म्याग्दी बहुमुखी क्याम्पसको आयोजना र बेनी नगरपालिकाको सहयोगमा यही असोज १९ गतेका दिन “म्याग्दी जिल्लामा गणित विषयको अवस्था र थप शैक्षिक प्राविधिक विषयको सम्भावना“ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी बहुमुखी क्याम्पसमा असोज १९ गते भएको कार्यक्रमका बक्ताहरूले विद्यलय तहमा गणित विषयको व्यावहारिक पठनपाठन नहुँदा र गणित विषयलाई समाजले नबुझ्दा उच्च तहसम्म गणित विषय अध्ययन गर्ने विद्यार्थीको अभाव हुने गरेको तथ्य औंल्याएका थिए ।

म्याग्दी बहुमुखी क्याम्पसको स्नातक तहमा ज्यादै न्युन विद्यार्थीहरुले मात्र ऐच्छिक विषय अध्ययन गर्न आउने र ती विद्यार्थीका लागि क्याम्पसले लाखौं लगानी गर्नुपर्ने बाध्यता रहेको हुँदा जिल्लामा गणित विषयको अवस्था बुझ्न र गणितप्रति विद्यार्थीको रुचि कसरी बढाउने भन्ने सम्बन्धमा छलफल गर्न आफुहरुले यस कार्यक्रमको आयोजना गरेको क्याम्पस सन्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीले बताए । अन्तरक्रिया कार्यक्रमको जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर कुटवालले उद्घाटन गदैं जिल्लाभित्र आधारभुत तहदेखी नै गणितका विषयमा विद्यार्थीलाई आर्कषित गर्नुपर्नेबताएका थिए । उनले स्थानीय तहले समेत प्रोत्साहनका कार्यहरु अगाडी बढाउनुपर्नेमा जोड दिए ।

जिल्लाका विभिन्न विद्यालयका गणित शिक्षक, जनप्रतिनिधि, स्रोतव्यक्ति, क्याम्पसका प्राध्यापक,लगायतको सहभागी उक्त कार्यक्रमका बीच क्याम्पसका गणित शिक्षक नारायण सुवेदीले “म्याग्दी जिल्लामा गणित विषयको अवस्था र जनशक्ति अभाव “ सम्बन्धी एक अवधारणापत्र प्रस्तुत गरेका थिए । क्याम्पस प्रमुख टिकाराम सापकोटाले प्राविधिक विषयको आवश्यकता सम्बन्धी सामग्री प्रस्तुत गरेका थिए ।

अवधारणापत्रमाथि टिप्पणी गर्दै प्रकाश मावि बेनीका गणित शिक्षक बालकुमार रोकामगरले तल्लो कक्षादेखि नै गणित शिक्षण व्यावहारिक रुपमा पठन पाठन हुन नसक्दा त्यसको प्रभाव माध्यमिक र उच्च तहसम्म परेको, एसईइ परीक्षाको नतिजालाई मात्र हेरेर विश्लेषण गर्ने परिपाटी रहेको, शिक्षकहरूले गणित विषयलाई रुचिपूर्ण तरिकाले अध्यापन गर्न नसकेको औंल्याउँदै गणित विषयलाई प्रयोगात्मक र व्यावहारिक रुपमा शिक्षण गर्नुपर्ने, गणित विषयको पनि प्रयोगात्मक मुल्यांकन हुनुपर्ने जस्ता सुझावहरू पेस गरेका थिए ।

त्यसैगरी अर्का टिप्पणीकार स्रोतव्यक्ति जयराम सुवेदीले नीति निर्माण र योजना निर्माणमा गणितलाई उपेक्षा गरिएको, जसले गर्दा गणित विषयमा अपेक्षित उपलब्धी हासिल गर्न नसकिएको धारणा प्रस्तुत गरेका थिए । विद्यार्थीहरू र शिक्षकहरूलाई उत्प्रेरित गर्न सक्ने नीति तथा योजना बनाई कार्यान्वयनमा ल्याउन सकिए मात्र गणित विषयको उपलब्धि वृद्धि हुन सक्ने कुरामा उनको जोड रहेको थियो ।

म्याग्दी बहुमुखी क्याम्पस र मंगला शिक्षा क्याम्पसमा रहेको गणित विषयमा विद्यार्थीको संख्या न्यून रहेको जनाइएको थियो । म्याग्दी क्याम्पसमा ३ र मंगलामा सुन्य विद्यार्थी रहेको बताउँदै सामुदायिक विद्यालयको अवस्था समेत जटिल रहेको बताउँदै गणित विषयमा सरकारी दरबन्दीको सुविधाका लागी समेत पहल गर्नुपर्नेमा जोड दिइएको थियो । म्याग्दीका निजी तथा सामुदायिक विद्यालयका गणित शिक्षकको प्रतिनिधिमुलक सहभागिता रहेको कार्यक्रममा निजी स्रोतबाट गणित शिक्षकको ब्यवस्था गर्नुपर्ने अवस्था रहेको बताइएको थियो ।