म्याग्दी प्रहरीले भन्यो,‘सीट क्षमता भन्दा बढी यात्रु बोकेमा खवर गर्नुहोस्’

0

चाडपर्वमा सीट क्षमता भन्दा बढी यात्रु बोक्ने यात्रुबाहक सवारीसाधनका बारेमा जानकारी दिन म्याग्दी प्रहरीले अपिल गरेको छ । जिल्लाका ग्रामिण क्षेत्रमा चाडपर्वमा सीट क्षमताभन्दा तेब्बर यात्रु बोक्नेलाई सडकमै कारवाही गरिने प्रहरीले जनाएको छ । भौगोलिक विकटतासंगै अब्यवस्थित कच्ची सडकमा बोलेरो र भाडाका सवारीसाधानमा सीट क्षमताभन्दा बढी यात्रा नगर्न यात्रुलाई समेत प्रहरीले अनुरोध गरेको छ ।

‘जिल्लाका ग्रामिण सडक निकै जोखिम छन्,‘यात्रु सचेत भएमा दुर्घटना न्यूनिकरण गर्न सकिन्छ’ प्रहरी नायव उपरिक्षक बीर बहादुर बुढामगरले बेनीअनलाइनलाई भने । उनले बजार क्षेत्रका साथै ग्रामिण बस्तीमा समेत ट्राफिक प्रहरी, इलाका र प्रहरी चौकी मार्फत सवारीसाधन चेकजाँचलाई कडाई गरिएको बताए । चाडपर्व लक्षित सुरक्षा योजना लागु भएसंगै प्रहरीले सुरु गरेको अभियानमा केही सवारीचालकले मार्दक पदार्थको सेवन गरेको, सामान बोक्ने बोलेरोमा खचाखच यात्रु बोकेको भेटिएको जनाएको छ ।

प्रहरीले सदरमुकाम बेनी देखी सडक सञ्जाल जोडिएका ग्रामिण क्षेत्रसम्म सवारीसाधनमा क्षमताभन्दा धेरै यात्रु यात्रा गर्न सक्ने भन्दै पैदलयात्रीलाई समेत क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनका बारेमा जानकारी गराउन अनुरोध गरेको प्रनाउ बुढामगरले बताए । ‘एकपटक उम्किएपनि निरन्तर निगरानीमा राख्छौ,‘गाउँघरबाटै सुचना दिनुहोला, कारवाही गरिएको प्रमाण तपाईलाई दिन्छौ’ प्रनाउ बुढामगरले भने ।

उनका अनुसार दर्शैंतिहारमा विगतमा सवारी घटनाहरु धेर भएकाले समेत मध्यनजर गरी कडाई गरिएको बताए ।उनले नियमि मिच्ने चालकलाई कारवाही गरिने बताउँदै चालक अनुमति पत्र र सवारीसाधन दर्ता पत्रलाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडी बढाउने बताए ।म्याग्दी जिल्लाका ग्रामिण क्षेत्रमा समिति बाहेक बोलेरोले यात्रुलाई बोक्ने गरेका छन् । सिमित सीटको बोलेरोमा क्षमताभन्दा पाँच गुणा यात्रु बोकेका तस्वीर समेत सार्वजनिक हुन थालेपछि ग्रामिण क्षेत्रमा समेत चेकजाँचमा कडाई गरिएको हो ।

प्रहरीले क्षमताभन्दा धेरै यात्रु, मनपरी भाडा असुल्ने र मापासे लाई आधार बनाएर चेकजाँच गर्ने गरेको छ । केही महिना अगाडी जिल्लाको मंगला गाउँपालिका–५ अर्मनको पोकपुल्लाचोक हुदै नेटा–किमचौर जाँदै गरेको बोलेरो जीपले २४ जना यात्रुलाई लिएर गन्तब्यका जान लागेको तस्वीर भाइरल भएको थियो । गत आार्थिक बर्षमा जिल्लामा भएका दुर्घटनामा सबैभन्दा धेरै बोलेरो रहेका थिए ।

भिरालो सडक, बर्षाले भत्किएको सडकमा क्षमता भन्दा धेरै यात्रु बोक्दा एकदशक यता दुर्घटनाका दुर्घटनामा दर्जनौले ज्यान गुमाएका छन् । यता म्याग्दी जीप तथा बस सञ्चालक समितिले समेत क्षमता अनुसार नै यात्रु बोक्न समितिमा आवद्ध रहेका चालकलाई अनुरोध गरेका छन् । समितिका कार्यवाहक अध्यक्ष लाल बहादुर थापाले चाडपर्वमा यात्रुको समस्या नहुने भएकाले सुरक्षित यात्रामा प्रतिबद्ध रहेको बताए ।

क्षमताभन्दा धेरै यात्रु बोकेमा जिल्ला प्रहरी कार्यालय म्याग्दीको कन्ट्रोल रुम ९टोल फ्रि नम्बर १०० वा मो।नं। ९८५७६४०४४४० मा जानकारी गराउन हुन सम्पुर्ण यात्रु एवं महानुभावहरुमा सूचित गरिन्छ ।