गुर्जा हिमाल आरोहण गर्न गएको विदेशीको समूह गत बिहीबार प्राकृतिक प्रकोपको चपेटामा पर्यो । पहिलोपटक आरोहण अनुमति पाएको म्याग्दीको गुर्जा हिमाल (७१९३ मिटर) आरोहणमा गएका पाँचजना दक्षिण कोरियाली आरोही र उनीहरुका चारजना नेपाली सहयोगी गरी नौजनाको प्रकोपमा परी ज्यानै गयो।

अनकन्टार क्षेत्रमा घटेको यो घटना बाहिर आउन झन्डै दुई दिन लाग्यो । घटना थाहा पाएपछि पनि उद्धार गर्न थप दुई दिन कुर्नुपर्यो । सिजनको बेला पदयात्रा क्षेत्रमा घटेको यो घटनाले समग्र पर्यटन क्षेत्र त्रसित त बनेको छ नै पदयात्रा क्षेत्रमा सहज सञ्चार सम्पर्क नहुँदाको कठिनाइलाई पनि यसले उजागर गरेको छ । पदयात्रा सञ्चालन गर्ने व्यवसायीहरु पदयात्रा क्षेत्रमा सञ्चार सम्पर्क स्थापित नहुँँदाको पीडा गुर्जा घटनाले पुष्टि गरेको बताउँछन्।

साहसिक पदयात्रामा हौसिएर आएका पर्यटक बस्ती छाड्नासाथ सञ्चार सम्पर्कविहीन हुनुपर्दाको परिणाम गुर्जाको घटनाले पुष्टि गरेको उनीहरुको भनाइ छ । अप्ठेरो परेको बेला सञ्चार सम्पर्क नहुँदा पदयात्रा क्षेत्रको जोखिम घटाउन नसकिएको व्यवसायी बताउँछन् । ‘साहसिक मानिने पदयात्रा जोखिम क्षेत्रमै हुने हो । बस्ती छाडेपछि कैयौं दिन अनकन्टार उकाली र ओरालीमा हिँड्नुपर्छ । त्यो बेला प्रभावकारी सञ्चार सम्पर्क जरुरी पर्छ,’ ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलमा प्रथम उपाध्यक्ष सुशीलराज पौडेल भन्छन्, ‘तर नेपालको पदयात्रा क्षेत्र पूरै भगवान भरोसामा चलिरहेको छ । कहाँ कतिबेला के हुन्छ भन्ने थाहा हुँदैन । बस्ती छाडेपछि पूरै सञ्चार सम्पर्क बिच्छेद हुन्छ।’

उनका अनुसार साहसिक मानिएका नेपालका अधिकांश पदमार्गमा बस्तीपछिको क्षेत्र सञ्चार सम्पर्कविहीन हुन्छन् । त्यसको परिणाम पदयात्रीले भोग्नुपर्छ । कैयौं दिन आफन्तबाट सम्पर्क विहीन भएर हिँड्नुपर्दाको अप्ठेरो पर्यटकले त बेहोरेका छन् नै बेलैमा सम्पर्क नहुँदा अप्ठेरो परेका पर्यटकले बेलैमा उद्धार नपाएर ज्यानै फाल्नुपर्ने अवस्था आउने गरेको उनले बताए।

सञ्चार सम्पर्क नहुँदा अप्ठेरो परेको बेला उद्धार र राहतमा समेत ढिलाइ हुने गरेको पौडेलले बताए । ‘घटना घटेको कति दिनसम्म बेखबर बस्नुपर्छ, त्यसको ज्वलन्त उदाहरण गुर्जाको घटना हो,’ पौडेलले भने, ‘सहज सञ्चार सम्पर्क भए भने अप्ठेरो परेको बेला बेलैमा उद्धार हुन्थ्यो । घाइतेले पनि बेलैमा उद्धार पाउँथे, उपचारै नपाएर ज्यान जाने घटना कम हुन सक्थे।’

तीन वर्षअघि यही बेला अन्नपूर्ण फेरोमा आँधी आँउदा झन्डै ५० जना पदयात्रीले ज्यान गुमाएका थिए । अन्नपूर्ण फेरोमा आँधीले क्षति पुर्याउँदाको अनुभव गरिएको प्रभावकारी सञ्चार सञ्जाल विस्तार अहिले पनि पुरानै अवस्थामा छ । अन्नपूर्ण फेरोको घटनाले ब्युँताएको सञ्चार सञ्जाल विस्तारको आवश्यकता अहिले सेलाएको छ । पदयात्रा क्षेत्रमा सञ्चार सञ्जाल विस्तार गर्न न त पर्यटन व्यवसायी तातेका छन, न सरकार नै । पदयात्रा जाने पर्यटकसँग विभिन्न नाममा शुल्क लिए पनि पदयात्रा क्षेत्रमा सञ्चार सञ्जाल विस्तार गर्ने काम कहिल्यै प्राथमिकतामा नपरेको व्यवसायी नै बताउँछन्।

अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाँदा विदेशी पर्यटकले पदयात्री सूचना व्यावस्थापन प्रणाली (टिम्स), अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को अनुमतिबापत शुल्क तिर्नुपर्छ । अर्धनिषेधित क्षेत्रमा जाँदा अतिरिक्त शुल्क तिर्नुपर्छ । तर, पर्यटकका लागि आवश्यक आधारभूत पूर्वाधार समेत नभएको उनले बताए । ‘पदयात्रीले सबै ठाउँमा स्याटेलाइट फोन लैजान सक्दैनन् । स्याटेलाइट फोन निकै नै महँगो पर्छ । खर्चिलो भएकोले जो कोहीले स्याटेलाइट फोन लैजाने आँट गर्दैनन्,’ पौडेल भन्छन्, ‘अरु सम्पर्क कतै हुँदैन ।’ पदमार्गका ठाउँठाउँमा पर्यटक सूचना केन्द्र, मौसम अनुमान केन्द्र, टेलिफोन टावर आवश्यक रहेको उनी बताउँछन् । ‘बस्ती छुट्यो, सम्पर्क पनि टुट्यो । पदमार्गको अवस्था यस्तै छ,’ उनले भने, ‘अप्ठेरो परेको खण्डमा थाहै हुँदैन।’

नेपाल आएका विदेशी पर्यटकमध्ये करिब ६० प्रतिशत कुनै न कुनै क्षेत्रको पदयात्रामा जान्छन् । यस्तै अवस्था रहे पर्वतीय पर्यटन नै धराशयी हुने अवस्था रहेको उनले सुनाए । भोगेपछि मात्र थाहा पाउने अवस्था रहेको उनले बताए । ‘अहिलेको लथालिंग अवस्थाले नेपालको पर्वतीय पर्यटन कत्तिको अस्तव्यस्त बनेको छ भन्ने पुष्टि गरेको छ,’ पौडेलले भने।

नेपाल ट्रेकिङ, ट्राभल, र्याफ्टिङ, एयरलाइन्स मजदुर युनियन (युनिट्राभ)का गण्डकी प्रदेशका अध्यक्ष विजय केसीका अनुसार धवलागिरि पदमार्ग क्षेत्रमा अधिकांश ठाउँमा सञ्चार सम्पर्क हुँदैन । त्यस्तै अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गमा दोभान कटेपछि आधार शिविरि नपुगेसम्म सम्पर्क हुँदैन । मनाङको टंकी पार गरेपछि पर्सिपल्ट मुक्तिनाथ क्षेत्र पुगेपछि बल्ल सम्पर्क हुन्छ । बीचको दुई दिन पूरै सम्पर्कविहीन हुनुपर्छ । त्यस्तै अवस्था मनास्लुमा पनि छ । मनास्लु क्षेत्रको जगतपछि सम्पर्क हुँदैन । नार फु क्षेत्रमा झनै सम्पर्क हुँदैन । ‘साहसिक ठानिएका धेरै पदमार्गका फोन नै लाग्दैन । होटल पुगेपछि महँगो शुल्क तिरेर स्याटेलाइट फोनबाट सम्पर्क गर्नेबाहेक विकल्प छैन,’ उनले भने, ‘पदमार्गमा अप्ठेरो पर्दा उद्धार नपाउने अवस्था छ।’

गुर्जाको घटनाबाट जोगिएका गाइड लाक्पा शेर्पाका अनुसार बस्तीपछि उक्त क्षेत्रमा कतै सम्पर्क हुँदैथ्यो । त्यसले गर्दा पनि आरोही अप्ठेरोमा परेको बारेमा पनि थाहा नपाएको उनले बताए । ‘हामीबाट छुटेको समूहका एकजना सदस्य बेलैमा नफर्केपछि बल्ल मनमा चिसो पस्यो । कतै सम्पर्क नहुने भएपछि भोलिपल्ट खोजी गर्न जाँदा बल्ल घटनाबारे थाहा भयो,’ शेर्पाले भने, ‘कम्तीमा त्यसक्षेत्रमा सञ्चार सम्पर्क हुन्थ्यो भने बेलैमा जानकारी पाउन सकिन्थ्यो ।’ सरकारले पदयात्रा क्षेत्र र आरोहण स्वीकृत गरेको क्षेत्रमा कम्तीमा सञ्चार सम्पर्क स्थापना गरिदिने हो भने अप्ठेरो परेको बेला सहज हुने शेर्पाको भनाइ छ।

‘मैले झन्डै दशकदेखि पदयात्रीलाई घुमाउँदै आएको छु । सबैजसो पदमार्गमा बस्तीपछि सम्पर्कविहीन हुनुपर्छ,’ उनले भने, ‘कम्तीमा ठाउँठाउँमा सम्पर्क हुने गरी सञ्चार उपकरण राखिदिने हो भने बेलैमा उद्धार र राहत पाइन्छ । ज्यानै जाने बेलासम्म पनि कतै थाहा नहुने अवस्था छ । अनकन्टार ठाउँमा हिँड्ने हो, सम्पर्क कतै हुँदैन, केही अप्ठेरो पर्यो भने ज्यानै जान्छ।’