Unknown

घनश्याम खड्का/रत्नेचौर (म्याग्दी) — दसैं संघारमा छ । ग्रामीण भेगका गृहणीहरुलाई रातो र कमेरोले पोतेर घर चिटिक्क पार्न हतारो छ । दसैंमा घर रंगाउने प्रचलन पुरानो हो । गाउँका सबै घर कम्तीमा दसैंमा एक पटक रातो, कमेरो र पहेंलो माटोले पोतेर रंगाइन्छ ।

सहरी क्षेत्रका घर रंग्याउन, विभिन्न ब्राण्डका पेन्टस्, चुना र इनामेलको प्रयोग हुने भएपनि गाउँघरका घर रंग्याउन भने रातोमाटो, पहेंलो र कमेरो माटोकै प्रयोग हुन्छ । गाउँका धेरै घरहरु रातो र सेतो माटोले पोतेर घर रंग्याइन्छ ।

‘श्राद्धमा घर च्योख्याउनु पर्ने र दसैंमा घर रंगाउन रातोमाटो लिन यहाँ आएकी हुँ,’ जलजला गाउँपालिका, २ धाइरिङ्गकी सरस्वती आचार्यले भनिन्, ‘गाउँलेले पहिरो लाग्छ भन्दै पाखोमा माटो खन्न पनि दिन्नन् । व्यक्तिको बारीमा माटो खनेको भारीको एक सय शुल्क तिर्नु पर्छ ।’सोह् श्राद्ध लागेसँगै घर रंग्याउन व्यापारीहरु दुर्गम बस्ती-बस्ती पुगेर रातोमाटोको व्यापार गरिरहेका छन् । सातामा बुधबार, शुक्रबार र शनिबारका तीन दिन मात्र माटो खन्ने गरिन्छ । अन्य चाडबाडमा घरपोत्ने माटो नखन्ने चलन छ ।

म्याग्दीका सबै र पर्वतको उत्तरी भेगमा पर्ने जलजला गाउँपालिका (साविकका ५ गाविस) भरीका बस्तीमा रातो माटो नपाईने दसैंमा मात्र घर रंङग्याउन बेनी नगरपालिका, १ रत्नेचौर स्थित रातोमाटोको मडकिन्लोमा गृहणीहरु आउने गरेका छन् ।पछिल्ला समयदेखि स्थानीय समुदायले माटो खन्दा पहिरोको जोखिम बढेको भन्दै सामुदायिक क्षेत्रमा रातो माटो खन्न रोक लगाएको छ । टाढाका रातो माटोका डोके व्यापारीले भने व्यक्तिको बारीबाट भारीको एक सय रुपैयाँ शुल्क तिरेर माटो लैजाने गरेका छन् ।

‘सार्वजनिक जग्गा (पाखो)मा त केही वर्षदेखि रातो माटो खन्न निषेध गरिएको छ । नीजि जग्गाबाट टाढाबाट दसैंमा घर रंग्याउने माटो लिन आउँदा रित्तै के फर्काउनु भनेर खन्न दिन्छौं,’ उनले भनिन्, ‘तर पुलिसले गृहणीको माटो पनि खोस्ने गरेको छ ।’माटो खन्ने ठाउँलाई मट्किलो भन्ने गरिन्छ । रातोमाटो पोतेको घर चिटिक्क परेको राम्रो देखिएपनि माटो खन्न भने सजिलो हुँदैन् । गहिरा सुरुङ जस्ता मडकिल्ना भित्र पसेर माटो झिक्दा मड्किल्नो भत्केर बर्सेनि गृहणीहरुको मृत्यु समेत हुने गरेको छ । एक साताअघि यही ठाउँमा माटो खन्दा मड्किन्लो भत्केर एक गृहणीको ज्यान गयो । तीन जनाको अझै पोखरामा उपचार भैरहेको छ ।

‘सोह् श्राद्धदेखि नै घर च्योख्याउन लिपपोत सुरु हुन्छ । त्यसैले दिनभर बसमा रत्नेचौर पुगेर अर्को दिन माटो ल्याएर बेच्ने गरेका छौं’ अन्नपूर्ण गाउँपालिका, ६ घारका कोपिला दर्जीले भनिन्, ‘माटो खन्ने ठाउँमा एक सय तिर्नु पर्छ, दुई दिनको समय, गाडीभाडा र घरघर डुलाएर बेच्नु पर्दा गाहो हुन्छ ।’ दर्जीले छिमेकका गाउँमा माटो पुर्‍याएर एक माना माटोसँग चारमाना मकै साट्दै आएकी छिन् ।

रत्नेचौर र वरपरका बस्तीबाट रातोमाटो लिन आफै आउँछन । मध्यमदुरीबाट माटे ब्यापारीले लैजान्छन् । खड्का, कार्की र घर्ति आदि थरका क्षेत्रीहरुले कमेरा माटोले घर नपोत्ने हुँदा उनीहरुलाई रातोमाटो नभई हुन्न भन्ने मान्यता छ । माथील्लो लेकाली वस्तीमा भने रातो माटो पुर्‍याउन समस्या हुने भएकोले लेकाली वस्तीका मगर, छन्त्याल समेतका जातीले सेतो कमेरोले मात्र घर रंग्याउने गर्छन् । FilePhoto copyright: Ekantipur.com