म्याग्दीका ग्रामिण क्षेत्रमा साँधुरो बाटोमा सीट क्षमताभन्दा तीन गुणा यात्रु बोकेर जबर्जस्ती गाडी चलाइरहेको छ्यापछ्याप्ती भेटिन्छ । दशैंतिहार मनाउन घर फर्किएका यात्रुले सुरक्षित भन्दा पनि छिटो गन्तब्यमा पुग्न भाडाका सवारीसाधनको ढोकामा झुन्निएर तथा छतमा बसेर यात्रुले ज्यान हत्केलामा राखेर यात्रा गरिरहेका छन् । जिल्लाका ग्रामिण क्षेत्रमा जोडिएका साँघुरो ट्रयाकमा सिकारु चालकले समेत हुईकाउने गरेका छन् ।

बर्खायाममा अवरुद्ध भएका सडक समान्य मर्मत गरी सुचारु गरिएको अवस्थामा छोटो समयमै धेरै कमाउने र छिटै गन्तब्यमा पुग्ने यात्रुको सोचका कारण दुर्घटनाको जोखिम बढेको छ । म्याग्दी प्रहरीले विषेश अभियान सञ्चालन गरी सीट क्षमताभन्दा बढी यात्रु बोकेमा कारवाही गरिने चेतावनी सहित चेकजाँच गरेपनि ग्रामिण क्षेत्रमा अझैपनि क्षमताभन्दा तीनचार गुणा यात्रु बोक्ने क्रम रोकिएको छैन् ।

समितिका सवारीसाधनसंगै सामान ढुवानी गर्ने प्रयोजनका लागि ल्याइएका बोलेरोको यात्रु बोक्ने प्रतिस्पर्धाले ग्रामिण सडकमा दुर्घटनाको जोखिम बढेको स्थानीय बताउँछन् ।‘एकैपटक कमाउन खोज्ने, यात्रुकै कमजोरीले पनि समस्या निम्त्याएको छ’ मंगला गाउँपालिका ५ अर्मका भिमप्रसाद गौतमले बेनीअनलाइनलाई भने ।उनले अर्मन क्षेत्रमा अझैपनि बोलेरोले क्षमताभन्दा धेरै यात्रु बोक्ने गरेको बताए ।

उनले आफुँले विगतमा समेत बोलेरोमा यात्रा गरेका यात्रुको तस्वीर सार्वजनिक गरेको बताउँदै सीट क्षमताभन्दा धेरै यात्रु बोक्ने क्रमम नरोकिएको दावी गरे । उनले ग्रामिण सडकको अवस्था नाजुक भएकाले तत्काल हरेक सडकमा निगरानी बढाउनुपर्ने बताए । बेनी नगरपालिका, मंगला, मालिका, धौलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिका बस्तीमा पुगेका सडकमा मापदण्ड अनुसार सवारीसाधन सञ्चालन भएका छैनन् ।

गाउँघरमा निर्वाचित जनप्रतिनिधिहरु भएपनि कानुन विपरित चलेका यात्रु बोक्ने सवारीसाधनहरुलाई नियमन गर्न सकेका छैनन् । अन्य समयमा छिटफुट चल्ने रुटहरु समेत ब्यस्त छन् । ‘यात्रा गर्नु रहर नभई बाध्यता हो,‘सीट नपाएपनि भाडा भनेकै तिर्नुपर्छ’ कुहुँ जाँदै गरेका एक यात्रुले भने । उनले यात्रु सचेत हुन नसक्दा चालकले मनपरी गर्ने अवसर पाएको बताए । सीट क्षमता ५ जना भएको बोलेरोमा तीन गुणा यात्रु बोके ग्रामिण सडकमा गुड्ने तथा समितिका बस, जीपमा समेत क्षमताभन्दा धेरै यात्रु रहेको प्रहरीले जनाएको छ ।

कच्ची सडकमा क्षमताभन्दा धेरै र मनपरी भाडा लिने चौतर्फी गुनासो आउन थालेपछि निगरानी बढाइएको प्रहरी नायव उपरिक्षक बीर बहादुर बुढामगरले बताए । उनले बजार क्षेत्रका साथै ग्रामिण बस्तीमा समेत ट्राफिक प्रहरी, इलाका र प्रहरी चौकी मार्फत सवारीसाधन चेकजाँचलाई कडाई गरिएको बताए । क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनलाई ५ हजार सम्म जरिवाना सहित कारवाहीका लागी यातायात ब्यवस्था कार्यालयमा सिफारिस गर्ने बताए । क्षमताभन्दा धेरै यात्रु, मनपरी भाडा असुल्ने र मापासे गरेका घटना समेत बढ्ने गरेको प्रहरीको भनाई छ ।

बुधबार पश्चिम म्याग्दी जोड्ने बेनी दरवाङ सडकखण्ड अन्तरगत रातढुंगामा ध १ ख ४६६ को बस दुर्घटना भएको छ । चालक मात्रै रहेको बसका चालकले मापासे गरेको आशंका गरिएको छ । भिरालो सडक, बर्षाले भत्किएको सडकमा क्षमता भन्दा धेरै यात्रु बोक्दा एकदशक यता दुर्घटनाका दुर्घटनामा दर्जनौले ज्यान गुमाएका छन् । विगतका बर्षमा भएका अधिकांस ठुल दुर्घटना चाडपर्व आसपासमा भएका छन् ।
म्याग्दीका ग्रामिण तथा बजार भित्र खिचिएका तथा सर्वसाधारणले बेनीअनलाइनलाई उपलब्ध गराएका तस्वीर ।