बेनी सामुदायिक माध्यामिक विद्यालयमा कक्षा ५ मा अध्ययरत १४ बर्षिया सुमित्रा पुनलाई ग्लोवल होस्टेलले कक्षा १२ सम्म आवासीय सुविधा उपलब्ध गराएको छ । बेसाहारा पुनलाई बेनपा–८ गणेशटोलमा अवस्थित ग्लोवल होस्टेल प्रालिले खान बस्ने सुविधा सहित ७ लाख २० हजार बराबरको सहयोग हस्तान्तरण गरेको हो । बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच होस्टलका सञ्चालक गोकुल शर्माले विद्यालयका प्रधानध्यापक दिपक श्रेष्ठ र पुनलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

विजय दशमी तथा शुभ दिपावलीको अवसरमा आयोजित बृहत खेलकुद सप्ताहको समापनको अवसरमा प्रदेश सांसद विनोद केसी, जनप्रतिनिधि लगाएत अभिभावकको उपस्थितीमा भावुक हुदै पुनले सहयोग लिएकी थिईन् । रोजगारीको सिलसिलामा १४ बर्ष अगाडी भारतमा गएका बेनी नगरपालिका–३ भकिम्ली डोलेका बीर बहादुर सम्पर्कविहिन भएको केहीबर्षमा आमाले दोस्रो विवाह गरेसंगै कलिलै उमेरमा दुई छाक तातो भात पेटमा पार्नका लागि कठोर बालश्रम गरेकी पुनका बारेमा बेनीअनलाइनले समाचार प्रकाशित गरेको थियो ।

विद्यालयमा पढाईमा अब्बल रहेका विद्यार्थीसंगै संगत रहेपनि विद्यालयमा आउँदा र घरमा गएपछि रातीसम्म काम गर्नुपर्ने बाध्यताले पढाईमा कमजोर भएको अवस्थामा सहयोगले सहज भएको विद्यालयका प्रधानध्यापक दिपक श्रेष्ठले बताए । बालबालिका भविष्यका कर्णधार भएपनि गरिबी र विपन्नताका कारण सुमित्रा फुल्न नपाउँदै ओइलाउने गरेको उदाहणको रुपमा सुमित्रालाई लिन सकिने उनको भनाई छ । बेनीको मंगलाघाटमाघरमा खाना पकाउने, भाँडा माझ्ने, घर सफा,लुगा धुनु जस्ता घरायसी काम गदैं पढ्ने गरेकी पुनले कष्टकर जीवनबाट राहत मिलेको बताईन् । यसअगाडी पुनलाई पाल्पाका सुर्य न्यौपानेले बार्षिक १२ हजारको दरले स्टेशनरी, पोशाक, पुस्तक सहयोगको घोषणा गरेका थिए ।