मृगौला पीडितलाई कुवेतबाट पाँच लाख भन्दा बढी सहयोग

दुवै मृगौला खरावी भएपछि उपचारमा आर्थिक अभावमा उपचारमा समस्या भइरहेका एक यूवालाई कुवेतबाट ५ लाख भन्दा बढी सहयोग हस्तान्तरण गरिएको छ । आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका जिल्लाको मंगला गाउँपालिका–५ नेटाका मृगौला पीडित १९ वर्षीय सुरेश छन्त्याललाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले सञ्चालन गरेको सुरेश बचाउ अभियानमा ५ लाख ५ हजार २१० रुपैयाँ आइतबार ओमकुमारी शान्ती कोषमा एक कार्यक्रम गरी हस्तान्तरण गरिएको हो ।

मोना कुवेतका अध्यक्ष प्रेम बहादुर विश्वकर्मा, कोषाध्यक्ष कृष्ण खड्काले कोषका अध्यक्ष राजेश शाक्य, शुरेसकी आमा सिता छन्त्याल,सरेश बचाउन अभियानको डक बहादुर रोकालाई हस्तान्तरण गरेका थिए । सुरेश बचाउ अभियानमा सबैभन्दा धेरै उठाउने देशमा कुवेत भएको छ ।

हस्तान्तरण कार्यक्रममा बोल्दै मोना कुवेतका अध्यक्ष विश्वकर्माले कुवेतमा रहेका म्याग्देलीको अगु्वाईमा ठुलो रकम संकलन गर्न सफल भएको बताए ।दिपक छन्त्यालको संयोजकत्वमा आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो ।कलिलै उमेरमा मृगौलाले काम नगरेपछि विश्वभर सञ्चालन भइरहेको अभियानले उपचारमा सहज भएको कोषका अध्यक्ष राजेश शाक्यले बताए ।

उनका अनुसार आर्थिक अभावले उपचारमा कुनै पनि असर गर्न नदिने गरी अभियान सञ्चालन गरिएको बताउँदै हालसम्म कोषबाट ९९ जनाको उपचार गरिएको बताए । घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि आफन्तले ऋणधन संकलन गरी उपचार गरेपनि थप आर्थिक अभाव भएपछि अभियान सुरु गरिएको अध्यक्ष शाक्यको भनाई छ । सोही अवसरमा कोषको संरक्षक संस्था म्याग्दी उद्धार समिति बहराईनका सल्लाहकार छविलाल विक र भरत रत्नलाई समेत स्वागत गरिएको थियो । कार्यक्रमको सञ्चालन कोषका सचिव लोकेश पुन मगरले गरेका थिए ।