म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडाखानीमा स्थानीयको पहलमा दुई तले पक्की सामुदायिक भवन निर्माण भएको छ । शितल मालिका यूवा क्लव र ठाडाखानी आमा समुहको पहलमा वडा कार्यालयले उपलब्ध गराएको रकम भन्दा आठ गुणा बढी आर्थिक जुटाएर निर्मित भवनको बुधबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले भवनको उद्घाट गरे ।

गाउँमा बैठक, छलफल, भेला लगाएत सामाजिक कार्य सञ्चालन गर्न भवनको अभाव भएपछि स्थानीयले सुरु गरेको भवनमा साविकको पाखापानी गाविसबाट १ लाख, वडा कार्यालयबाट ८ लाख बाहेक सम्पुर्ण लागत स्वदेश तथा विदेशमा रहेका ठाडाखानीबासीको सहयोगमा भवन निर्माण गरिएको हो । भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष भण्डारीले ठाडाखानीबासीलाई शिक्षा, स्वास्थ्य, सामाजिक तथा पर्यटन प्रर्वधनमा गाउँपालिकाले सहयोग गर्ने बताए ।

‘प्रसिद्ध मालिका मन्दिरसम्म आवतजावत गर्न पदमार्गमा बजेट विनियोजन भएको छ,‘रघुगंगाको पर्यटन गुरुयोजनामा गाउँलाई समेटिएको छ’ भण्डारीले भने । उनले वडा कार्यालयले न्यून बजेट विनियोजन गरेपनि स्थानीयको प्रयासमा निर्मित सामुदायिक भवनको मर्मतसम्भारका लागि गाउँपालिकाले सहयोग गर्ने बताए । ‘माध्यामिक तहको शिक्षाका लागि दैनिक चारघण्टा हिड्नुपर्ने बाध्यतामा विद्यार्थी छन्,‘गाउँकै विद्यालयको भवनको समस्या समाधान भइसकेको छ’ भण्डारीले भने ।उनले पशुपालन र आलु खेतीमा प्रसस्तै सम्भावना भएकाले यूवाहरुलाई चरन क्षेत्रको सदुपयोग गदैं पशुपालनमा लगानी गर्न समेत अनुरोध गरे ।

उनले प्राविधिक तथा अनुदानमा गाउँपालिकाबाट आवश्यक सहयोग हुने बताए ।कार्यक्रमका विशिष्ट अतिथि नेपाल छन्त्याल महासंघका केन्द्रिय अध्यक्ष मोहन छन्त्यालले नेपालका विभिन्न जिल्लामा रहेका छन्त्याल जातीको आधिकारिक संख्या पहिचान तथा जन्म देखि मृत्युसम्मको संस्कारमा ठाउँ अनुसार फरक–फरक देखिएकाले एकरुपता ल्याउने अभियानमा जुटेको बताए ।

उनले यूवापुस्ताले आफ्नै जातिको भाषा बोल्न नसक्नु चिन्ताको विषय भएको बताउँदै भाषा प्रशिक्षणलाई समेत प्राथमिकता दिएको बताए । उद्घाटन समारोहमा वडा सदस्य टेकजित छन्त्याल,समाजसेवी प्रविण छन्त्याल, मन बहादुर बुढाथोकी, छन्त्याल संघ रुपन्देहीका अध्यक्ष भरत छन्त्याल, तरुण दल म्याग्दीका अध्यक्ष एवम् छन्त्याल संघ म्याग्दीका पूर्व अध्यक्ष मुकुन्द छन्त्यालले मन्तब्य राखेका थिए ।

कार्यक्रममा पुख्यौली, थाली नाचका साथै विभिन्न नृत्य प्रस्तुत गरिएको थियो । सभाहल सहितको भवन निर्माणमा आफ्ना स्वर्गीय रनप्रसाद पुराने छन्त्यालको सम्झनामा बुटबलमा बस्ने केरसिंह छन्त्यालले ५ लाख सहयोग गरेका छन् । नवनिर्मित भवनमा स्थानीयले २ हजार देखी ५ लाखसम्म सहयोग गरी कुल ६३ लाख ६४ हजार संकलन भएकोमा ७५ लाख ८३ हजार लागत लागेको क्लवले जनाएको छ । उद्घाटन कार्यक्रममै करिव २ लाख २० हजार संकलन भएको छ । कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष दलमान छन्त्याल, स्वागत प्रिया छन्त्याल र सञ्चालन मन बहादुर छन्त्यालले गरेका थिए ।