सूचना केन्द्रको अवलोकन गर्ने पर्यटकलाई होटलको सेवासुविधामा १० प्रतिशत छुट

0
227

के तपाई म्याग्दी घुम्न आउँदै हुनुहुन्छ ? यदी आउँदै हुनहुन्छ भने एकपटक बेनीबजारको प्रवेशद्धार कालिपुल बसपार्कमा रहेको पर्यटक सूचना केन्द्रमा प्रवेश गर्नुहोला । म्याग्दी भ्रमण वर्ष २०७५ को अवसर पारेर जिल्लाका पर्यटकीय स्थलहरूमा घुम्न आउने पर्यटकलाई सूचना केन्द्रको अवलोकन गरी आफ्नो नाम दर्ता गरेमा बेनीबजारमा सञ्चालित होटलको सेवासुविधा लिएवापत लाग्ने सबै खर्चमा १० प्रतिशत छुटको दिने ब्यवस्था गरिएको छ ।

जिल्लाका नयाँ तथा पुराना पर्यटकीयस्थलको प्रचारप्रसार तथा पूर्वाधार विस्तारको अभियानलाई तिब्रता दिन म्याग्दी उद्योग वाणिज्य संघले जिल्लाका स्थानीय तह, पर्यटन परिषद् लगाएतका सरोकारवाला निकायसंगको सहकार्यमा सुरू गरेको म्याग्दी भ्रमण बर्षलाई लक्षित गरी सञ्चालनम ल्याइएको सुचना केन्द्रमा जिल्ला भित्रका सम्पूर्ण जानकारी भएकाले पनि भ्रमणको वातावरण बनाइएको सुचना केन्द्र संयोजक एवम् म्याग्दी उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष राजेश शाक्यले बताए ।

‘सुचना केन्द्रमा प्रवेश गर्ने पर्यटकलाई होटलको सेवामा १० प्रतिशत छुट दिइने छ,‘एउटा कोठाभित्र जिल्लाको सम्पूर्ण विवरण पाइन्छ’ शाक्यले भने । स्वदेश तथा विदेशमा रहेका म्याग्देली आवद्ध रहेको संघसंस्थाको सहयोगमा स्थापना गरिएको केन्द्रमा आवश्यकता अनुसारको उपकरण सहित प्रतिक्षालयको रुपमा समेत थप पूर्वाधार विस्तार गर्न लागिएको उनले बताए । सुचना केन्द्रमा बेनीबजार सहित जिल्लाका पर्यटकीयस्थलमा रहेको होटलको समेत सुचना राखिएको छ ।

बेनी नगरपालिकामा रहेकी जापान इन्टरनेशलन कर्पोरेशन एजेन्सी (जाइका) नामक संस्थाकी प्रतिनिधिले पर्यटकलाई आर्कषित गर्ने मेन्यू समेत बनाएर केन्द्रमा राखेकी छन् । म्याग्दी जिल्लामा आएर घुम्न छुटाउनै नहुने ठाउँहरुका साथै नयाँ पर्यटकीयस्थलहरुका बारेमा केन्द्रका कर्मचारीले जानकारी गराउनेछन् । बेनी नगरपालिका सहित जिल्लाका पाँचवटै गाउँपालिका भित्रका प्रमुख पर्यटकीयस्थलहरुमा पुग्न आवश्यक सहयोग समेत गरिने भएकाले पनि सुचना केन्द्रको अवलोकन गर्न अनुरोध गरिएको म्याग्दी उवासंघका कार्यसमिति सदस्य एवम् म्याग्दी होटल तथा रेष्टुरेन्ट संघका अध्यक्ष ताराप्रसाद आचार्य (बाबुराम) ले बताए ।

‘सूचना केन्द्रमा पर्यटकलाई पुग्न अनुरोध गर्ने गरेका छौ,‘सुचनाल पनि धेरै पर्यटक तान्न सकिन्छ’ आचार्यले भने । सुचना केन्द्रमा ६ दशक अगाडी म्याग्दी जिल्लामा विभिन्न बस्तीमा पुगेर खिचिएका दुलर्भ तस्वीर सहित धार्मिक, पर्यटन, सांस्कृतिकलाई समेटेर तयार गरिएको डकुमेन्टी समेत प्रर्दशन गरिएको छ । यसैबीच भ्रमण बर्षमा निमन्त्रणा दिन संघका अध्यक्ष उत्तम कुमार कर्मचार्यको नेतृत्वमा गाउँपालिकाका उपप्रमुख, महिला उद्यमी सहितको टोली शुक्रबार देशका विभिन्न स्थानमा पुगेर आन्तरिक पर्यटकहरुलाई आमन्त्रण गर्न प्रचार अभियान सुरु गरेको छ ।