धवलागिरी गाउँपालिकाद्धारा दुख व्यक्त

0
401

म्याग्दीको धवलागिरी गाउँपालिकाले गुर्जा हिमालको आधार शिविरमा हिमआधीँका कारण भएको दुर्घटनाप्रती दुख व्यक्त गरेको छ । गाउँपालिकाका अध्यक्ष थमसरा पुनले सोमबार शोक बक्तब्य जारी गरेर २०७५ असोज २४ गतेको हिमआँधीका कारण भएको दुर्घटनाप्रति दुख व्यक्त गर्नुभएको हो ।

शोक वक्तब्य मार्फत हिमआँधीमा परेर दिवंगत भएका ५ जना दक्षिण कोरीयाका नागरीक, गुर्जाका नेत्रबहादुर छन्त्याल सहित चार जना नेपालीहरुप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । हिमआँधीपछि वेपत्ता भएका आरोहीहरुको खोजी र उद्धारमा परिचालन हुनभएका स्थानीयबासी, सुरक्षाकर्मी, सम्बन्धित टे«कीङ एजेन्सी, हवाई कम्पनी लगायत सम्पूर्णमा गाउँपालिकाको तर्फबाट आभार प्रकट गर्नुभएको छ ।

साथै गुर्जा पश्चिम हिमाल आरोहणका लागि गएका पर्वतारोहीहरु सुरक्षित र शकुशल रहेको वक्तब्य मार्फत जानकारी गराइएको छ । बस्तीदेखि नजिकै रहेको हिमालमा पहिलो पटक आरोहणका लागि आएको समूह दुर्घटनामा परेकोमा गाउँपालिका परिवार चिन्तित भएको बक्तब्यमा उल्लेख छ ।

अध्यक्ष पुनले हिमआँधीलाई प्राकृतिक विपद्का कारण उत्पन्न दुर्घटनाको रुपमा लिन आग्रह गर्दै पर्यटन ब्यवसायी, सञ्चार जगत र अन्तराष्ट्रिय समुदायलाई अनुरोध गर्दै गुर्जा लगायत समग्र धवलागिरी गाउँपालिकाका पर्यटकीय स्थलहरुको विकासमा गाउँपालिकाको तर्फबाट पहल निरन्तर जारी रहने प्रतिवद्धता जनाउनुभएको छ ।धवलागिरीमा रहेका पर्यटीय स्थलहरुमा आवश्यक पूर्वाधार निर्माणका लागि सघाउन प्रदेश, संघीय सरकार, समुदाय र निजी क्षेत्रसंग हातेमालो गरेर अघि बढ्न अध्यक्ष पुनले अनुरोध गर्नुभएको छ ।