रघुगंंगा गाउँपालिका अध्यक्ष भन्छन्,‘डमी उपभोक्ता समिति बनाउन दिन्नौ’

0

हरिकृष्ण गौतम÷ अनिल शर्मा
स्थानीय तहमा हुने विकास निर्माणका योजनालाई गुणस्तरीय र प्रभावकारी बनाउन उपभोक्ता समिति सचेत हुनुपर्ने म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँ मा आयोजित कार्यक्रममा बोल्ने बक्ताले जोड दिएका छन् । विकास निर्माणका गतिविधिमा समुदायको सक्रिय सहभागिताले समयमै योजना सम्पन्न हुनुका साथै अनियमितता रोक्न सकिने बताइएको थियो।

योजनामा समुदायको सहज पहुँच बढाउन तथा योजना सम्झौता, उपभोक्ता समिति गठन, योजना निर्माणलाई प्रभावकारी बनाउन गाउँपालिकाले सुरू गरेको योजना सञ्चालन तथा ब्यवस्थापन सम्बन्धि अनुशिक्षण कार्यक्रको उद्घाटन गदैं गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले उपभोक्ताको सक्रियत सहभागितामा सम्पन्न हुने योजना दिगो हुने भएकाले गाउँलेको सहभागितामा प्रशिक्षण कार्यक्रम सुरु गरिएको बताए । उनले गाउँपालिका भित्रका योजनालाई आफु अनुकुलको काम गर्ने गरी डमी उपभोक्ता समिति बनाएर काम गर्न नदिने बताए ।

‘उपभोक्ता समितिका काम गाउँलेले अनुगमन गर्दछन्,‘गुणस्तरीय र समयमै सम्पन्न गर्नेलाई पुरस्कृत गरिन्छ’ भण्डारीले भने । प्रशिक्षण कार्यक्रममा अध्यक्ष भण्डारीले गाउँलेको सहभागितामा प्राथमिकतामा परेका योजनाहरुमा गाउँलेकै अधिकार हुने भएकाले पनि नियमित अनुगमन तथा कमीकमजोरीलाई जानकारी गराउन समेत अनुरोध गरेका थिए । गाउँपालिकाभित्रका सबै वडा तथा बस्तीका योजनाको पहिचान, सञ्चालनका साथै समुदायको जिम्मेबारी विषयमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने बताए ।

प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले समयमै योजना सम्पनन गरी समुदायको उपस्थितीमा अनुगमन गरिने बताए । कार्यक्रममा स्थानीयले प्रशिक्षणले योजना देखी कार्यसम्पन्न सम्म आवश्यक पर्ने सम्पूर्ण प्रक्रियाका बारेमा जानकारी भएको बताए । प्रमुख प्रशासकीय अधिकृत थापा, योजना अधिकृत दयाराम शर्मा, लेखापाल त्रिविक्रम शर्मा, सब इन्जिनियर कमल चोखाल, योगेन्द्र बानियाँले प्रशिक्षण दिएका थिए ।

अनुशिक्षण कार्यक्रममा गाउँकार्यपालिका सदस्य रिती थजाली, धनमायाँ घतान लगाएतको सहभागिता रहेको थियो । वडा अध्यक्ष मन बहादुर शेरपुञ्जाको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत रमेश थापाको स्वागतमा सम्पन्न भएको कार्यक्रममा सहभागिले जिज्ञासा राखेका थिए । जिल्लामा जनप्रतिनिधिकै मिलोमतोमा डमी उपभोक्ता समिति बनाएर आफ्नो आफन्तलाई ठेक्का दिने प्रबृत्तीलाई निरुत्साहित गर्न रघुगंगा गाउँपालिकाले रचनात्मक कार्यको सुरुवात गरेको छ ।