दुवै मृगौला खरावी भएपछि उपचार गराइरहेका जिल्लाको मंगला गाउँपालिका–५ नेटाका १९ वर्षीय सुरेश छन्त्याललाई आइतबार काठमाण्डौमा करिव ३ लाख हस्तान्तरण गरिएको छ । बरंजा भकिम्ली माईटी कुटुम्ब समाजको अगुवाईमा अमेरिकामा बसोबास गर्ने बरंजा र निस्कोटबासी लगाएतले २ लाख ९३ हजार १७२ रुपैयाँ हस्तान्तरण गरेका हुन्।

पीडित सुरेशको उपस्थितीमा आयोजित कार्यक्रममा कुटुम्ब समाजले ३३ हजार ६४५ रुपैयाँ, बरंजा स्थायी घरभई हाल नवलपरासी बर्दघाट बस्ने सन्तोष घर्ती मगर १० हजार, अमेरिकामा बसोबास गर्ने मंगला गाउँपालिका बरंजाबासीले २ लाख १८ हजार ६३३ रुपैयाँ, मालिका गाउँपालिका १ निस्कोटबाट अमेरिकामा पुगेका पीडितका आफन्तको पहलमा ३१ हजार ७८४ रुपैयाँ कुटुम्ब समाजका प्रमुख सल्लाहकार क्या कर्ण बहादुर रोका सहितको उपस्थितीमा हस्तान्तरण गरिएको बरंजा भकिम्ली माईटी कुटुम्ब समाजका अध्यक्ष कमल पुनले बताए ।

‘सहयोग रकमले् उपचारमा सहज हुने अपेक्षा गरेका छौ,‘कलिलै उमेरमा मृगौलामा समस्या देखिएपछि सहयोग संकलन गरिएको थियो’ पुनले बेनीअनलाइनलाई भने । सोही अवसरमा पीडित सुरेशले आफ्नो जिवन रक्षाका लागि स्वदेश तथा विदेशमा भइरहेको सहयोग अभियानले उत्साहित भएको बताए । ‘तपाईहरुको सहयोगले मैले नयाँ जीवन पाउँदैछु,‘सहयोगको एक रुपैयाँ पनि अनावश्यक काममा खर्च गर्ने छैन्’ छन्त्यालले भने । उनले गाउँघरमा समेत आर्थिक सहयोग जुटाएर आफ्नो ज्यान जोगाउने प्रयास भइरहेको सुन्दा आत्मबल बढेको बताए ।