ढिस्कोमा पुरिएर ज्यान गुमाएकी बोहाराको परिवारलाई जापानबाट सहयोग

रातोमाटो खन्ने क्रममा गत शुक्रबार ढिस्कोले पुरिँदा बेनी नगरपालिका–२ ज्यामरुककोट फाँपरखेतकी ३५ बर्षिया कल्पना बोहोराको परिवारलाई जापानमा रहेका म्याग्देलीले सहयोग गरेका छन् ।

घर नजिक रहेको माटो लिन गएकी बोहोराको मृत्यु संगै परिवारको विचल्ली भएको समाचार बेनीअनलाइनमा प्रकाशित भएपछि जापानको ओकिनावामा रहेकी मंगला गाउँपालिका बरंजा ३ खर्ककी सरिता किसानको पहलमा कुसुम पुन, पवित्रा कटुवाल, शिव भण्डारी र विनय गोतामेले आफ्नो खर्च कटाएर १९ हजार २०५ रुपैयाँ सहयोग गरेका हुन् । बुधबार बेनीमा आयोजित एक कार्यक्रममा प्रतिनिधि सभाका सदस्य भुपेन्द्र बहादुर थापा र सरिताका बुबा भिम बहादुरले मृतक बोहोराका छोराछोरीलाई नगद हस्तान्तरण गरेका हुन् ।

‘घरको अवस्थाका बारेमा जानकारी पाएपछि खाजा खर्च कटाएर सहयोग गरेका छौ,‘मृतकको परिवारमा थप सहयोगका लागि अपिल समेत गर्दछु’ सरिताले भनिन् । अध्ययनका सिलसिलामा जापानमा पुगेका विद्यार्थीको दशैंतिहार र शिक्षादिक्षाका लागि सानो सहयोग गरेको बताएका थिए । बेनीमा सञ्चालित न्यु धौलागिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्व. बोहोराको परिवारलाई १५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।