म्याग्दीको बेनी नगरपालिका २ मा अवस्थित पर्यटकीय,जैविक र सांस्कृतिक सम्भावनाले युक्त ऐतिहाँसिक र पुरातात्विक स्थल ज्यामरुककोट सरकारी उपेक्षा र स्थानीयको उदासिनताका कारण ओझेलमा परेको छ ।सदरमुकाम बेनीबजारदेखि करिव ४ किलोमिटरको दुरीमा रहेको ज्यामरुककोटमा पर्यटकलाई आकर्षित गर्नसक्ने प्रशस्त सम्भावनाहरु रहेका छन् ।

ज्यामरुककोटको कोटडाँडोबाट धौलागिरि,निलगिरि,अन्नपूर्ण,माछापुच्छ«े लगाएत १५ वटा भन्दा बढि हिमश्रृङखलाहरुको दृश्यावलोकन, धौलागिरि र गण्डकी क्षेत्रका ३० वटा भन्दा बढि गाउँहरु, सुर्योदय, ग्रामिण सौन्दर्य र सदरमुकाम बेनीबजारका साथै म्याग्दी नदी र कालीगण्डकीको नागबेली दृश्य देख्न सकिन्छ ।

ज्यामरुककोटको इतिहाँस १५ औं शताव्दीको विरासतसंग जोडिएको छ । १५औं शताव्दीको प्रारम्भसंगै थापाहरुले राज्य गर्नथाले पछि अस्तित्वमा आएको ज्यामरुककोटमा रहेको (खड्गभवानी कोत)का दुर्लभ हातहतियार र अभिलेखहरुको यसको ऐतिहाँसिक महत्वलाई स्पष्टसंग बुझाएका छन् । सो कोतमा ५ सय ७४ वर्ष पहिलेका मल्ल र थापा राजाहरुका अभिलेख रहेका छन् ।

ज्यामरुककोटमा विक्रमसम्वत १२४६देखि १५४५ सम्म थापाहरुले राज्य गरेका र १५४५को भदौ महिनामा थापाहरुको पुख्यौली थलो मानिएको ताकम डिम्वमल्लले कव्जागरेपछि ज्यामरुककोट, पुलाचौर, कुहू र राखुका थापाराजाहरुले आफ्नो खाइपाइआएको राज्य छोडेर मल्ल राजाहरुका मन्त्री र सेना वनेका र थापा राज्यको अन्त्यभएको इतिहाँसमा उल्लेख भएको बेनी नगरपालिका २ ज्यामरुककोटका नवनिर्वा्चित वडाअध्यक्ष हिरावहादुर थापाले बताउनुभयो ।

स्थानीय निकाय लामो समयसम्म जनप्रतिनिधि विहीन रहेकाले सम्भावनाहरु हुँदाहुँदै पनि विकास हुन नसकेको बताउँदै बेनी नगरपालिका २ ज्यामरुककोटका नवनिर्वा्चित वडा अध्यक्ष हिरावहादुर थापाले आफ्नो पहिलो प्राथमिकता यस क्षेत्रका पर्यटकीय पर्यटकीय स्थलहरुको विकास गर्ने रहेको बताउनुभयो ।‘खवराको लम्वीहिललाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने मेरो पहिलो प्राथमिकता हो,’ थापाले भन्नुभयो ‘त्योसंगै ऐतिहाँसिक,पुरातात्विक र धार्मिक महत्वको खड्गभवानी कोतमा पनि पूर्वाधार विकास गरी पर्यटकीय क्षेत्र बनाउने पहल हुने छ ।’

करिब ५ रोपनी क्षेत्रफलमा रहेको सो स्थानमा थापा र मल्ल राजाहरुको ताम्रपत्रमा अंकित इतिहाँस,तोप , खुडाँ,तरवार लगाएतका हातहतियार, प्राचिन शिला र इट्टा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा अहिले अस्तव्यस्त अवस्थामा रहेका छन् ।कोटडाँडोसम्म मोटरबाटोको सुविधा हुने र त्यहाँ एउटा भ्यू टावर निर्माण गरेर त्यस क्षेत्रको पर्यटकीय र प्राकृतिक सौन्दर्यको बारेमा प्रचारप्रसार गर्न सक्ने हो भने अन्नपूर्ण र धौलागिरि क्षेत्रको भ्रमणका लागि बेनी आएका २५ प्रतिशत पर्यटकहरु त्यहाँ पुग्न सक्ने स्थानीय बुद्धिजीवि एवम् खड्गभवानी कोत संरक्षण एवम् गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताउनुभयो ।

‘भकुण्डेसम्म पुगेको मोटरबाटोलाई भकुण्डेदेखि करिव १ कि.मि दुरीमा रहेको कोटडाँडोसम्म पु¥याउने र २÷४ वटा स्तरीय होटल एवम् रेष्टुरेण्ट निर्माण गर्न सक्ने हो भने सयौं विदेशी पर्यटकहरु यहाँबाट हिमाल,नदी,गाउँ र सुर्योदयको अवलोकन गर्न आउँन सक्छन’ घिमिरेले भन्नुभयो ।

त्यसैगरी ज्यामरुककोट जैविक विविधताले पनि सम्पन्न रहेको छ । ‘आग्र्या्निक खेती, ठूलाखोलाबाट ल्याइएको चीसो पानी, विभिन्न पंक्षी, मह, भटमास, कालोदाल, स्थानीय जातका खसी,कुखुरा र हाँस, चिबे, कालिज र तित्रो, बनढुकुर र बन कुखुरो, तरुल,भ्याकुर र शखरखण्ड यहाँ प्रशस्त मात्रामा पाइन्छन् । जै,कोदोबाट बनाइने विभिन्न परिकारहरुले यहाँको पहिचान झल्काउँछन्’ बेनी नगरपालिका २ ज्यामरुककोटका नवनिर्वा्चित वडा अध्यक्ष हिरावहादुर थापाले बताउनुभयो ।

ब्राह्मण,क्षेत्री,ठकुरी,कुवँर,चर्मकार,विक,दर्जी,गुरुङ,मगर लगाएतका जातजातिहरुको बसोबास रहेको यो ठाउँ सांस्कृतिक विविधताले समेत युक्त रहेको छ । ज्यामरुककोटको गौश्वारा गाउँमा अवस्थित राधाकृष्ण मन्दिरमा प्रत्येक वर्ष कृष्णजन्माष्टमी पर्वमा लगाइने मेला यस क्षेत्रको प्रमुख मेला हो । ५ दिनसम्म संचालन हुने यो मेलामा म्याग्दी,बागलुङ,पर्वत,स्याङ्जा,काँस्की लगाएतका जिल्लाहरुबाट खेलाडी र कलाकारहरु आउने गर्दछन् ।

विभिन्न जातजातिले आफ्नो जातीय पहिचानका झलकहरु देखाउने,नृत्यहरु प्रस्तुत गर्ने र सामाजिक सद्भावलाई कायम गर्ने खालका कार्यक्रमहरु संचालन गर्ने गरको राधाकृष्ण युवा क्लवका सल्लाहाकार कृष्णवहादुर कार्कीले बताउनुभयो ।
ज्यामरुककोटको खड्गभवानी कोतमा रहेका पुराना हातहतियारहरुको उचित संरक्षण हुन नसक्दा खुँडा, खुकुरी , भाला, तरवार , ढाल लगाएतका औजारहरुमा खिया लागेको छ भने कोट परिसर युवायुवतीहरुको क्रिडास्थल र केही टाँठावाठाहरुको व्यक्तिगत सम्पत्तिजस्तै वनेको स्थानीयवासिन्दा यामवहादुर कार्कीले बताउनुभयो ।

जिल्ला सदरमुकाम बेनीबजारदेखि ४ किलोमिटरको दुरीमा रहेको भएपनि कसैले ध्यान दिन नसक्दा पश्चिम नेपालकै एक ऐतिहाँसिक स्थल गुमनाम रहेको अर्जन मावि भकुण्डेका प्रधानअध्यापक शिवकुमार खत्रीले बताउनुभयो । पर्यटकीय महत्वले समेत उपयुक्त मानिएको खड्ग भवानी मन्दिर परिसरमा केही भौतिक पुर्वाधारहरुको निर्माण गर्नेहो भने वर्षेनी सयौं पर्यटकहरु त्यहाँ पुग्न सक्ने सम्भावना रहँदारहँदै पनि स्थानीय र सरोकारवाला निकायले कुनै पहल गर्न नसकेको स्थानीय वुद्धिजीविहरुले वताएका छन् ।