गूर्जा हिमालमा आरोही बेपत्ता अपडेट: ८ जनाको शव भेटियो

0

म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा्स्थित हिमाल आरोहणमा गएको कोरियाली टोली ठूलो हावाहुरीमा परी बेपत्ता भएपछि खोजीकार्यमा गएको टोलीले शनिबार विहान ८ बजेसम्म ८ जनाको शव फेला पारेको छ । सात हजार १९३ मिटर उचाईको गुर्जा हिमाल आरोहणमा गएका दक्षिण कोरियाका नागरिक किम चङ होको नेतृत्वमा ५ जना कोरियन र ४ जना नेपाली टोली एक्कासी चलेको हावाहुरीले टेन्टसंगै उडाएपछि बेपत्ता भएका थिए ।

शुक्रबार एक्कासी सञ्चार सम्पर्क नभएपछि खोजीकार्यको क्रममा बेसक्याममा चलेको हावाहुरीमा पाँचजना कोरियाली र गाईड र भरिया सहित ४ जना नेपाली बेपत्ता भएका थिए । घटनास्थलबाट समप्रसाद छन्त्यालले बेनीअनलाइनलाई दिएको जानकारी अनुसार कोरियालीको अनुहारबाट पहिचान गरिएपनि थप एकजना नेपालीको शव प्राप्त हुन सकेको छैन् ।

हावाहुरी चलेपछि ज्यान जोगाउन खोज्दा टेन्टभित्रै र केहीको बाहिर शव भेटिएको थियो । सिम्रक एयरको हेलिकप्टरले शव ल्याउने तयारी गरिएको छ । थप दुईवटा हेलिकप्टर घटनास्थल तर्फ जाने तयारीमा छ । हावाहुरीमा गुर्जाका नेत्रप्रसाद छन्त्यालको समेत ज्यान गएको छ । एकदशकपछि आरोहणका लागि आएको टोली एक्कासी हावाहुरीमा परेको थियो । घटनास्थलमा गुर्जाबाट २५ जनाभन्दा धेरै स्थानीय खोजीकार्यमा पुगेका छन् ।

नाकै ठोकिने भीरमा यात्रा गर्नुपर्ने भएपछि बीचबाटो बाटै एकजना कोरियाली सहित तीनजना फर्किएकाले उनीहरुले ज्यान जोगाउन सफल भएका छन् । शुक्रबार धौलागिरी हिमाल आसपासमा अत्याधिक हावाहुरी चलेको थियो । अन्नपूर्ण रेन्च आसपासका क्षेत्रमा चलेको हावाहुरीले आरोहणका लागि गएको टोली अलपत्र परेको थियो । घटनास्थल आसपासमा भेटिएको शवहरुको पहिचान गरी हेलिकप्टरबाटै लैजाने तयारी भएको छ । पर्यटकलाई सघाउने हिमालमा पुगेका गाउँ यूवा समेत हावाहुरीमा ज्यान गुमाएपछि गुर्जा गाउँ शोकमा डुवेको छ ।