म्याग्दीको बेनी नगरपालिका ३ भकिम्ली र बागलुङको काठेखोला गाउँपालिका ३ धम्जाका बासिन्दाको संयुक्त भेलाले ७ बुँदे स्वर्गाश्रम घोषणा पत्र जारी गरेको छ ।घोषणा पत्रमा दुवै जिल्ला जोड्ने मोटरबाटो निर्माण गर्न दुवै तर्फको प्रतिनिधित्व हुने गरि सडक तथा पर्यटन विकासका लागि समन्वय र उपयुक्त बातावरण तयार गर्न समिति गठन गरिएको छ ।

धम्जाका प्रेम श्रीसको संयोजकत्वमा गठित समितिको सह—संयोजकमा दिलबहादुर थापा, सदस्यहरुमा जितबहादुर बिक, भबिलाल बिक, भिमबहादुर बिक, उमा श्रीस, धनबहादुर श्रीस, इन्द्रबहादुर थापा –क्षत्री) र राम किसान रहनुभएको छ ।समितिको सल्लाहकारमा बेनी नगरपालिका ३ का वडा अध्यक्ष पदम पुन, काठेखोला गाउँपालिका ३ का वडा अध्यक्ष यामबहादुर श्रीस, वडा सदस्य रत्नवहादुर जिसी, खुम भण्डारी, सुवेदार टेकबहादुर घर्तीलाई चयन गरिएको स्थानीय सामाजिक अगुवा गोपाल श्रीसले बताउनुभयो ।

घोषणापत्रमा दुवै जिल्लाको सिमानामा रहेको बेलढुंगा र बेनी नगरपालिका ३ मा रहेको स्वर्गाश्रम लगायतका धार्मिक तथा प्राकृतिक पर्यटनका लागि सामुहिक पहल गर्ने, दुवै जिल्लालाई जोड्ने सडक र पर्यटन विकासका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको बिशेष ध्यानाकर्षण गराई थप बजेट बिनियोजनका लागि आग्रह गर्ने, दुवै जिल्लाबाट बेलढुंगा, स्वर्गाश्रम लगायतका पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नका लागि मोटरबाटोको अतिरिक्त दुवै तर्फबाट पदमार्ग निर्माण गर्ने सहमति भएको छ ।

यसैगरी, पर्यटक आवागमनका लागि क्रमशः बातावरण बनाउदै दुवै वडामा होम स्टे घरवास सेवा सञ्चालनका लागि पहल गर्ने, दुई जिल्लाको सिमामा रहेको घना जगंलमा जडिबुटी र बन्यजन्तुको संरक्षणका लागि सामुहिक रुपमा अभियान सञ्चालन गर्ने, आगामी दिनमा दुवै वडाको पर्यटन विकासका लागि आपसी सहयोग, समन्वय र सहकार्यलाई निरन्तरता दिने आपसी समझदारी गरिएको बागलुङ म्याग्दी सडक तथा पर्यटन विकास समन्वय समितिका संयोजक प्रेम श्रीसले बताउनुभयो ।

समितिले बागलुङको काठेखोला ३ धम्जा र बेनी नगरपालिका ३ भकिम्ली जोड्ने चिप्लेटी—ठोट्नेरी—भुकभुके वा देउराली धुरी—भुकभुके सडक निर्माणका लागि प्राविधिकको लागत अनुमान अनुसार छोटो र कम लागतमा निर्माण हुने सडक निर्माणका लागि तत्काल पहल थाल्ने संयोजक श्रीसले जानकारी दिनुभयो । http://kaifiyat.com