सन्तोष गौतमधवलागिरी गाउँपालिका ७ स्थित ऐतिहाँसिक ताकमकोतको पुननिर्माणका लागि सञ्चालित अभियानमा चन्दा सहयोग गर्ने सहयोगदाताहरुलाई महानवमी पर्वको अवसरमा बिहीबार सम्मान गरिएको छ । हालसम्म स्वदेश तथा बिदेशमा करिब २५ लाख रुपैया सहयोग घोषणा भएको वडा अध्यक्ष कलानिधी सुवेदीले बताए । अभियानमा धारापानीका नरबहादुर थापाले हालसम्म सबैभन्दा बढी तीन लाख ५५ हजार ५५५ रुपैया सहयोग गरेका छन् । थापा ताकमकोतका पूर्व पहलमान हुन् ।

प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापाले चन्दादाताहरुलाई सम्मानपछि आयोजित कार्यक्रममा ताकमकोतलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न संघीय र प्रदेश सरकारबाट बजेट ब्यवस्थापन गराउन सक्रियताका साथ पहल गर्ने बताए ।बेनी–दरवाङ–ढोरपाटन सडकलाई अन्तरप्रादेशिक बनाउने र ताकमकोत मालिका हुदै जलजला जोड्ने पदमार्ग सञ्चालनका लागि पहल गर्ने बताए ।

ऐतिहासिक संरचनालाई असर नगर्ने गरी कोतको जगन्नाथ मन्दिर पुननिर्माणका लागि असी लाख रुपैया लागत अनुमान गरिएको पुननिर्माण समितिका सहसचिव तेजेन्द्र थापाले बताए । धारापानीका तेजेन्द्र थापाको अध्यक्षतामा गठन भएको पुननिर्माण समितिले मंसिर २८ गते शिलन्यास गर्ने तयारी गरेको छ ।धवलागिरी गाउँपालिकाका उपाध्यक्ष छन्त्यालले ताकमकोतलाइ धार्किक पर्यटकीय स्थलको रुपमा विकास गराउन पालिका, प्रदेश र संघीय सरकारबाट सक्दो सहयोग हुने बताए ।

भक्तजनको भिड

ताकमकोतमा महानवमी पर्वको अवसरमा पुजाआजा गर्नका लागि आएका भक्तजनहरुको भिड लागेको थियो । ताकमकोतमा पुजाआजा र भाकल गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास रहेको पुजारी हेमनाथ पौडेलले बताए । एक हजार जना भन्दा बढी भक्तजनले पुजाआजा र दर्शन गरेका छन् ।

बाईसे चौविसे राज्यका समयमा स्थापना भएको ताकमकोत ऐतिहासिक र धार्मिक मात्र नभएर पर्यटकीय हिसाबले समेत सम्भावनायुक्त मानिन्छ । करिब दुई हजार ५०० मिटरको उचाईमा अवस्थित ताकमकोत परिसरबाट गुर्जा, धौलागिरि, अन्नपूर्ण, निलगिरि, माछापुच्छ्रे हिमालको साथै सुर्योदयको दृष्य अवलोकन गर्न सकिन्छ ।

दैनिक पुजाआजा हुने ताकमकोतमा वडादसैको समयमा बिशेष मेला लाग्छ । भाकल पुरा भएमा परेवा उढाउने, नरिवल फुटाउने र बोकाको कोत परिसरमा रहेका ओदान देवतालाइ बली चढाउने चलन छ । भाकल पुरा होस भनेर भक्तजनहरुले कोतको आलम थानमा पञ्चबली चढाउने गर्छन् ।

महानवमी पर्वको अवसरमा मच्छिमका छन्त्याल र काफलडाँडाका मगर समुदायले पुख्यौली नृत्य प्रस्तुत गर्छन् । नवमीका दिन मच्छिमका छन्त्यालले ठडाएको आलम दशमीका दिन काफलडाडाका मगर समुदायले भेडाको पाठो बली चढाएर झिकेर जगन्नाथ मन्दिर भित्र राख्ने गर्छन् ।जगन्नाथ देवताको मुर्ती रहेको मन्दिरभित्र ऐतिहासिक हातहतियार, नौमुरी चामलको भात पकाउन सकिने क्षमताको तामाका ताउला लगायत सामग्रीहरु रहेका छन् । रिखार राष्ट्रिय दैनिक पत्रिका