म्याग्दीको ग्रामिण क्षेत्रमा दसैंको रौनकतासंगै किसानहरुलाई धान काट्ने चटारो भएको छ । दसैं मनाउन घरमा पुगेका भेटघाटसंगै खेतमा धान काट्न ब्यस्त देखिएका छन् । जेठ असारममा पर्याप्त पानी पर्दा रोपाइँ छिटै भएको र यसबर्ष कात्तिकमा दसैं परेकाले पनि किसानलाई चाडपर्वसंगै खेतीपातीले ब्यस्तता बढाएको हो ।

चाडपर्वको फुर्सद मिलाएर धान काट्ने सुरु गरिएको धवलागिरी गाउँपालिका ७ ताकमका जीवन पौडेलले बेनीअनलाइनलाई बताए । ‘दसैं मनाउन घरमा आएको मौका छोपे,‘गाउँमा अन्नबाली भित्राउन सुरु भएको छ’ पौडेलले भने ।ताकम आसपासका क्षेत्रमा किसान दसैंको टिकासंगै खेतबारीमा देखिन्छन् ।बर्ष दिन भरीमा रमाउने चाड अनी बर्ष दिनै खानु पर्ने बालीको समय एकैपटक परेको ताकमकै प्रकाश सुबेदी बताउँछन् । ‘सधै घरमा आउन पाइदैन्,‘विदाको समयमै धान काट्न सुरु गरिएको छ’ सुबेदीले भने। उनले धान काट्ने र धान झा्ने एकैपटक भएकाले गाउँमा चाडपर्वमा टिका लगाउने बाहेक केही नभएको बताए ।

उनले गाउँमा ज्यालामा काम गर्ने पाउनै मुस्किल भएकाले पनि विहानै देखी खेतबारीमा समय दिनुपरेको बताए।बेनी नगरपालिका, मंगला, मालिका गाउँपालिकका खेतमा समेत धान भित्राउन सुरु गरिएको छ। रोजगारी, शिक्षा लगाएत विभिन्न कारणले गाउँबाट बाहिरिएका यूवाहरु चाडपर्वमै रमाइलो गर्ने,साथी भाई भेट्ने मान्यजनको हातबाट टिका थाप्न जाने समयमा खेतको अन्न पनि भित्राउनु पर्ने बाध्यता रहेको बताउँछन् ।

दसैंको तेस्रो दिनपनि धान भित्राउन ब्यस्त रहेका किसानले तिहार अगाडी खेतबाट धन भित्राइसक्ने बताइएको छ । जिल्लाको विभिन्न ठाउँमा गरिएको ३८ सय ९७.५ हेक्टर क्षेत्रमा गरिएको धान खेतीबाट १२ हजार ७ सय ३ मेट्रिक टन धान उत्पादन हुने कृषि ज्ञान केन्द्रले जनाएके छ । मौसम अनुकुल, समयमै बर्षा,गोडमेल लगाएतका कारण वर्षेबालीहरु प्रायः सबैको उत्पानमा वृद्धिको अनुमान समेत गरिएको छ ।एक हेक्टरमा ८ मेट्रिक टन धान उत्पादन हुनुपर्नेमा म्याग्दीमा ३.१० मेट्रिक टन उत्पादन हुने गरेको कृषि कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

धान उत्पादन बृद्धि गर्न माथिल्लो क्षेत्रमा छम्रुङ्ग, लुम्ले तीन जात लगायतका धानबाली लगाउनुपर्छ भने मध्य पहाडी भेगमा खुमलदस, माछापुच्छ«े, दर्माली आँगाजस्ता जातका धान सिफारिस गर्ने गरिएको छ। त्यस्तै पहाडी (औल) क्षेत्रमा गुडुरा, गौरिया एक्ले, जेठोबुढो, मार्सी, लगाएतका धान लगाउने गरिएको छ । बेनी नगरपालिका, मंगला, मालिका, धौलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा धान खेती हुने गरेको छ ।

उच्च हिमाली क्षेत्रका बासिन्दाले अन्य अन्नबाली उत्पादन गर्ने भएपनि चामल आयात गर्ने गरेका छन्। ग्रामिण क्षेत्रमा समेत यसबर्ष धान उत्पादनबाट उत्साहित भएको कृषकले बताएका छन् ।जिल्लामा कुल जनसंख्याको अनुपातमा १२ सय मेट्रिकटन खाद्यबाली आयात गर्ने गरिएको छ । ग्रामिण क्षेत्रका यूवाहरू धमाधम विदेश पलायन, बसाईसराईका कारण खेतीयोग्य जमिन समेत प्रयोगविहिन अवस्थामा रहेकाले पनि सिचाई सहित खेतीका लागि प्रोत्साहन गरे उत्पादनमा बढे बृद्धि गर्न सकिने स्थानीय तहमा रहेका कृषि शाखाले जनाएका छन्।