नागरिकका संवेदनशील सूचना ‘अनधिकृत’ रुपमा संकलन गर्दै प्रधानमन्त्रीका सल्लाहकार

पदको दुरुपयोग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि (आइटी) विज्ञ असगर अलीले व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका निम्ति सरकारका विभिन्न निकायमा रहेका सूचना अनधिकृत रूपमा संकलन गरिरहेका छन्। अलीले सर्वसाधारण नागरिकका संवेदनशील र गोप्य विवरण उपलब्ध गराउन विभिन्न सरकारी निकायलाई पटकपटक दबाबसमेत दिइरहेको फेला परेको छ।

अली अनलाइन विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनी (अनलाइन पेमेन्ट गेटवे) ई–सेवाका सिइओ पनि हुन्। उनले सरकारी निकायसँग रहेको सर्वसाधारणको अत्यन्तै गोप्य र संवेदनशील विवरण उपलब्ध गराउन पटकपटक दबाब दिनु अनैतिक, अनुचित र गैरकानुनी भएको जानकारहरू बताउँछन्।

व्यक्तिगत र व्यावसायिक स्वार्थका लागि पदको दुरुपयोग गर्दै सार्वजनिक निकायसँग रहेको नागरिकको अत्यन्तै गोप्य र संवेदनशील विवरण संकलन गर्नु अख्तियार दुरुपयोग र नागरिकको गोपनीयता हकविरुद्धको कसुर गरेको प्रस्ट देखिने वरिष्ठ अधिवक्ता रामकुमार राईले बताएकाे समाचार अाजकाे नागरिक दैनिकमा छ।

अलीले राहदानी विभागसँग भएका पासपोर्टका सबै डाटा, श्रम विभागसँग भएका डाटा, यातायात व्यवस्था विभागअन्तर्गतको ड्राइभिङ लाइसेन्स, राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रसँग रहेका सम्पूर्ण डाटा, अध्यागमनलगायतका अन्य सार्वजनिक निकायसँग सुरक्षित रहेका मानिसका गोप्य विवरण उपलब्ध गराउन सम्बन्धित कार्यालयका प्रमुखहरूलाई निरन्तर दबाब दिइरहेका छन्।