एक घर, एक पुस्तक

0

दिनेश नारायण श्रेष्ठ इतिहासविद कर्णबहादुर बानियाँले ‘म्याग्दीको इतिहास, संस्कृति र सम्पदा’ प्रकाशन गर्नु भएको छ । बेनी नगरपालिका–५ भिरमुनीमा जन्मनु भई हाल भरतपुरमा बसोबास गर्नुहुने बानियाँको यो खोजमुलक पुस्तक सुन्दर कोसेली हो । त्यसैले म्याग्देलीले एक घर एक किताब राख्नु पर्छ।

पुस्तकमा म्याग्दी जिल्ला अस्तित्वमा आउनु भन्दा पहिले प्राग–एतिहासिक प्राचीनकालदेखि हालसम्मकै इतिहासका तथ्यगत बुँदा, रोचक तथ्य, बिषयगत बिश्लेषण र निचोड प्रस्तुत गरिएको छ । यसका बाबजुद केही बुँदा अनाबश्यक समाबेश गरिएको, कतिपय कुरा दोहोरिएको, कतिपय छुट्न गएको, तिथिमिति र अंक फरक पर्न गएको र शुद्धाशुद्धी जस्ता कुरामा ध्यान पु-याउन नसकेको देखिन्छ।

जोगीनाच, रोपाई नाच, हनुमान नाच एकदुइ जना कलाकार मात्र नाच्ने नाच नभई धेरै जना सहभागी भएर नाचिने नाच हो।

इतिहासका बारेमा ०१८ देखि ०६८ सालसम्मको बिस्तृत विवरण, व्याख्या र बिश्लेषण गरिएको भनिएको छ तथा चौंथो अध्यायको राजनीतिक पक्षमा ०७५ जेठ ८ गतेसम्मका विवरण समाबेश छ । लेखकको राजनीतिक आस्था, बिचार र सिद्धान्त कुनै एक पार्टीप्रति अटल होला र यसलाई अन्यथा लिनु पनि हुँदैन । तर खाना खाँदा दाँतमा ढुंगा लागे जस्तो अनुभूति हुने पुस्तकको पाना ४७१ मा समाबेश भएको नेपाल कम्युनिष्ट पार्टी, केन्द्रीय कार्यालय, काठमाडौंको सोही मितिमा जारी प्रेस बिज्ञप्तिलाई लिन सकिन्छ । म्याग्दीबाट उक्त कार्य समितिको केन्द्रीय सदस्यमा थममाया थापा र भुपेन्द्र बहादुर थापा दुई जना मनोनित भएका छन् भनेर पाना १४५ मा उल्लेख गरिएकै छ।

यसै अध्यायको पाना ६१ मा तत्कालिन चौबिसी राज्य मध्येको पर्वत राज्यलाई पर्वत जिल्ला मानिएको र सो जिल्ला अन्र्तगत र हालको म्याग्दी अन्र्तगत पाखापानीमा विसं  १८९७ सालमा तुले रोहानीले तत्कालिन शासन सत्ता बिरुद्ध हतियार उठाई गरेको बिद्रोह र त्यसलाई दबाउन को–को कहाँ–कहाँबाट खटिएका थिए भनेर सन्दर्भ सूची सहित रोचक ढङ्गले प्रस्तुत गर्नु भएको छ । अन्य राजनीतिक घटनाक्रम, आन्दोलन, काण्ड, पार्टीहरुको गतिविधि र गठन सम्वन्धमा पनि सविस्तार उल्लेख छ।

म्याग्दीको ओखरबोटमा जन्मेर राष्ट्रिय राजनीतिमै प्रभावकारी भूमिका निर्वाह गर्न सफल तत्कालिन संयुक्त जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री अमिक शेरचन बारेमा पुस्तकमा कतै उल्लेख छैन।  छैटौं अध्यायको आर्थिक पक्षमा पाना २६५ मा जागिर अन्र्तगत प्रशासनिक क्षेत्रमा नेपाल सरकारको विशिष्ट श्रेणी सचिव पदमा राखु पिप्लेका राजकुमार मल्ल हुनु भएको थियो भने नेपाल प्रहरीको नायव प्रहरी महानिरिक्षक (डिआईजी) मा राखु पिप्लेकै देबेन्द्रबहादुर मल्ल हुनु भएको थियो । त्यसै गरी तत्कालिन श्री ५ को सरकारको प्रथम श्रेणीमा कर विभागको महानिर्देशक पदमा बाबियाचौरका ललितबहादुर खड्का हुनु भएको कुरा पुस्तकमा छुटेको छ ।

पाना ७ मा बैंक सुविधा अन्र्तगत काष्ठमण्डप, निलगिरी, पश्चिमाञ्चल, प्रभु फाइनान्स, सहकारी बैक भनेर नाम दिइएको छ । यी नाम ०६८ सम्म अस्तित्वमा थिए । अन्य बैंक तथा बित्तीय संस्था थप भएका छन् भने सहकारी बैंकको बेनीमा शाखा छैन । पाना ८ मा होटल सुविधामा जिल्लामा ५५ महँगा होटल छन् जहाँ बिदेशी पर्यटक मात्र बस्न सक्छन भन्ने उल्लेख छ जवकि ती कुनै तारे होटल नभएका हुँदा आन्तरिक पर्यटक बस्न सक्दैनन् वा खर्च बहन गर्न सक्दैनन् भन्नु ठिक होइन।

त्यसैगरी पाना ४७ मा बेनीमा स्याटेलाइट केन्द्र थियो भनिएको छ जवकि बेनीमा टेलिफोनको सुविधा नपुग्दासम्म अर्थात ०४३–४४ सालसम्म आकाशवाणी केन्द्र थियो।पाना ६८ मा छत्तिससालको आन्दोलन अन्र्तगत विसं ०३७ साल बैशाख १९ गते नभई १७ गते तिर हुनु पर्छ किनकी मतदानको मौन अवधि शुरु हुने दिन उक्त घटना घटिट् भएको भनेर  डा. भुपेन्द्र बहादुर खड्काको भनाई छ । पाना ११२ मा २०६३ सालमा संसद पुर्नस्थापना हुँदा नारायण सिंह पुनको देहान्त भइसकेको र पाना १५५ मा २०६३ सालमा देहान्त भएपछि नेपाल समता पार्टी छिन्नभिन्न भयो भन्ने उल्लेखित छ । तर पुनको निधन बिसं ०६४ साल फागुन  ९ गते बिहीबार उपचार क्रममा नयाँदिल्लीमा भएको हो।

पाना २२१ मा आहारविहार अन्र्तगत म्याग्दीमा उत्पादन हुने धानहरुमा मसिनो र बास्नादार चामलको रुपमा प्रख्यात गौरिया धानको नाम छुट्न गएको छ । पाना २३५ मा हरिबन्दीको कृति रत्न बहादुर विष्टको जीवनी (२०४६) उल्लेख गरिएको छ जवकी रामप्रसाद सुवेदीको म्याग्दी :  श्रष्टा र सृष्टिको पाना नं. १०९ मा २०४२ उल्लेखित छ । त्यसैगरी पाना नं. २४२ मा कथा÷लघुकथा विधामा सन्जय कुमार श्रेष्ठको कथा संग्रह सम्मान र ताली २०७२ कार्तिकमा प्रकाशित गरेको छुट्न गएको छ।

पाना २८१ मा खानी संचालन र ३१० मा खानीहरु भनेर एउटै कुरा दोहोरिएका छन् । पाना  ३१३ मा बनस्पती अन्र्तगत म्याग्दीको धरातलीय भूबनोट ९१५ मिटर होचो भूभागदेखि ८१६७ मिटरको उच्च भूभागसम्म रहेको उल्लेखित छ । तर म्याग्दीको सबैभन्दा होचो भूभाग ७९२ मिटर मापन बेनी नगरपालिका–१ को रत्नेचौर मुनी ढोडेनी खोला र कालीगण्डकी नदीको दोभानलाई मानिएको छ । बेनीबजारलाई नै जीपीएस सिष्टमको अल्टीमिटरले ८४० मिटरको आसपास देखाउँछ भने ९१५ मिटर कसरी होचो भूभाग हुन सक्छ?

पाना ३६३ मा फागु मेला बेनी बजारका नेवार समुदायहरुले पनि भगवती मन्दिरमा भेला भै फागु गीत गाउँदै एकअर्कामा रंग अविर दलेर बजार परिक्रमा गरेर धुमधामसंग मनाउँदछन् भन्ने कुरा छुट्न गएको छ । त्यसै गरी पाना ३६४ मा बेनीमा देखाइने नेवार संस्कृतिका जात्रा र नाचहरुमा घोडे नाचको बारेमै छुट्न गएको छ भने नाच नाच्ने कलाकारहरु र बजाउने संगीतकर्मीहरुको धेरैको नाम छुट्न गएको छ । पाना ३७३ मा जोगी नाच नाच्ने कलाकारहरु भनेर तीन जनाको नाम र अन्य विभिन्न कलाकार भनिएको छ । जोगीनाच, रोपाई नाच, हनुमान नाच एकदुइ जना कलाकार मात्र नाच्ने नाच नभई धेरै जना सहभागी भएर नाचिने नाच हो।

पाना ३८९ मा बेनीका ऐतिहासिक तथा धार्मिक स्थलहरुमा दोविल्लाको शिवालयको बर्णन गर्दा ढुंङ्गैढङ्गाले गुम्बज शैलीमा निर्माण गरिएको एक शिवालय जसलाई दोविल्लाको शिवालय भनिन्छ भनिएको छ । त्यस मन्दिरको शीरबाट बरपिपल झ्याँगिएको र त्यसको जरा र हागाँविंगाले मन्दिरलाई जकडाएर राखेको एक सुन्दर, आकर्षक र ऐतिहासिक मन्दिर छ र हाल त्यसलाई भर्तिबम शिवालय नामले पुकारिन्छ भनिएको भए राम्रो हुन्थ्यो।

कुनै पनि छपाई वा प्रिन्टिङ्ग गर्दा भरसक अशुद्धि नहोस भनेर सतर्कता अपनाइएको हुन्छ । यसको बाबजुद पनि अशुद्धि हुन जान्छ नै । यस पुस्तकमा पनि केही कम्प्युटर टाइपिङ्ग गर्दा वा छपाई अशुद्धिहरु छन्।कमी कमजोरीका बाबजुद यो पुस्तक  ज्ञानबर्धक र जानकारी मुलक छ । म्याग्दीको सम्वन्धमा चासो राख्नेलाई उपयोगी छ । लेखकले कमजोरी सच्याएर दोस्रो संस्करण प्रकाशन गर्ने आशा गरेको छु।