मुस्ताङ भ्रमण गर्ने आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढेको छ । दशैको टिका लगाएपछि परिवार, साथीहरूको समुह बनाएर देशका विभिन्न जिल्लाबाट दैनिक सयौंको संख्यामा मुस्ताङको भ्रमणमा निस्किएपछि म्याग्दी र मुस्ताङमा चहलपहल बढेको छ । बेनी–जोमसोम सडकखण्ड हुदै दैनिक ३ सयको हाराहारीमा मोटरसाईकल, निजी र भाडाका सवारीसाधनको प्रयोग गरी विहान देखी रातीसम्म आन्तरिक पर्यटक मुस्ताङ प्रवेश गरेको होटल तथा रेष्टुरेन्ट ब्यवसायी समिति म्याग्दीका अध्यक्ष बाबुराम आचार्यले बताए ।

‘तीनदिन यता निरन्तर चाप बढेको छ ।आर्थिक कारोबार समेत बढेको छ’ उनले भने । बेनी, गलेश्वर, तिप्ल्याङ,भुरुङ तातोपानी, दानाका साथै मुस्ताङमा बास बसेर २ देखी ५ दिनसम्म भ्रमण गरेर फर्कने गरेको ब्यवसायीको भनाई छ । सडक अवरुद्ध र मर्मतका कारण समस्या हुने देखेर धेरैले यात्रा स्थगित गरेकाले समेत सडक सुचारु भएपछि यात्रामा निस्कन थालेका छन् ।बेनी–जोमसोम सडकमा मोटरसाईकलको ताँतीले समेत पैदल र ठुला सवारीसाधन आवतजावतमा समेत समस्या भइरहेको छ ।

आफन्त, मान्यजनबाट टिका थापेपछि देशका विभिन्न क्षेत्रबाट सडकमार्ग हुदै जाने पर्यटकले म्याग्दीको गलेश्वर, भुरुङ तातोपानीमा स्नान, रुप्से झरना, अन्धगल्छीको अवलोकन गरी मुस्ताङको लेते गाविस देखि मुक्तिनाथ गाविसमा रहेका पर्यटकीय स्थलको अवलोकन गर्ने गर्दछन् । ‘मुस्ताङमा पुगेका चिनको कोरला नाकासम्म पुग्छन्। अनुकुल मौषम भएकाले पनि आन्तरिक पर्यटकको चाप बढेको छ’ अन्नपूर्ण गाउँपालिका–३ दानाका पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले भने ।

उनले विदेशी पर्यटकको तुलनामा खर्च गर्ने र यात्रामा रमाउने नेपालीहरुको संख्या बढ्न थालेपछि ब्यवसायी समेत उत्साहित भएका छन् । सडकसंगै हवाई मार्गबाट समेत घुम्न जानको संख्या उत्तिकै धेरै छ । पोखराबाट हवाई मार्ग हुदै मुस्ताङ पुगेका पर्यटकहरुले फर्कने क्रममा सडकमार्गको प्रयोग गरी तल्लो मुस्ताङ र म्याग्दीका विभिन्न पर्यटकीयस्थलहरुको अवलोकन गर्ने गरेका छन् । यसैविच ट्राफिक कार्यालय म्याग्दी र मुस्ताङले चेकजाँचलाई कडाई गरेको छ ।

म्याग्दीका होटलमा कोठा अभाव
दैनिकजसो मुस्ताङ भ्रमणमा आउनेको चाप बढ्न थालेपछि सदरमुकाम बेनीमा रहेका साना–ठुला होटलहरु भरीभराउ भएका छन् । निजी र तथा भाडाका सवारीसाधनमा देशका विभिन्न क्षेत्रबाट आएकाले एकरात बेनीमा बसेर मुस्ताङ तर्फ जाने गरेका छन् । बेनी, गलेश्वर, तातोपानी, दाना लगाएत सडक मार्गमा रहेका साना होटलमा समेत कोठाको अभाव भएपछि केहीले खुल्ला आकाशमा समेत दिन काट्ने गरेको समेत भेटिएको छ ।

बेनीमा रहेको होटल याक, एती, शिखर, डल्फिन, हिलभ्यू लगाएतका साना होटलमा दिउँसै कोठा बुक हुने गरेको छ । ‘क्षमताभन्दा तेब्वर पर्यटकको आगमन भएको छ । आन्तरिक पर्यटकको चापले ब्यवसायी समेत उत्साहित भएका छन् । बेनीमा रहेका सानाठुला दर्जन होटलमा बास बसेर मुस्ताङ जाने गरेका पर्यटकहरु फर्कने बेलामा समेत एकरात बेनीमा विताउने गरेका छन् । दसैं विदामा घुम्न आएका अधिकांस मुस्ताङ जाने गरेका छन् ।