रातोमाटो खन्ने क्रममा गत शुक्रबार ढिस्कोले पुरिँदा बेनी नगरपालिका–२ ज्यामरुककोट फाँपरखेतकी ३५ बर्षिया कल्पना बोहोराको मृत्यु भयो ।घर नजिक रहेको माटो लिन गएकी बोहोरासंगै ५० बर्षिया टेक कुमारी घिमिरे, २३ बर्षिया सृजना थापा र छिमेकी जिल्ला बागलुङ नगरपालिका–५ मालिकाकी निशा सापकोटा घाईते भए ।

सापकोटाको अवस्था गम्भीर छ भने अन्य घाईते उपचार पछि घर फर्किएका छन् ।हरेकबर्ष म्याग्दीमा रातोमाटा खन्ने क्रममा घाईते हुने गरेपछि हिन्दु धर्मालम्बीको महान चाड दशैमा ग्रामिण क्षेत्रमा रहेका कच्ची घर माटोले पोत्ने महिलाले ज्यानको बाजी लगाएर माटो निकाल्ने गरेका छन् ।ज्यामरुककोटका सामुदायिक बन आसपासमा गहिरा खाल्टा भित्र पसेर माटो निकाल्ने क्रममा विगतमा समेत घाईते र अकालमा मृत्यु भएका घटनाहरु समेत छन् ।

गाउँकै विपन्न परिवारकी बोहोराले दशैंतिहारको खर्च जुटाउन माटो बेच्ने गरेकी थिईन् । रोजगारीको खोजीमा छिमेकी देश भारतमा पुगेका श्रीमानको कमाईले छोराछोरी र घर खर्च चलाउन मुस्किल भएपछि गाउँ आसपासमा रहेका पाखोमा पाइने माटो खोज्न दैनिक डोको, कोदालो लिएर जाने गरेकी बोहोराको अकालमै मृत्यु भएपछि परिवारको बिचल्ली भएको छ ।नयाँ घरमा दशैं मनाउने योजना बनाएर माटोे खन्न गएको मृतक बोहोराका छोरा मिलनले बताए ।

‘नयाँ घरमा दशैं मनाउने आमाको सपना पुरा गर्न सकिएन्,‘आमाको कमाईमा पेटभरी खान पाएका थियौं’ उनले भने । घरायसी काम र मजदुरी गरेर टिनको एकतले घर बनाएकी बोहोराको मृत्यु भएको खवर सुनेका श्रीमान मिठे भारतबाट हिडेपनि करिव एकसाता वित्न लाग्दा समेत घरमा पुगेका छैनन् ।

एउटा खुट्टा नचल्ने मिठुले भारतमा होटलमा मजदुरी गरी मासिक ४ हजार घरमा पठाउने गरेका थिए ।‘परिवारकै बिचल्ली भएको छ,‘माटोमै बोहोरा परिवारको सपना पुरियो’याम बानियाँले भने ।मृतक बोहोराको कृयाखर्च जुटाउन समेत मुस्किल रहेको बताए । आफन्तको सहयोगमा कृयाखर्च जुटाएपनि दुई छोराछोरीको शिक्षादिक्षा र नयाँ घर बनाउँदा लागेको ऋणले परिवार चिन्तित छन् ।

मृतक बोहोराले गाउँ नजिकबाट माटो सङ्कलन गरी ज्यामरुककोट, भकिम्ली लगाएत जिल्लाका विभिन्न स्थानबाट आउने ग्राहकलाई विक्री गर्ने गरेकी थिईन् ।दशैंको नजिक गाउँ आसपासमा रहेका पुराना माटो निकाल्ने ओढारमा दैनिकजसो माटो खोज्न जाने गरेकाले पनि चोटपटक लाग्ने गरेको स्थानीयको भनाई छ ।गाउँमा बषौं देखी खन्दै आइरहेको ओढार सुरूङ नै बनेको स्थानीय भिम बहादुर उपाध्यायले बताए।

उनका अनुसार माटो खन्न रोक्ने धेरै प्रयास गरिएपनि अटेर गरेकाले दुर्घटना हुने गरेको बताए ।‘सुरूङ जस्तै दुईठाउँमा मान्छे लगाएर पुरिएको छ,‘लुकिछिपी माटो खन्छन्’ उपाध्यायले भने ।उनले सावधानी अपनाउन स्थानीयलाई अपिल गरिएपनि बेवास्ता गर्ने गरेकाले छिमेकी जिल्लाबाट समेत रातको समयमा माटो खोज्न आउने गरेको बताए ।सामुदायिक बनका ओढारमा माटो निकाल्न प्रतिबन्ध लगाइएको उपाध्यायको भनाइ्र्र छ।‘माटोले बोहोराको खुसी चुडिँयो,‘अझै माटो खोज्दै आउने क्रम रोकिएको छैन’उनले भने ।

बजारमा सस्तो मुल्यमा चुना र गेरु पाइने भएपनि स्थानीयले धार्मिक मान्यता भन्दै माटोले घर पोत्ने प्रचलन रहेकाले दुर्घटना बढेको उनले बताए ।आर्थिक विपन्नता र जनचेतनाको अभावले समेत समस्या भइरहेको स्थानीय अगुवाको भनाई छ ।चाडपर्वलाई लक्षित गरी विदाको समयमा अभिभावकसंगै विद्यार्थी समेत जाने गरेकाले गाउँमा सचेतनामुलक कार्यक्रमको आवश्यकता रहेको अर्जुन मावि भकुण्डेचौरका पूर्व प्रधानध्यापक टिका कार्कीले बताए ।

‘सावधानीका बारेमा जानकारी नै छैन,‘प्रत्येक बर्ष सानातिना दुर्घटना भइरहेका छन्’ कार्कीले भने ।उनले माटोको ढिस्कोबाट बच्न उपायका बारेमा वडास्तरबाट समेत प्रचारप्रसारको आवश्यकता रहेको बताए ।भकुण्डे र रत्नेचौरको माटो जिल्लाका ग्रामिण बस्तीमा अझैपनि धेरै खपत हुने गरेको छ ।बेनी नगरपालिका सहित विभिन्न बस्ती आसपासमा रहेका रहेका माटो खन्ने ओढार जोखिमपूर्ण छन् ।