शाखा अधिकृतको नतिजा सार्वजनिक,म्याग्दीबाट ३ जना छनौट

0

म्याग्दीलाई लाहुरेको जिल्ला भनेर चिनिन्छ । बर्षेनी सयौं यूवा रोजगारीको सिलसिलामा विदेशीन्छन्। माध्यामिक तहको शिक्षा पुरा गरेपछि यूवाहरुको पहिलो रोजाई विदेशमा शिक्षासंगै रोजगारीको खोजी हुन्छ । यूरोप सहित ठुला देशमा रोजगारीसंगै खाडीमुलुकमा रोजागरीको खोजमा जाने यूवाहरुबाटै बर्षेनी जिल्लामा चारबर्षको हाराहारीमा रेमिट्यान्स भित्रिन्छ ।ग्रामिण क्षेत्रमा चाडपर्व बाहेक अन्य समय सुनसान नै हुन्छ । बैदेशिक रोजगारमा यूवाको आर्कषणले नेपालको निजामति क्षेत्रमा म्याग्देलीको उपस्थिती निकै न्यून छ ।

छिमेकी जिल्ला बागलुङ र पर्वतबाट निजामति क्षेत्रको सचिवस्तरसम्मको पदमा पुगेपनि जिल्लामा सरकारी जागिर प्रतिको आर्कषण कम देखिने गरेको अवस्थामा पछिल्लो समय म्याग्देलीले समेत निजामित सेवामा छनौट हुन थालेपछि सरकारी सेवाप्रतिको आर्कषण देखिन थालेको छ । खरदार, नायव सुब्वा देखी शाखा अधिकृतमा छनौट हुन थालेका छन् । लोकसेवा आयोगले लिर्एको शाखा अधिकृतको परीक्षाको असोज २९ गते सार्वजनिक भएको नतिजामा म्याग्दीका तीन जना छनौट भएपछि जिल्लामा सरकारी जागिरमा आर्कषित गर्न स्थानीय तहले योजना बनाउनुपर्ने बहस सुरु भएको छ ।

१६८ सिटमा खुल्लातर्फ बेनी नगरपालिका ६ अर्थुङ्गे का नगेन्द्र सुबेदी, बेनपा ६ कै रामप्रसाद पौडेल र आदिबासी जनजातिको कोटाबाट बेनपा १ रत्नेचौरका विकाश थापामगर छनौट भएका छन् ।शाखाअधिकृतमा छनौट भएका तीनजनै राजपत्र अनङ्कित प्रथम श्रेणी, नायब सुब्बा मा कार्यरत रहेका थिए । ‘मेहनत गरे सफल हुन सकिन्छ,‘सरकारी जागिर प्रतिको आर्कषण बढाउन सकेमा म्याग्दीबाट धेरैको प्रतिनिधित्व हुन्छ’ शाखा अधिकृत सुबेदीले बेनीअनलाइनलाई भने ।

उनले मावितहमै विद्यार्थीले विदेश जाने योजना बनाउने गरेको र गाउँघरमा विदेशमा गएर आएकाको आर्थिक परिवर्तन देखेर अभिभावले समेत विदेश नै रोज्ने गरेकाले पनि सरकारी सेवामा म्याग्दीको उपस्थिति कमजोर भएको बताए । उनले विदेशमोहलाई त्याग्ने गरी जिल्लमा योजना बनाएमा म्याग्दीबाट सरकारी सेवामा प्रवेश गरेकाले रचनात्मक सहयोग गर्न सकिने बताए ।

यता सरकारी सेवामा म्याग्दीको उपस्थिती कमजोर हुदाँ जिल्लाको सम्रग विकासमा असर गरेको प्राज्ञिक ब्यक्ति किरण सापकोटाले बताए । सरकारी सेवाको माथिल्लो तहमा पुगेमा जिल्लामा विकास निर्माण सहित बजेट विनियोजनमा समेत सहज हुने बताउँदै सापकोटाले जिल्ला तथा स्थानीयतहमा नियमित लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्नुपर्ने बताए । राजनीतिक दलका नेताहरुले भनेजस्तै बजेट नआउनुमा कर्मचारीको समेत भुमिका रहेकाले नितिगत कार्यान्यन तहमा कर्मचारीको उपस्थिती हुन सकेमा जिल्लाको विकासमा सघाउ पुग्ने सापकोटाको भनाई छ ।