गाउँघरमा एउटा राँगोको मुल्य कति पर्ला ? ३० हजार, ५० हजार तर कल्पनाभन्दा धेरै १ लाख ८० हजारमा राँगोको मुल्य परेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतीको एतिँकासिक भगवती कोतमन्दिरमा महाअष्टमीको दिनमा सरकारी राँगो आफ्नो पक्षमा पार्न ५० हजारबाट सुरु भएको बडीबढाउ पिप्ले मौवाफाँटका किरण खत्रीले अन्तिम मुल्य तिर्ने तयार भएका हुन् ।

गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारी, वडा अध्यक्ष रिम कटुवाल सहितको उपस्थितीमा भगवती, पिप्ले र मौवाफाँट तथा आसपासका क्षेत्रबाट पुगेका सर्वसाधारणको उत्साहजनक उपस्थितीमा खत्रीको नाममा शिव भण्डारीले अन्तिम मुल्य तिर्न तयार भएका थिए । भगवती कोतमन्दिरमा गतबर्ष ८५ हजारमा मार हानिएका राँगाको मुल्य यसबर्ष दोब्वर भन्दा बढीमा खरिद गरिएको पुजा ब्यवस्थापन समितिले जनाएको छ ।

महाअष्टमीको दिनको रातीसम्म सरकारी राँगो आफ्नो पक्षमा पार्ने होडबाजी नै चलेपनि अन्तिममा बैदेशिक रोजगारीबाट फर्किएका खत्रीको मुल्यलाई कसैले उछिन्न सकेनन् । ‘यो अहिलेसम्मकै सर्वाधिक मुल्य हो,‘आफ्नो मनोकामना पुरा गर्न मार हान्ने चलन छ’ स्थानीय यूवा प्रविणकुमार मल्लले बेनीअनलाइनलाई भने । उनले १ लाख १५ हजार सम्म विगतमा समेत मार हानिएको भएपनि यसबर्षको मुल्य कल्पना भन्दा धेरै भएको बताए ।

भगवती मन्दिरमा महाअष्टमीके दिनमा बली दिने र महानमवीको दिनमा मार हान्ने चलन छ। महानवमीको दिनमा भगवती कोतमन्दिरमा हर्षबढाइँका साथै कोतपूजा र निशानपूजा पनि गरिन्छ । कोतमन्दिरको पुजा ब्यवस्थापनको जिम्मा वडाले लिएको छ । सरकारी राँगो तथा अन्य बलीबाट प्राप्त भएको आर्थिकले मन्दिरको पूजा ब्यवस्थापन सहित विविध कार्य गरिन्छ । यता धवलागिरी गाउँपालिकाको ताकमकोतमा समेत सरकारी राँगाको बली दिइन्छ ।

राँगो: file photo