गुर्जाबासीलाई पहिलो गासमै ढुंगा

0
626

पर्यटन मन्त्रालयले पहिलोपटक गूर्जा हिमालमा आरोहण खुल्ला गरेको जानकारी पाएपछि वडा अध्यक्ष झकप्रसाद छन्त्याल निकै उत्साहित भए । गूर्जाको पर्यटन क्षेत्रले काचुली फेर्न भन्दै यो सन्देशलाई आफ्नो सामाजिक सञ्चाल सहित गाउँमै आयोजित कार्यक्रममा समेत जानकारी गराए । गूर्जाबासीले पर्यटन मन्त्रालयको निर्णयलाई भब्य रुपमा स्वागत गरे । गाउँपालिकाले समेत आरोहण खुल्ला गर्ने कार्यको स्वागत तथा आवश्यकता अनुसार सघायने प्रतिबद्धता जनायो । धमाधम गाउँमा होमस्टे सहित पर्यटकको स्वागतमा विभिन्न किसिमका तालिम समेत सञ्चालन भए।

गूर्जामा महिलाको साझा संस्था हिमाली आमा समुहले गाउँपालिकाको अनुदान तथा समुहकै लगानीमा तातोपानीले नुहाउने स्नानगृह समेत बनाए । जिल्लाका सरकारी निकायका प्रतिनिधिहरु समेत मुस्किलले देखिने गाउँमा फाटफुट विदेशी अनुहार देखिन थाले ।सदरमुकाम बेनीबाट करिव २६ कोष टाढा रहेको धवलागिरी गाउँपालिका–१ मा पर्ने हिमालमा १० बर्ष अगाडी आरोहणमा लगाइएको प्रतिबन्ध समेत हटाइएपछि स्थानीयमा थप उत्साह छायो ।

२०६५ सालमा चुरेन हिमाल आरोहण भएपनि त्यसयता पहिलोपटक त्यस क्षेत्रमा आरोही पुगेका थिए । गाउँबाट करिव ५ घण्टाको दुरीमा रहेको गुर्जा सहित आसपासका हिमालमा आउने विदेशी पर्यटकलाई बाटो चिनाउने गाईड र भरियाको रुपमा रोजगारी समेत पाए । नजिकै देखिने चाँदी जस्तै टल्कने हिमाल आरोहण र अवलोकन गर्न आउने पर्यटकबाट मनग्य आम्दानी गर्ने सोच बनाएका गुर्जाबासीको पहिलो गासमै ढुंगा लागे झै भएको छ ।

नेपाल सरकारले पहिलोपटक आरोहणका लागि खुल्ला गरेको गूर्जा हिमालको आरोहण गर्न गएको पहिलो टोली नै हिमपहिरोमा परेपछि स्थानीय चिन्तित भएका छन् । बस्ती नजिकबाट करिव ६ घण्टाको दुरीमा रहेको आधार शिविरमा बिहिबार आएको हिमपहिरोमा दक्षिण कोरियाका नागरिक किम चङ होको नेतृत्वमा ५ जना कोरियन र ४ जना नेपाली टोलीले ज्यान गुमाएपछि स्थानीयले पहिलो प्रयास नै असफल भएको भन्दै दुख ब्यक्त गरेका छन्।

‘कोरियन टोलीको आगमनले धेरै गुर्जाबासीले रोजगार पाएका थिए,‘यो टोलीले सफल आरोहण गरेर फर्किएको भए धेरै आरोहीहरुको रोजाईमा पर्ने थियो’ गुर्जाका प्रेम छन्त्यालले भने ।उनले पहिलो टोली नै पलाष्ट्रिकमा बेरिएर फर्किएपछि सिंगो गाउँ नै शोकमग्न छ ।उनका अनुसार कोरियाली टोलीको सामान ढुवानीमा गूर्जाका ४० जनाले रोजगार पाएका थिए । त्यस्तै एकजना यूवालाई स्थानीय गाईडको रुपमा समेत लगिएको थियो । उनको समेत हिमपहिरोमा ज्यान गएको छ ।

पहिलो आरोहण टोलीको शव आएपछि थप आरोहण टोली आउन नआउनेमा स्थानीयको चिन्ता छ । सात हजार १९३ मिटर उचाईको गुर्जा हिमाल आरोहणका लागि करिव ३ साता लामो यात्रामा कोरियाली टोली निस्किएका थिए । गाउँमा भब्य स्वागत गरी टोलीलाई विदाई गरिएको वडा सदस्य एवम् हिमाली आमा समुहकी सचिव सिता छन्त्यालले बताईन् । ‘विहान सूर्य उदाउदाँ हिमाल सुन जस्तै टल्किन्छ,‘एउटा घटनाले पर्यटकको आगमन रोकिन्छ भन्ने चिन्ता छ’ छन्त्यालले भनिन् ।

उनले आन्तरिक तथा बाह्य पर्यटकको आगमन भएसंगै स्थानीय उत्पादनलाई विक्री गरेर समेत आम्दानी गर्ने सोच बनाइरहेको अवस्थामा गाउँकै शीरमा रहेको हिमाल आरोहण टोली हिमपहिरोमा परेपछि दिर्घकालिन असर गर्ने सक्ने भएकाले जोखिमपूर्ण ठाउँमा तत्काल मर्मत गर्नुपर्ने बताए । राज्यका निकायले उपलब्ध गराउने शिक्षा, स्वास्थ्य जस्ता आधारभुत सेवा समेत सहजै प्राप्त गर्न नसक्ने अवस्थामा रहेका गाउँलेले प्राकृतिक विपत्तीले समेत आफ्नो रोजीरोटी गुम्ने अवस्था आउन सक्ने बताए ।

समुन्द्री सतह देखी ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित जिल्लाकै नक्साको टुप्पोमा बसेको मानब बस्तीमा बसोबास गर्ने छन्त्याल र दलित जातीकोे इतिहास,विभिन्न सांस्कृतिक चालचलनलाई पनि नजिकबाट अध्ययन गर्न समेत विभिन्न देशबाट पर्यटक पुग्ने गरेका छन् । गुर्जामा करिव २ सय ३० घरधुरीमा १२ सय जनसंख्या रहेको छ । प्राचिनकालमा मानवबस्तीको विस्तार संगै गुर्जामा रहेका तामाखानी, कार्ज ढुङ्गाको खानी,बहुमुल्य जडिबुटीको खोजीमा पुगेकाहरुको बसोबास गरेका थिए ।