गाउँघर सम्झिएर बालगृहमै दसैं(भिडियो)

0
318

बेनी नगरपालिका–२ ज्यामरुककोटका कृष्ण नेपालीले पाँचबर्षदेखि सदरमुकाम बेनीमा रहेको बालगृहमा दसैं मनाउँदै आएका छन् । नेपाली जन्मिएको गाउँघरमा दसैंको रौनक छाएपनि उनलाई बालगृह नै घरजस्तै लाग्छ । कलिलै उमेरमा अभिभावक गुमाएपछि बालगृहमा बस्दै आएका नेपालीले चाडपर्व, दशैंतिहारमा घर जाउ भने आफन्त केही छैनन् । विस्तारै उमेर बढ्दै जान थालेपछि चाडपर्वको महत्वका बारेमा जानकारी हुन थालेको उनको भनाई छ ।

बालगृहमै बस्ने धवलागिरी गाउँपालिका १ गुर्जाका ९ बर्षिय निराजन छन्त्याल करिव ४ महिना अगाडी आएका हुन् ।उनलाई चाडपर्वको महत्वका बारेमा कुनै पत्तौ छैन् ।नयाँ लुगा हातमा परेपछि खुसी भएका छन्त्याललाई न चाडपर्वको महत्व थाहा छ ।मंगला गाउँपालिका–२ बावियाचौर सल्यानकी करिना कार्कीर बेनपा–१० की रोजी पौडेलले दर्सैंमा गाउँघरमै रमाइलो हुने बताउँछन् ।दसैं गाउँमै गएर मनाउने चाहना भएपनि उनीहरुलाई सम्झेर भेट्न आउने मान्छे नै छैनन् ।

अभिभावको मृत्यु भएपछि बिचल्लीमा परेका बालबालिकाले दसैंमा बालगृहमै नयाँ लुगा, मिठो खाना खाएर मनाउने गरेका छन् । अभिभावकको मृत्यु भएपछि कलिलै उमेरमा बालगृहमा प्रवेश गरेका बालबालिकाको बुबाआमा नै सावित्री थापामगर हुन् । चाडपर्वका बारेमा आधारभुत तहमा अध्ययरत बालबालिकाले उनीमार्फत नै थाहा पाउँछन् ।

‘दसैंका बारेमा थाहा छैन्,‘आमाबुबा हुनुहुन्न’ अन्नपूर्ण गाउँपालिका–३ दानाका रुपेश राम्जालीले भने ।रुपेश र रुसन एउटै घरमा दुई दाजुभाई हुन् ।दुईभाई नै बालगृहमा चाडपर्व मनाउँछन् । बालगृहमा रहेका १२ जना बालबालिका मध्ये माध्यामिक तहमा अध्ययरत केहीले दसैंमा आमाबुबाको धेरै याद आउने बताउँछन् । कलिलै उमेरमा अभिभावकको मृत्यु भएपनि अहिले याद आउने बालबालिकाको भनाई छ । बालगृहकी अभिभावक सावित्री थापामगरले चाडपर्वमा आफ्नै सन्तान जस्तै मायाँ गर्ने गरेको बताउँछिन् ।

‘मेरै छोराछोरी हुन्,‘उनीहरुलाई मिठो खाना खुवाउने गरेको छु’ थापाले भनिन् ।उनले बालगृह ब्यवस्थापनले चाडपर्वमा मासु, लत्ताकपडा उपलब्ध गराउने गरेको बताईन्। ‘अभिभावक गुमाएको पीडालाई बिर्साउने प्रयास गरेको छु,‘चाडपर्वमा आफन्तकोमा जान खोज्छन्’ थापा मगरले भनिन् । आश्रित बालबालिकालाई संघसंस्था र ब्यक्तिगत रुपमा समेत सहयोग गर्ने गरिएको छ ।

बालगृहका केन्द्र प्रमुख सुजन केसीले अन्य समयमा आउने आफन्त चाडपर्वमा वास्ता नगर्ने गरेको बताए । ‘चाडपर्वमा सम्झने आफन्त नै छैनन्,‘उनीहरुलाई बालगृह नै घर हो’ केसीले भने । उनका अनुसार दशैंको दिनमा टिका, आर्शिवाद थाप्ने गरेको बताए । अभिभावक गुमाएका बालबालिकालाई अभिभावकको कुनै कमी नहुन आवश्यकता अनुसार ब्यवस्था गरिएको छ ।