म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा विकट चेचुङ्ग गाउँमा सोलारबाट विद्युतीकरण गरिएपछि झलमल भएको छ । केन्द्रिय विद्युतको कल्पना समेत नगरेका चेचुङ्गबासीले टुकी र दियालोको भरमा गुजारा चलाइरहेको अवस्थामा पहिलोपटक सोलार जोडेर घर झलमल्ल भएपछि खुसीयाली मनाएका छन् । अमेरीकाको फाइर गिभ संस्थाको सहयोगमा छ किलोवाट क्षमताको सौर्य उर्जा जडान गरेर बीस घरमा विद्युत सुबिधा पु¥याइएको स्थानीय लोकबहादुर मगरले बताए ।

‘गाउँमा पहिलोपटक विकास पसेको महसुस गरेको छु,‘हिड्ने बाटो समेत राम्रो नभएको गाउँमा सोलारले झलमल भएको छ’ मगरले भने । उनले एउटै सोलार प्यानलबाट घरघरमा विजुली वितरण गरिनुका साथै कुटानी पिसानी मिल पनि सञ्चालन भएको बताए ।

बिजुलीको सुबिधा भएपछि उज्यालोका साथै टिभी हेर्न, मोवाइल चार्ज गर्न र बालबालीकालाई पठनपाठन गर्न सहज भएको चेचुङबासीको भनाई छ । प्रत्येक घरमा चार वटा बल्ब जडान गरिएको छ । कुटानी पिसानी मिल समेत सञ्चालन भएकाले गहुँ, मकै, कोदा पिस्नका लागि डेढ घण्टा हिडेर छिमेकी गाउँ खिवाङ पुग्नुपर्ने बाध्यताबाट गाउँलेले मुक्ति पाएका गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताईन् ।

‘गाउँलेको एउटा समस्या समाधान गर्न सफल भएका छौ,‘गाउँपालिकाले लघुजलविद्युत परियोजना बनाउन बिनीयोजन गरेको बजेट पर्याप्त नहुँदा जनताले कार्यान्वयन गर्न सकेका थिएनन्’ पुनले भने । संस्थाले सौर्य उर्जा परियोजना जडान गरेपछि विकट बस्तीका बासिन्दालाई धेरै राहत भएको छ । 

सौर्य उर्जा जडान गर्न संस्थाले बीस लाख रुपैया भन्दा बढी सहयोग गरेको समन्वयकर्ता चित्र तिलीजा पुनले बताउनुभयो । कुटानी, पिसानी मिल र सोलार प्यानल राख्ने घर निर्माणका लागि बिस घरधुरीले पन्ध्र दिनका दरले श्रमदान गरेर भवन बनाएका छन् ।

चेचुङ्गका बासिन्दा यसअघि उज्यालोका लागि टुकीमा निर्भर थिए । सहयोगी संस्थाका एडी र रेविटले बुधबार आयोजित उद्घाटन कार्यक्रममा सौर्य उर्जा परियोजना गाउँपालिकाका अध्यक्ष पुनलाई हस्तान्तरण गरिन् । मुदीको खिवाङ हुदै पुगिने गाउँमा आवतजावत गर्ने गोरेटो बाटो, शिक्षा, स्वास्थ्य सहितका आधारभुत आवश्यकतामा निकै समस्या रहेको छ । चुनावमा समेत दलका उम्मेदवारको नाकमुख देख्न नपाउने बस्तीका जनता कृषि र पशुपालनबाट जिविकोपार्जन गर्ने गरेका छन् ।