मुटुको अप्रेसन गर्नुपर्ने विरामी र कुरुवालाई यातायातको सुविधा सहितको ब्यवस्था मिलाइने आयोजकले जनाएको छ । शिविरा मुटुको परिक्षण, निशुलक ईसीजि, मुटुको भिडियो एक्सरे, सुगर जाँच, पिटी तथा आइएनआर जाँच लगाएतका सेवा रहेको छ । शिविरमा मुटुरोग विशेषज्ञ प्रा.डा रबी मल्ल, डा. राकेश बहादुर अधिकारी सहितका चिकित्सक टोलीले मुटु परीक्षण गरेका छन् ।

१५ बर्षमुनी र ७५ बर्षमाथिका मुटुरोगीको सम्पूर्ण उपचार निःशुल्क तथा अन्य उमेर समुहकालाई सहुलियतामा उपचारको सुविधा रहेको डा. मल्लको भनाई छ । शिविरको १०५ बर्षिय ज्येष्ठ नागरिक भद्रकुमारी मल्लले उद्घाटन गरेकी थिईन । समाजका अध्यक्ष प्रेम बहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रममा रघुगंगा गाउँपालिका– २ का वडा अध्यक्ष जिवन कुमार मल्लले कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा प्रदेश सभा सदस्य विनोद केसी, जिसस प्रमुख देवेन्द्र बहादुर केसी, रघुगंगा गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारी, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी लगायतको उपस्थिति रहेको थियो ।