म्याग्दी जेसिजले पर्यटकीयस्थल रुईसेमा राखेका बोर्ड तोडफोड

0
600

रघुगंगा गाउँपालिको पर्यटकीयस्थल रुइसे–भेडीओढारको प्रचारप्रसार गर्ने उदेश्यले राखिएको बोर्डको एक समुहले तोडफोड गरेको छ । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाईमा परेको रुइसेमा म्यादी जेसीजले एक भब्य कार्यक्रमका बीच राखेको चिन्ह सहितको बोर्ड तोडफोड गरिएको हो ।

मनोराम दृष्य, घना लालीगुराँसको जंगल, नजिकै देखिने धौलागिरी हिमाल सहितका हिमश्रंखलाले पर्यटकलाई लोभ्याउन एक स्थानीय तह एक कार्यक्रम अन्तरगत गाउँपालिका अध्यक्षत सहित जनप्रतिनिधिको उपस्थितीमा राखिएको बोर्ड तोडफोड गरिएको अवस्थामा फेला परेको म्याग्दी जेसीजका अध्यक्ष कमल विश्वकर्माले बताए । ‘तोडफोडका बारेमा थप बुझ्ने प्रयासमा छौै,‘हामीले प्रचारप्रसार गरी स्थानीय जनप्रतिनिधिको जिम्मा लगाएर फर्किएका थियौं’अध्यक्ष विश्वकर्माले भने ।

सामाजिक सञ्जालमा तोडफोड गरी फालिएको अवस्थाका तस्वीरहरू भेटिएकाले प्रमाण सहित रघुगंगा गाउँपालिकालाई जानकारी गराउने म्याग्दी जेसीजले जनाएको छ ।म्याग्दी जेसीजले स्थानीय तहमा रहेका सम्भावनालाई उजागर गर्ने अभियानलाई नै निरुत्साहित गर्ने प्रयासको रुपमा लिएको जनाएको छ । म्याग्दी भ्रमण बर्ष २०७५ मा नयाँ पर्यटकीयस्थलको प्रचारप्रसारमा भविस्यमा यस्तै अराजक गतिविधि दोहोरिन सक्ने भन्दै म्याग्दी जेसीजले तोडफोडमा संलग्नलाई कारवाहीको माग गरेको छ । म्याग्दी जेसीजले रुइसेमा देशभर रहेका जेसीजकर्मीको भ्रमणका लागि समेत प्रचारप्रसार गरेको बताउँदै पर्यटकको आगमनमा यस्ता गतिविधिले असर गर्ने जनाएको छ ।

समुद्री सतहदेखि दुईहजार पाँचसय ३० मिटर उचाइमा भगवती, पिप्ले, बेगखोला, दग्नाम र चिमखोलाको सीमा क्षेत्रलाई समेटेको रुइसे–भेडीओढारबाट पूर्वमा माछापुच्छ्रेदेखि अन्नपूर्ण, नीलगिरि, धौलागिरि तथा पश्चिममा गुर्जा हुँदै चुरेन हिमालको मनमोहक हिमाललाई नजिकबाट नियाल्न सकिन्छ । रघुगंगा गाउँपालिकाको वडा नं १, २, ३ र ४ को सीमा क्षेत्रलाई समेटिएको रुइसे–भेडीओढार क्षेत्रमा पर्यटन आगमन बढाउन गाउँपालिकाले भ्यूटावर निर्माणमा रु १५ लाख र वडा नं २ ले रु एक लाख बजेट विनियोजन गरेका छन् । समुन्द्री सतहदेखि दुई हजार २२० मिटर उचाइमा रहेको थामकोट डिलमा भ्यूटावर बनाउने तयारी भइरहेको छ । यता भगवतीबासीले तोडफोडमा संलग्नको पहिचान गरी कारवाहीको माग गरेका छन् ।