मंगलामा २५औं विश्व शिक्षक दिवस मनाइयो

0
231

मंगला गाउँपालिका म्याग्दीको आयोजनामा शुक्रबार बाबियाचौरमा २५औं विश्व शिक्षक दिवस मनाइएको छ । शैक्षिक विषयका सन्दर्भमा सरोकारवालाहरुबीच अन्तत्र्रिmया तथा उत्कृष्ट शिक्षक÷विद्यार्थी सम्मान गरी दिवस मनाइएको हो ।
कार्यक्रमको अवसरमा गत शैक्षिक सत्र २०७४ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)मा मंगला गाउँपालिकामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा शिक्षकलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

उक्त कार्यक्रममा ३.५५ जिपिए ल्याउने दीपशिखा मावि कुहुँका आशा घर्ती क्षत्री, ३ दशमलव ५० जिपिए ल्याउने दीपशिखा माविका अर्का विद्यार्थी अन्जना राम्जाली र ३ दशमलव ३५ जिपिए ल्याउने शिशुकल्याण मावि अर्मनका सुजन सुवेदीलाई क्रमशः नगद चारहजार, तीनहजार र दुईहजार रुपैयाँसहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।

यसैगरी मंगला–४, बराङ्जा निवासी छलिमाया जैसीलाई राष्ट्रिय परीक्षा बोर्डबाट सञ्चालित कक्षा १२ को परीक्षामा प्रकाश मावि बेनीबाट सहभागी भई धौलागिरीमै सबैभन्दा धेरै जिपिए ल्याएकोमा दुईहजार नगदसहित प्रमाणपत्रले सम्मान गरिएको थियो । त्यस्तै सामुदायिक विद्यालयतर्फ विषयगत रुपमा सबैभन्दा बढी जिपिए ल्याउने अंग्रेजी र विज्ञान विषयमा शिशुकल्याण मावि अर्मनका शिक्षक उमादेवी कँडेल र विरबहादुर तरामीलाई नगद र प्रशंसापत्रसहित सम्मान गरिएको छ ।

त्यसैगरी नेपाली विषयमा दीपशिखा मावि कुहुँका हरिकृष्ण उपाध्याय र गणित विषयका भद्रबहादुर घर्ती क्षत्रीलाई पनि सम्मान गरिएको छ । सामाजिक विषयतर्फ राष्ट्रिय जनजागृति मावि पूर्णगाउँका भविदत्त सुवेदी र स्वास्थ्य जनसङ्ख्या तथा वातावरणतर्फ रामबहादुर आचार्य सम्मानित भएका छन् । संस्थागत विद्यालयतर्फ अंग्रेजी र नेपाली विषयमा सबैभन्दा बढी जिपिए ल्याउने डनिङ आवासीय मावि बाबियाचौरलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा मंगला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोका र उपाध्यक्ष सिर्जना केसीले गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धितर्फ विशेष ध्यान दिएको बताउँदै समग्र गाउँपालिकाको विकासमा केन्द्रीत हुने बताएका थिए । गाउँपालिका अध्यक्ष रोकाको अध्यक्षता, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रको स्वागत र स्रोतव्यक्ति डेकबहादुर बानियाँको सञ्चालनमा सम्पन्न कार्यक्रममा शिक्षकहरु रुद्रबहादुर केसी, टेकबहादुर राम्जाली र गमबहादुर केसीले मन्तव्य राखेका थिए ।