पश्चिम म्याग्दीको विकट बस्ती गुर्जा र लुलाङका जनतालाई गाउँमै एकिकृत घुम्ती शिवीर मार्फत घरदैलोमै सरकारी सेवा दिइने भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा जिल्लाकै अति विकट गुर्जामा हुने घुम्ती शिविरसंगै लुलाङमा समेत शिविर राखिने प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए ।

‘त्यहाँ पनि सरकारी सेवा लिन सदरमुकामा आउन नसक्नेहरुलाई सेवा दिन्छौ,‘सरकारी टोली बुधबार प्रस्थान गर्नेछ’ प्रजिअ अधिकारीले भने । उनका अनुसार गूर्जामा कात्तिक १६ र १७ गते शिविर सञ्चालन गरिने छ भने लुलाङमा फर्किने बेलामा लमसुङ माविबाट सेवा दिइने छ । जिल्लाकै अति विकट बस्तीमै पुगेर सरकारी सेवा दिन आवश्यकत तयारी समेत पुरा भएको प्रजिअ अधिकारीले बताए ।

उनले शिविरमा नागरिकता,निःशुल्क स्वास्थ्य परिक्षण एवम औषधी वितरण, महिला तथा बालबालिका कार्यालयले अपांगता र ज्येष्ठ नागरिक परिचय पत्र वितरण, कृषि, पशु सेवा, मालपोत, नापी, विद्युत, घरेलु तथा साना उद्योग विकास समिति,स्वास्थ्य विमा बोर्ड लगायत जिल्लामा रहेका सेवा प्रदायक कार्यालयले आ–आफ्नो सुविधा एवम परामर्श सेवालाई शिविरबाटै प्रदान गर्ने जनाइएको छ ।

गूर्जामा भोकचलन गदैं आएको नापी कार्यालयले नक्सांकन, अंकबन्डा सहित भोकचलनको क्रममा देखिएको समस्या समाधान हुने भएको छ । नयाँ जग्गाजमिनको नापी र मालपोतको काम पुरा गरी फाइल तयार गर्ने गरी मालपोत कार्यालयका प्रमुख मुकुन्द पौडेल सहित ४ जना कर्मचारी र नापी कार्यालयका प्रमुख सहित ३ जना कर्मचारी सोमबार गुर्जा तर्फ प्रस्थान गरेका छन् । स्थानीय तहको निर्वाचनपछि केही राहत महसुस गरेका गुर्जा र लुलाङका जनताले घरदैलोमै सेवा उपलब्ध हुने भएपछि दंग परेका छन् ।