मृगौला पीडितलाई जापानको नागोयाबाट आर्थिक सहयोग

दुवै मृगौला खरावी भएपछि उपचार गराइरहेका जिल्लाको मंगला गाउँपालिका–५ नेटाका मृगौला पीडित १९ वर्षीय सुरेश छन्त्याललाई जापानको नागोयामा रहेका म्याग्देलीले आर्थिक सहयोग गरेका छन् । छन्त्यालको उपचारमा मोना जापान क्षेत्रीय समिति नागोयाले सङ्कलन गरेको ६८ हजार सोमबार एक कार्यक्रम गरी बेनीमा हस्तान्तरण गरिएको छ । ओमकुमारी शान्ति कोषमा आयोजित कार्यक्रममा मोना जापान नागोयाका कार्यसमिति सदस्य पूर्ण बहादुर पुर्जाले पीडित छन्त्यालकी आमा सिता पाईजा, आर्थिक संकलन अभियानका संयोजक डक बहादुर रोका, कोषका अध्यक्ष राजेश शाक्यलाई सहयोग हस्तान्तरण गरेका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै उपचारमा आर्थिक समस्या भएको जानकारी पाएपछि सहयोग संकलन गरिएको बताए । ‘हाम्रो सहयोगले उपचारमा केही सहज हुने अपेक्षा गरेका छौ,‘भविस्यमा पनि सामाजिक कार्यमा सहकार्य गर्नेछौ’ पुर्जाले भने । दुवै मृगौलामा समस्या आएपछि काठमाण्डौको टिचिङ्ग अस्पतालमा उपचार गराइरहेका छन्त्याललाई स्वदेश तथा विदेशबाट धमाधम आर्थिक संकलन भइरहेको छ ।

कार्यक्रममा कोषका अध्यक्ष शाक्यले आर्थिक अभावमा उपचारबाट बन्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्ने अभियानमा विश्वभरबाट सहयोग मिलेको बताए । ‘सुरेशले नयाँ जीवन पाएपछि हामीले उनकै उपस्थितीमा कार्यक्रम गर्नेछौ,‘पैसाको अभावले मृत्यु रोज्नुपदैन्’ शाक्यले भने । छन्त्यालको उपचारमा करिव २५ देखी ३० लाख खर्च हुने अनुमान गरिएको छ । सहयोग हस्तान्तरण कार्यक्रमको अध्यक्षा कोषका शाक्य, स्वागत उपाध्यक्ष हरिकृष्ण गौतम र सञ्चालन सचिव लोकेश पुनले गरेका थिए। जापानको नागोयाबाट जिल्लामा शिक्षा, स्वास्थ्य लगाएत विभिन्न सामाजिक कार्यमा सहयोग भइरहेको छ ।