छोराछोरी घरमा,आमाको दसैं बृद्धआश्रममा(भिडियो)

0
261

कैलाली जिल्लाको तुला गिरीको धेरै दसैं बेनी नगरपालिका–९ गलेश्वरधाममा अवस्थित बृद्धआश्रममै मनाईन् । श्रीमानसंगै कैलालीबाट आएकी उनले श्रीमानलाई आश्रममै गुमाईन् । घरमा छोराबुहारीले दसैंको टिकाको तयारी गरिरहेको समेत उनलाई कुनै चासो छैन् ।

आफ्नो पुरानो नाम कलावती सापकोटालाई भगवानलाई चढाएर पुरानो नाम र परिचय नै परिवर्तन गरी उनले आश्रममा जिन्दगी विताइरहेकी तुलाले दशैंतिहार जस्ता मुख्य पर्वलाई कालिगण्डकी नदीमै बगाइदिएको बताउँछिन् ।

तुलाजस्तै दुरपती, नारायणीले गलेश्वर मन्दिरमा मुख्य पुजारीको हातबाट टिका लगाएर दसैं मनाउने योजना बनाएका छन् । गृहस्थी जीवन त्यागेर आश्रममा पुगेका बृद्धबृद्धालाई चाडपर्वको कुनै चासो छैन् ।घरमा छोराबुहारी भएपनि आश्रममा जीवन विताउनुपरेको बाध्यतासँगै तिज, दशैंतिहार र मातातीर्थ औंसीमा मन थामिदैन् ।आफन्त, इष्टमित्र, घरपरिवार एक आपसमा बसेर मनाएका दसैंको सम्झनाले बेलाबेलमा सताउने गरेको बताउँछन् । रहर नभई बाध्यताले आश्रममा आएपनि आफ्नो छोराछोरीको इज्जतका लागी पुराना दिनलाई विर्सने प्रयास गरेको जेष्ठ नागरिकको भनाई छ ।

दसैंतिहार जस्ता पर्व आफ्नो लागी नभएको बताईन् ।आश्रमभित्र बाल्यअवस्थामै श्रीमानको मृत्यु भएपछि घरपरिवारबाट बाहिरिएकाले दसैंलाई परिवार भएकाहरुको पर्वको रुपमा लिन्छन्।डेढ दशक देखी आश्रममा बस्दै आएकी उनले टीका टालो गर्दा निकै रमाइलो हुने विगतका दिनको सम्झना बेलाबेलामा आउने गरेको बताईन् । आश्रममा घरपरिवार भएका करिव १० जना रहेको गलेश्वर अन्नदान आश्रमका सचिव शिव सुबेदीले बताए ।

उनले आश्रममा आएका केही बृद्धबृद्धाले लामो समयपछि खोजी गदै आउँदा समेत फर्किदैनन् । छोराबुहारी भएकाले छोराभन्दा धेरै बुहारीको गुनासो गर्ने गरेका छन् ।आश्रममा करिव ५५ जना बृद्धबृद्धा रहेका छन् । आफ्ना छोराछोरी भएपनि समाजमा गलत सन्देश जान सक्ने भन्दै लुकाउने गरेको सुबेदीको भनाई छ। उनले चाडपर्वमा फोनबाटै भएपनि सम्झिएमा खुसी हुने बताए । पर्वतकी ओमकुमारी लामिछाने यसबर्ष घरमा टिका लगाउन गएकी छन् ।

चाडपर्वमा केही दिनलाई लिन आउनेहरु पुनः आश्रममै फर्किने गरेका छन् । आश्रममा बसोबास गर्ने बृद्धबृद्धालाई रेखदेख र सरसफाईका लागि कर्मचारी समेत खटाइएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष भीमनाथ पराजुलीले बताए । मुक्तिनाथ मन्दिरको प्रवेशद्धार समेत मानिने गलेश्वरमा बसोबास गर्ने जेष्ठ नागरिकलाई विभिन्न क्षेत्रबाट आएका तिर्थयात्रीका साथै ब्यक्तिगत तथा संस्थागत रुपमै सहयोग गर्ने गरेका छन् । आश्रममा निशुल्क भोजनको सुविधा समेत छ ।