गूर्जा हिमालमा पाँच कोरियाली आरोही सहित ९ जना बेपत्ता

0
707

म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जा्स्थित हिमाल आरोहणमा गएको कोरियाली टोली हिमपहिरोमा परेको छ । सात हजार १९३ मिटर उचाईको गुर्जा हिमाल आरोहणमा गएका दक्षिण कोरियाका नागरिक किम चङ होको नेतृत्वमा ५ जना कोरियन र ४ जना नेपाली टोली हावाहुरीसंगै आएको हिमपहिरोमा परेको स्थानीयको भनाई उद्धित गदैं वडा अध्यक्ष झक छन्त्यालले जानकारी दिएका छन् । हिमपहिरोमा पर्नेमा गुर्जाका २६ बर्षिय नेत्र बहादुर छन्त्याल समेत छन् । हिमाल आरोहणका लागि बेसक्याम्पमा बसेको टोली एक्कासी हावाहुरीले टेन्ट संगै उडाएको प्रारम्भीक जानकारी प्राप्त भएको छ ।

गुर्जा गाउँबाट करिव ५ घण्टाको दुरीमा रहेको आधार शिविरमा पुग्न नसकेर एक कोरियाली सहित ३ जना बाटोबाटै फर्किएर ज्यान जोगाएका छन् । घटनास्थलमा एकजनाको शव भेटिएको छ । शुक्रबार राती जनाकारी प्राप्त भएपछि प्रहरीलाई खवर गरिएको थियो । खोजीकार्यका लागि हेलिकप्टर समेत गुर्जा पुगेको छ । काठमाण्डौको प्रोजक्ट ओए नामक एजेन्सी मार्फत टोली हिमाल आरोहणका लागि प्रस्थान गरेको थियो । एजेन्सीका आङ्बे शेर्पासंग काठमाण्डौमा रहेका दिप छन्त्यालले समेत कुराकानी गरी उद्धार तथा खोजीकार्यमा आवश्यक सक्रियता देखाउन अनुरोध गरेका थिए ।

पर्यटन विभागबाट ६० दिनभित्र हिमाल आरोहणको अनुमती पाएका टोलीले गुर्जा हिमालको दक्षिणी मोहोडाबाट हिमाल आरोहण गर्ने गरी आधार शिविरतर्फ लागेको थियो । हिमाल आसपासका क्षेत्रमा रहेको जंगलका रुख समेत हावाहुरीले भाचिँएको अवस्थामा भेटिएकाले अत्याधिक हावाहुरीले दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । २०६५ सालमा चुरेन हिमाल आरोहण भएपनि त्यसयता पहिलोपटक हिमाल आरोहणका लागि आएका थिए । एक दशकपछी हिमाल आरोही हिमपहिरो र हावाहुरीले बेपत्ता भएका हुन् । यसैसाता मात्रै गुर्जा हिमाज र गुर्जा पश्चिम हिमाल आरोहणको लागि दुई टोली आधार शिविर तर्फ प्रस्थान गरेका छन् ।